चार जिल्लाका १५ पालिका जनप्रतिनिधिहरूको भेलाले ६ बुँदे साझा घोषणापत्र जारी

चार जिल्लाका १५ पालिका जनप्रतिनिधिहरूको भेलाले ६ बुँदे साझा घोषणापत्र जारी

चार जिल्लाका १५ पालिकाका जनप्रतिनिधिहरूको भेलाले ६ बुँदे साझा घोषणापत्र जारी गरेको छ । सार्वजनिक निजी साझेदारी मोडलबाट यस क्षेत्रको विकासमा स्थानीय तहको भूमिका पनि महत्त्वपूर्ण हुने भेलाको निष्कर्ष निकालेको छ ।

रूपन्देही, पाल्पा, स्याङ्जा र कास्कीबाट प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेलाले सिद्धार्थ राजमार्ग स्तरोन्नतिमा जोड दिएको छ । सिद्धार्थ आर्थिक करिडोर क्षेत्रको विकासका लागि पहिलो काम राजमार्ग स्तरोन्नति भएको भेलाले निष्कर्ष निकालेको हो । सिद्धार्थ आर्थिक करिडोरको मूल आधार सिद्धार्थ लोकमार्ग स्तरोन्नतिका लागि मापदण्ड अनुसार आवश्यक कार्यका लागि सम्बन्धित निकायहरूमा आवश्यक पहल र समन्वय गर्नुपर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयाे । करिडोरअन्तर्गत पर्ने विभिन्न पालिकाहरूमा उत्पादन हुने कृषि उपजको व्यवसायीकरण, बजारीकरणको व्यवस्थापनमा जोड दिन पनि राजमार्गको स्तरोन्नति हुनुपर्ने बताउनुभयाे ‘पोखराबाट भारतको सुनौली बजारसम्म चार घण्टामा पुग्ने गरी सडक स्तरोन्नति हुनुपर्छ,’ उहाँले भन्नुभयाे, ‘लुम्बिनी र पोखराका साथै पाल्पाको पर्यटन विकासलाई पनि जोड्न सकिन्छ ।’

तानसेनका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यस क्षेत्रको आर्थिक–सामाजिक समुन्नतिका लागि अन्तर–पालिका सहकार्य आवश्यक भएको बताउनुहुन्छ । सार्वजनिक निजी साझेदारीको मूल विषयवस्तुमा केन्द्रित भएर भेला सम्पन्न भएको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस