सिंचाईले फेरिएको जीवनशैली

सिंचाईले फेरिएको जीवनशैली

सुशीला रेग्मी
रामपुर (पाल्पा), २३ साउन
सिंचाई अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिंचाई नहुदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरीबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् ।
बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिंचाई दिन नसक्दा वीउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उहाँलाई रमाईलो लागेको छ ।
पाल्पा रामपुर नगरपालिका ५ स्थित रानाटोल बस्ने हरिबहादुर उमेरले ९० वर्षमा टेक्नुभएको छ । रानाको दैनिकी लठ्ठीको साहारामा खेत वरिपरी घुम्दै हरियाली फलेका अनाज देख्दा खुशी मुद्रामा बितिरहेको छ । आफूले भेटेका जोकोहीलाई पनि खेतमा लगाइएको बालीनाली देखाउँदै हिजोका संघर्षका कथा सुनाउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “परिवार पाल्न भनेर निकै दुःख गरेर खेती लगायो बालीनालीलाई आवश्यकता अनुसार सिंचाई दिन पाइदैनथ्यो, आकाशको पानी नपरेका वर्ष उत्पादन नै स्याहार्नै परेन, अहिलेझै बजारमा किनेर खान पाउने अवस्था पनि थिएन, सामान किन्न सदरमुकाम तानसेन, बुटवल बजार नै जानुपथ्र्यो, हिजोका ती जग्गामा अहिले हराभरा बाह«ै महिना अन्नबाली फलेको देख्दा जमानाले ठूलै कोल्टे फे¥यो जस्तो लाग्छ” ।
बहखोला खजनीखोला बेझाड खेत सिंचाई आयोजनाको कुलो मर्मत गरी पक्की बनेपछि उहाँका बाँझिएका र खेती गरेर उत्पादन लिन नसकिएका जमिन हराभरा बनेका छन् । उमेरले बुढ्यौली टेकेपनि खेतबारीमां हरियाली कृषि बालीले ढाकेको देख्दा उहाँमा हिजोका संघर्षका दिन सम्झदा कथाजस्तो लाग्दछ । खेतमा बाली लगाएपछि पानी पटाउन बिहान उठेर कुलोमा पात पतिङ्गर, ढुंगामाटो सफा गर्दै मुहानमा पानी लगाएर घर फर्कदा कहिलेकाँही दिन बितेको पत्तो नै नभएको उहाँले अनुभव सुनाउनुभयो ।
विसं २००५ मा हरिबहादुरका हजुरबुबा कर्णबहादुरले किनेको जग्गा अहिले पनि भोगचलन गरिरहनुभएको छ । बाउबाजेको पालादेखि नै भोगचलन गर्दै आएको पुर्खौली जग्गा हिजो सिंचाई दिन नसक्दा बाँझिए । उत्पादनशिल पानी नलाग्ने भनिएको जग्गा अर्थात् बारीमा पनि सिंचाई सुबिधा पुगेपछि खेतको रुपमा परिणत भई धान फल्न थालेको उहाँ बताउनुहुन्छ ।
“बारी भनेर केही नलगाउने जग्गामा अहिले मज्जाले धान फल्ने भयो, सिंचाई सुबिधा भयो भने कृषि बाली लगाएर परिवार धान्न समस्या छैन, कुलो पक्की भएपछि पहिलोजसो महिनौँ सफा गर्न जानुपर्ने झण्झटबाट हामी उपभोत्त,ा मुक्त भइयो, किसानलाई सिंचाई सुबिधाले धेरै आनन्द बनाएको छ, उत्पादन पनि बढीरहेको छ” उहाँले भन्नुभयो ।
खेतमा सिंचाई गर्न कुलोको मुहानमा सालका हाँगा, स्याउलाले बाँध बाँधेर पानी ल्याइन्थ्यो । अस्थायी संरचना हुदा वर्षायाममा बाढीले बगाएर लैजाने समस्या किसानले झेल्नुप¥यो । यसरी ल्याइएको पानी कच्ची कुलोका कारण ठाउँ ठाउँमा चुहिने र सोसिएर हिउँदयाममा त खेतमा पु¥याउनै सकिदैनथ्यो ।
गहुँ, मकै बाली छर्ने समय रातदिन उपभोक्ता बीच पालो विभाजन गरेर पानी लगाउने चलन थियो । रातको समयमा वस्ती देखि टाढा रहेको मुहानमा पुगेर कुरेरै पानी लगाउन किसानले धेरै सास्ती भोग्नु परेको थियो । तर अहिले भने यो समस्या किसानलाई छैन । मुल कुलोबाट आएको पानी बेझाड खेतको मुहानमा शाखा कुलो निर्माण गरेर सबैका खेतमा पानी वितरण भइरहेको छ ।
आकाशे पानी नपरेका बेला मुहानका खेतमा लगाइएका धानबाली जसोतसो उत्पादन लिएपनि पुछार खेतमा लगाइएका धानबालीको वीउ स्याहार्नै नपाएको हिजोको अवस्था अझै पनि मनमा ताजै रहेको बताउनुहुन्छ ६७ वर्षीय सूर्यबहादुर राना ।
“आकाशे पानी गरेका समय वर्षायामको भलपानी छोपेर धान लगाइन्थ्यो, खडेरी परेका बेला खेतमा पानी नै पुग्दैनथ्यो, कहिलेकाँही दुःख संग गरेको खेती सिंचाई अभावमा सप्रन नपाएर वीउ नै स्याहार्नै पाइएन, सिंचाई आएपछि भने किसानले सबै बाली लगाएर राम्रो उत्पादन लिन थालेका छन्, कृषिमा जोँश जाँगर बढेर आउँछ” उहाँले भन्नुभयो ।
उहाँ खेतमा सिंचाई गर्न कुलोको मुहानमा धाउन छाडेको करिव सात वर्ष भयो । व्यवस्थित र पक्की कुलोको संरचना बनेपछि बेझाड खेतका सबैजसो जमिन हराभरा बनेका छन् । धान, गहुँ, मकै, तरकारी, सूर्यमुखी लगायतका विभिन्न बाली लगाएर राम्रो उत्पादन किसानले लिदै आएका छन् । वर्षायाममा धान बाली मात्रै लगाउने अन्य समय बाँझै राख्ने खेत अहिले देख्न पाइदैन । वर्षमा एक बाली त्यो पनि धान लगाएर राम्रोसंग स्याहार्न नपाउने समस्या भोगेका यहाँका किसानलाई कुलो पक्की बनेपछि ठूलो राहत पुगेको छ ।
करिव दुई सय वर्ष अघि हालको रामपुर नगरपालिका ५ स्थित बेझाड खेतका खाली जमिन सिंचाई गर्न कुलो बनाएर बहखोलाको पानी ल्याइएको बुढापाका बताउँछन् । मुल कुलो पक्की बनेपछि भने बाह«ै महिना सिंचाई सुबिधा पुगेको छ । करिव दुई दशक अघि पक्की कुलोको अवधारणा ल्याएर उपभोक्ताले कुलो व्यवस्थापन गर्दै जादा अहिले सिंचाईको राम्रो उपयोग गर्न पाएका छन् । समथर भुमी रहेको बेझाड खेत कृषि उत्पादनका हिसाबले उपयुक्त छ ।
यस कुलोबाट बेझाड खेतमा रहेको करिव ५६० रोपनी खेतमा सिंचाईको सुबिधा पुगेको छ । सिंचाई सुबिधाले आफ्नै खेतमा उब्जेको अनाजले किसानलाई बिहान साँझको जोहो कसरी गर्ने भन्ने चिन्ता छैन । बेझाड खेतको मुहानदेखि करिव दुई किलोमिटर पर बहखोलामा बाँध बाँधेर पानी ल्याइएको छ । वर्षेनी विभिन्न संघ संस्थाको सहयोगमा वजेट परेपछि संरचना बलियो बन्दै गएको छ । मुल कुलोको संरचना तयार पश्चात् अहिले उपभोक्ताले शाखा कुलो व्यवस्थापन कार्यलाई अगाडी बढाएका छन् ।
कुलो पक्की नहुदा रातदिन मुहानमा पुगेर पानी कुर्नुपर्ने अवस्था थियो । पानी लगाउने झण्झटले खेती गरिरहेको जमिन बाँझै पनि राखे । अहिले पक्की बनेपछि नियमित रुपमा कुलोमा पानी आउँदा धान, गहुँ, मकै, तरकारी लगायतका विभिन्न बालीनाली किसानले लगाउने गरेको उपभोक्ता समितिका अध्यक्ष बलबहादुर राना बताउनुहुन्छ ।
“संरचना पक्की बनाएपछि नियमित रुपमा कुलोमा पानी आउन थालेको छ, किसानलाई कसरी खेतमा पानी पुग्छ भन्ने पिरलो छैन, हिजो खेती गर्न छाडिएका जमिन अहिले प्रयोगमा आएका छन्, पानीको सुबिधा भएपछि विभिन्न बालीनालीले खेतहरु हराभरा बनेका छन्” उहाँले भन्नुभयो ।
कुलो व्यवस्थित बनेपछि गतवर्ष देखि बेझाड खेतमा सूर्यमुखी पकेट कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष रानाले बताउनुभयो । सिंचाई सुबिधा पाएपछि आधुनिक प्रविधिबाट किसानले खेती गर्न थालेका छन् । हिजो त्यही जग्गामा लगाएको अन्नबालीले खान पुग्दैनथ्यो भने अहिले घरायसी प्रयोजन मात्र नभई बिक्रि समेत गर्ने गरेको किसान बताउँछन् ।
कृषि ज्ञान केन्द्र पाल्पा र स्थानीय उपभोक्ताको सहयोगमा यसवर्ष ६४० मिटर विभिन्न शाखाका कुलोहरु पक्की बनाइएको छ । जसअन्तर्गत बेझाड खेत अन्तर्गत रहेका तीन सय मुरी माटो शाखाको २१६ मिटर, मदरे शाखाको १०२ मिटर, चालिस मुरी माटो शाखाको ८९ मिटर, दुई सय मुरी माटो शाखा १७३ मिटर, दुई समय मुरी माटोको तल्लो भाग ७० मिटर रहेको छ । गतवर्ष १४४ मिटर मुल कुलो स्तरोन्नती तथा मर्मत र १५ स्थानमा जाली राख्ने काम भएको छ ।
मुल कुलोको सबै भागमा पक्की संरचना बनेको छ भने शाखा कुलोहरु पक्की गर्ने कार्य भइरहेको छ । हालसम्म ३० प्रतिशत शाखा कुलो पक्की बनाइएको छ भने आगामी दिनमा बिस्तार गर्दै जाने र सबै शाखा कुलो पक्की बनाउने उपभोक्ता समितिको योजना छ ।
सेराटुनको मुहान, माझकुलो र खजनीखोला गरी तीन स्थानमा बाँध बाँधेर बहखोला र खजनीखोलाको पानी ल्याइएको छ । यस कुलोबाट ११४ घरधुरीका उपभोक्ता प्रत्यक्ष लाभान्वित बनेका छन् । कुलोबाट खेतबारीमा सिंचाई सुबिधा मात्र होइन गाईवस्तुलाई खुवाउन, लुगाधुन, नुहाउन, घर भवन निर्माण लगायतका काममा स्थानीयलाई सजिलो बनाएको छ ।
पहिरोको समस्या रहेको रामपुर नगरपालिका ५ स्थित राम्चे सामुदायिक वन क्षेत्रमा करिव १५० मिटर क्षेत्रफलको संरचना तयार पार्नु पर्नेछ । यसै मुल कुलोबाटै बाँध नजिकै रहेको करिव १०० रोपनी गुठखेत सिंचित हुने गरेको छ ।
अहिले सबै बालीनालीमा राम्रोसंग सिंचाई दिन पाउँदा खेती गर्न सजिलो परेको धग नारायण श्रेष्ठ बताउनुहुन्छ । कृष्णकान्त पौडेलले पानीको सुबिधा हुन थालेपछि चार रोपनी जग्गामा सबैजसो खेती लगाउने गरेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “पहिला त बाली लगायो स्याहार्न पाइन्छ कि पाइदैन भन्ने लाग्थ्यो, मुहानमा ठूलै पानी भएपनि कच्ची कुलोमा खेतमा पुग्नै मुस्किल पथ्र्यो, अहिले कुलो सबै पक्की बनेपछि सजिलैसंग खेतमा पानी पुगेको छ” ।
धान रोपाई सुरु समय अगावै एक देखि डेढ महिना उपभोक्ताले कुलो मर्मत तथा सरसफाईमा समय खर्चनुपथ्र्यो । अहिले भने यो समस्या सधाका लागि टरेको छ । कच्ची कुलो ठाउँ ठाउँमा पहिरो खसेर खेतमा लगाएको बाली किसानलाई पाकेर स्याहार्न पाइन्छ या पाइदैन दोधारमै खेती गर्नुपर्ने अवस्था रहेको उपभोक्ता विष्णुप्रसाद बस्याल स्मरण गर्नुहुन्छ ।
“खेती लगाइयो, सिंचाई गर्न पाइन्छ कि पाइदैन, पाकेर बाली भित्र्याउने हो कि सिंचाई अभावमा वीउ नै जोगाउन नपाउने हो भन्ने चिन्ता हुन्थ्यो, हिजोआज त मुहानकै पानी खेतको पुछारसम्म आइपुग्छ, धेरै सुबिधा उपभोग गर्न पाइएको छ” उहाँले भन्नुभयो ।
पानीको स्रोत भएर पनि त्यसको व्यवस्थापन नहुँदा खेतीबाली लगाउन समस्या थियो । पुछारतिरका खेतमा पानी पुग्नै धौँ धौ भएपछि खेती गरिरहेको जमिनमा कतिपयले भट्टमास, गहत, बोडी जस्ता बाली लगाउने गरेको स्थानीय बताउँछन् । सिंचाई व्यवस्थित नहुदा एक मुरीमा राम्रै उत्पादन भएका बखत दुई देखि तीन मुरीसम्म धान स्याहारेका किसान अहिले सोही जग्गामा सात÷आठ मुरी उत्पादन गर्न सफल भएका छन् । कुल खेतीयोग्य जमिनमध्ये करिव ७० रोपनी क्षेत्रफलमा घर भवन निर्माण, प्लटिङ गरिएको छ । बाँकी जमिन भने अन्नबालीले भरिएका छन् ।

प्रतिक्रिया दिनुहोस