रामतुलसी माविमा चमेना गृह उद्घाटन

रामतुलसी माविमा चमेना गृह उद्घाटन

सुशीला रेग्मी
रामपुर (पाल्पा), साउन १७
रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पामा निर्माण भएको चमेना गृहको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको लुम्बिनी प्रदेश सभा सदस्य तथा विद्यालयका पूर्व विद्यार्थी युवराज खनाल, रामपुर नगर प्रमुख रमणबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्नुहुदै प्रदेश सभा सदस्य खनालले विद्यालयमा रहेको चेमना गृहमा विद्यार्थीले सुलभ मुल्यमा सेवा पाउनुपर्ने बताउनुहुदै यस विद्यालयले शैक्षिक तथा भौतिक क्षेत्रमा राम्रो प्रगति गरेको बताउनुभएको छ । रामपुर नगर प्रमुख रमणबहादुर थापाले स्थानीय स्तरमा पाइने अर्गानिक वस्तुबाट विभिन्न परिकारको सेवनले बालबालिकालाई राम्रो गर्ने हुदा स्थानीय वस्तुको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रधानाध्यापक बालकृष्ण लम्सालले गर्नुभएको हो । नयाँ बनेको चमेना गृहमा करिव २०० जनाले एकै पटकमा बसेर खाजा खाने व्यवस्था रहेको छ । जनप्रतिनिधि, नगरमा क्रियाशिल राजनैतिक दल, शिक्षासेवी, सामाजिक व्यक्तित्व, पत्रकार लगायतको उपस्थितीमा चमेना गृहको उद्घाटन गरिएको हो । यसअघि बिगत १४ वर्ष देखि चमेना गृह संचालन गर्दै आउनुभएका राजकुमार श्रेष्ठलाई विद्यालयले सम्मान पत्रले सम्मान गरेको छ । नयाँ बनेको चमेना गृह रामपुर बेझाड बजार बस्ने विश्वनाथ कंडेलले संचालन गर्नुभएको छ ।
सोही अवसरमा विद्यालयका संस्थापक शिक्षक तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमलप्रसाद भण्डारीको निधनमा दुख व्यक्त गर्दै शोक सभा भएको छ । स्वर्गीय भण्डारीको गत असार २८ गते निधन भएको हो । भण्डारीको शैक्षिक तथा सामाजिक जीवनीबारे समाजसेवी देवराज ढकालले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस