रामपुर अस्पतालमा नयाँ भवनबाट बहिरंग सेवा सुरु

रामपुर अस्पतालमा नयाँ भवनबाट बहिरंग सेवा सुरु

सुुशीला रेग्मी
रामपुर (पाल्पा), २२ साउन
भवन अभावकै कारण खुम्चिएर सेवा दिदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरंग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ ।
बन्दै गरेको नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार नयाँ भवनमा बहिररंग सेवा सुरु भएपछि हाल एक सय बढी सेवाग्राही थपिएका छन् । साँघुरो भवनको बाहिर घण्टौँसम्म लाइन लागेर बिरामी पालो कुरेर बस्नुपथ्र्यो । कतिपय बिरामी पालो पर्खन अप्ठ्यारो मानेर स्वास्थ्य जाँच नै नगरिकन पनि फर्कन्थे ।
“नयाँ भवनमा सेवा सुरु गरेपछि बिरामीको चाप ह्वात्तै बढेको छ, पुरानो सानो भवनमा रहदा चिकित्सकलाई सेवा दिन र सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो स्थिती रहेको थियो, अहिले अस्पताल भित्रै सेवाग्राहीलाई बस्ने व्यवस्था मिलाइएको छ” प्रमुख पोखरेलले भन्नुभयो ।
नयाँ भवनको पहिलो तलामा सञ्चालन भएको सेवा नागरिकले सहज रुपमा लिन पाएका छन् । बिरामीलाई आरामदायी बस्ने व्यवस्था, टिभि, खानेपानी लगायतको सुबिधा उपलब्ध छ । जसले गर्दा बिरामी धैर्य गरेर पालो पर्खेर स्वास्थ्योपचार सकेर फर्कने गर्दछन् ।
पुरानो भवनमा दैनिक २०० देखि २५० बिरामी आउने गरेकोमा हाल नयाँ भवनमा सरेपछि ३०० देखि ३५० सम्म बिरामी उपचाररत रहेको अस्पताले जनाएको छ । आकस्मिक सेवामा पनि बिरामी बढीरहेका छन् । दैनिक ३० देखि ४० आउने गरेको पाइएको छ । सेवाग्राहीलाई सहज रुपमा सेवा दिन अस्पतालका चिकित्सक, कर्मचारी र समितिको समन्वयमा भवनको पुरा काम नसकिदै सेवा सुचारु गरेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउनुुहन्छ ।
“भिडियो एक्सरे, फिजियोथेरापी, परामर्श सेवा, शल्यक्रिया मार्फत प्रसुती सेवा लगायतका यहाँबाट दिने सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरिएको छ, बिरामीले सेवा लिन समस्या भयो भन्ने गुनासो नआउने गरी काम गरिरहेका छौँ” अध्यक्ष ढकालले भन्नुभयो ।
यस अस्पतालमा हाल ६ जना मेडिकल अधिकृत, एक जना कल्सल्टेण्ट डाक्टरबाट सेवा प्रवाह भइरहेको छ । अस्पतालले २४ सैँ घण्टा आकस्मिक, फार्मेसी र उपचार सेवा दिइरहेको छ । नियमित रुपमा भिडियो एक्सरे सेवा भएकाले पनि बिरामी दैनिकजसो बढ्दैछन् । दैनिक २० देपख २५ जनाले भिडियो एक्सरे सेवा लिदै आएका छन् ।
अस्थायी रुपमा भएपछि नयाँ भवनबाट सेवा सुचारु भएपछि सेवाग्राहीले राम्रोसंग सेवा पाएको र सेवा लिन आउँदा पहिलाजसो अप्ठ्यारो परिस्थिती नरहेको बताउनुहुन्छ, अस्पताल विकास समितिका पूर्व उपाध्यक्ष तथा स्थानीयवासी फणेश्वर गौतम ।
“पहिला अस्पतालभित्र बिरामीलाई बस्ने ठाउँ थिएन, ठूलो चाप हुदा अस्पताल प्राङ्गणमा बाहिर टण्टलापुर घाममा उभिएर बस्नुपर्ने समस्या थियो, अहिले भने यी समस्या छैन, नयाँ भवनमा ओपिडी सेवा सुरु भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छैन” उहाँले भन्नुभयो ।
यहाँ शल्यक्रियामार्फत प्रसुती सेवा दिन थालेपछि सदरमुकाम तानसेन, बुटवल, पोखरा लगायतका स्थानमा प्रसुती हुन जाने क्रम घट्दै गएको छ । एक महिनामा चार जनासम्म शल्यक्रियामार्फत प्रसुती हुने गरेको नर्स सुनिता गौतम बताउनुहुन्छ ।
यसअघि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सञ्चालित हुदै आएकोमा औषधोपचार सेवाको दायरा बढाउन विसं २०७२ मा पचास शैयाको अस्पतालका रुपमा स्तरोन्नति भएको हो । भौतिक पूर्वाधार लगायतका सेवा अभावका कारण भने बिशेषज्ञ सेवा दिन भने समस्या परेको छ । यहाँ निर्माणाधिन भवन समयमा नै सम्पन्न नहुदा बिशेषज्ञ सेवा प्रभावित बनेको हो ।
भौतिक संरचना अभावमा साँघुरो संरचनामा बसेर सेवाग्राहीलाई सेवा दिन समस्या परेको पटक–पटक कर्मचारी तथा सेवाग्राहीले आवाज उठाउँदै आएका थिए । भवनको काम पुरा सम्पन्न नभएपनि पहिलो तलाबाट अस्थायी रुपमै भएपनि अस्पतालले सेवा दिन थालेपछि उपचारमा समस्या झेल्नु नपरेको सेवाग्राहीको भनाई छ ।
पन्ध्र शैयाको क्षमतामा सञ्चालित रामपुर अस्पतालमा घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर पचास शैयाको सुबिधा सम्पन्न भवन निर्माण कार्य थालनी गरिएको हो ।
स्वास्थ्य क्षेत्र नागरिकको पहिलो प्राथमिकता भएकाले कालीगण्डकी वेशीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर गरी चार जिल्लाका नागरिकलाई लक्षित गरी बिगत छ वर्ष अघि पचास शैयाको अस्पताल निर्माण कार्य अगाडी बढाइयो । निर्माण कार्यको समय लम्बिदै गएपनि अस्पताल भवनको संरचना निर्माण कार्य भने सुस्त गतिमा हुदा नागरिकले सास्ती खेप्नु प¥यो ।
विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि यहाँका नागरिक त्यस समय औधी खुशी थिए । स्वास्थ्य सेवाबाट टाढा रहेका पाल्पाको पूर्वी क्षेत्रका नागरिकलाई यहाँको स्वास्थ्य केन्द्रबाट सेवा उपभोग गर्न पाउँदा ठूलै स्वास्थ्योपचार सेवा पाएको आभाष हुन्थ्यो । ज्वरो, रुघाखोकी, टाउको दुख्ने जस्ता सामान्य उपचारका लागि सदरमुकाम तानसेन पैदल हिडेर जानुपर्ने समस्या त्यस समय देखी क्रमश ः कम हुदै गयो ।
गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रबाट औषधी उपचार सेवा सुरु भएपछि घरायसी उपचारमा आश्रित नागरिकहरु स्वास्थ्य केन्द्रमा धाउन थाले । सेवाको क्षेत्रलाई विस्तार गरी ०६७ मा पन्ध्र शैयामा स्तरोन्नति भई सेवा दिदै आएको यस अस्पताल ०७२ मा पचास शैयाका रुपमा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुदै आएको छ ।
नेपाल सरकारको रु २२ करोड २२ लाख पाँच हजार ३८३ को अनुमानित लागतमा टेन्डर आह्वान भएकोमा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिव रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष ०७२÷०७३ को पुसबाट निर्माण कार्य सुरु गरिएको हो । आगामी असोजभित्रमा निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि महम्मद अन्सारु बताउनुहुन्छ ।
विसं २०७५÷०७÷१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहेपनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप हुदै आएको छ । ट्रस्ट, बाहिरी भागमा टायल लगायतको काम बाँकी छ ।
अस्पतालमा नौ जना बिशेषज्ञ डाक्टरको दरबन्दी छ । प्रसुती, बच्चाबच्चीको उपचार सेवा, रेडियोलोजिष्ट (एक्सरे), जनरल फिजिसियन, एनसथेसियालोजिष्ट (अप्रेसन गर्दा बेहोस बनाउने), कन्सल्टटेन अर्थोसर्जन, कन्सल्टटेन सर्जन, कन्सल्टटेन साइक्याट्रिक्स (दिमाग सम्बन्धी) जस्ता बिशेषज्ञ सेवा तोकिएको छ । भवनकै कारण दरबन्दी अनुसारका डाक्टरको अभावमा बिशेषज्ञ सेवा दिन सकिएको छैन । अस्पतालमा एघारौँ तह (एक जना प्रमुख मेडिकल सुपरीटेण्डेन) डाक्टरको दरबन्दी छ ।
अस्पतालमा निर्माणाधिन भवन समयमा नै सम्पन्न नहुनु अर्कोतर्फ भुगोलका हिसावले ग्रामीण भेग । पाल्पाको सदरमुकाम तानसेनदेखि ग्रामीण भेगमा पर्ने रामपुर करिव ६५ किलोमिटर पूर्वमा अवस्थित हुदा बिशेषज्ञ डाक्टर यहाँ आएर नागरिकलाई सेवा दिन झट्ट तत्पर हुदैनन् । अस्पतालमा बिशेषज्ञ सहितको सेवा उपभोगमा भुगोल र भवन अभाव बाधक हो ।

प्रतिक्रिया दिनुहोस