पुस्तक बिनै परीक्षा दिदै पाल्पाका बिद्यार्थी

पुस्तक बिनै परीक्षा दिदै पाल्पाका बिद्यार्थी

बिष्णु खनाल
पाल्पा,साउन १६


नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना हुनै लाग्यो । प्रथम त्रैमासिक परीक्षा कतिपय बिद्यालयमा चल्दैछ । कतिपय बिद्यालयले प्रथम त्रैमासिक परीक्षा सम्पन्न गरिसकेका छन् । तर पाल्पाका बिद्यार्थीको हातमा पुरा सेट पुस्तक पुग्न सकेको छैन् । बिद्यार्थीहरु पाठ्यपुस्तक बिना परीक्षा दिन बाध्य भएका छन् ।
जिल्लामा अझै पनि कक्षा ६ र ८ को सरकारी पाठ्यपुस्तक अभाब रहेको छ । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ४ देखी १० सम्मका सम्पूर्ण पुस्तक छपाई गरेर बितरण गर्ने गर्दछ । त्यस्तै कक्षा ११ र १२ का नेपाली,अंग्रेजी र सामाजिक बिषय समेत जनक शिक्षाले छपाई तथा बितरण गर्ने गर्दछ ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाका अनुसार जिल्लामा कक्षा ६ को नेपाली,बिज्ञान पुस्तक अभाब रहेको छ । त्यस्तै कक्षा ८ को नेपाली,नैतिक,पेशा तथा स्वास्थ्य बिषय अभाब रहेको छ । तानसेनको देवबाणी संस्कृत तथा साधारण माबिको कक्षा ४ मा अध्ययन गर्ने पूर्णिमा क्षेत्रीले अझैसम्म पुस्तक नपाएको गुनासो गर्नुभयो । उहाँले पसल पसल चाहार्दा समेत पुस्तक नपाएको गुनासो गर्नुभयो ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाका अध्यक्ष किशोर भट्टराईले सरकारको उदासिनताका कारण पुस्तक समयमा उपलब्ध हुन नसकेको बताउनुभयो । उहाँले सरकारी मात्र नभई निजी प्रकाशनका पुस्तक समेत अभाब रहेको जानकारी दिनुभयो ।
तानसेनका पुस्तक ब्यबसायी रामप्रसाद पन्थीका अनुसार पटक पटक जनक शिक्षाको प्रादेशीक कार्यालय बुटवल जाँदा पनि पूरा पुस्तक पाउन नसकेको बताउनुभयो ।“तल्लो कक्षाका पुस्तक समेत अझै पुगेको छैन् । कक्षा ११ र १२ को पुस्तक पाउने त तत्काल के सम्भब होला र?” पन्थीले भन्नुभयो ।
जनक शिक्षा बुटवलले ब्यबसायीलाई पुस्तक आउछ आउछ भने पटक पटक झुलाउने गरेको ब्यबसायीको आरोप छ । पुस्तकमा सरकारको मापडण्ड अनुसार मुल्य राख्नुपर्ने प्रकाशनले मनलाग्दी मुल्य राखेर बितरण गर्न नपाउनु,पेपर अभाब र पेपरको चरम मुल्य बृद्धिका कारण निजी प्रकाशनले समेत पुस्तक छाप्न नसकेका हुन । उता सरकारले भने पुस्तक छपाई ठिला हुनुमा स्थानीय चुनाबको बाहाना पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस