तानसेनका ५३ सहकारीलाई सूचना प्रणाली तालिम !

तानसेनका ५३ सहकारीलाई सूचना प्रणाली तालिम !

तानसेन नगरपालिकाले नगर क्षेत्रभित्रका सहकारीका व्यवस्थापकहरुका लागि सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली तालिम प्रदान गरेको छ । नगरपालिकाले दुई चरणमा तीन दिने तालिम प्रदान गरेको हो ।
सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिमको पहिलो चरणको समापन गर्दै तानसेन नगरपालिकाकी कार्यवहाक प्रमुख प्रतिक्षा सिंजालीले सहकारीमा नयाँ प्रविधिले सहकारीताको मूल मर्म अनुसारको गरिबी न्यूनिकरण गर्ने कार्य गर्न प्रेरित गर्ने बताउनुभयो । कार्यवहाक प्रमुख सिंजाली भन्नुहुन्छ, सूचना प्रविधि नयाँ अभ्यासका क्रममा कठिनाईहरु हुन सक्छन् तर नयाँ अभ्यासले सहकारीलाई पारदर्शी, व्यवस्थित तथा सूचनामुखी बनाउनमा मद्दत गर्दछ ।
तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले अन्य स्थानीय तहमा सुरुवात नभएको अवस्थामा पनि तानसेनले पहिलो पटक स्थानीय व्यवस्थापकहरुका लागि कोपोमिस तालिम प्रदान गरि नयाँ कार्यको सुरुवात गरेको बताउनुभयो । सहकारीमा धेरै दोहोरो सदस्यता तथा वार्षिक विवरणहरुको समस्या पनि हुने गर्दछ, यो प्रविधिको प्रयोगले भएका अप्ठ्यारा तथा कठीनाईहरुलाई फुकाउनमा मद्दत पुग्न भन्ने विश्वास छ, कार्कीले भन्नुभयो ।
जिल्ला सहकारी सञ्जालका संयोजक महेश्वर पन्तले तानसेनमा सहकारीले सुपथ मूल्य पसल सञ्चालनदेखी, कर्जा प्रवाहसम्मका कार्य गरेको बताउनुभयो । उहाँले तानसेनमा सहकारीहरुको व्यवस्थापन तथा नयाँ प्रविधिको प्रयोगलाई व्यवस्थापन गर्ने कार्यमा आफूहरुले स्थानीय तहको सहयोग प्राप्त गर्दै आएको बताउनुभयो । सो अवसरमा तानसेन नगरकार्यपालिका सदस्य दिनेश गन्धर्व, सहकारी सञ्जालका सचिव महेश शर्मा लगायतले सहकारीको मूल मान्यतालाई भुल्नुभन्दा पनि सहकार्य, सहअस्तित्व र समानकार्यको अवधारणालाई अगाडी सार्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीका तर्फबाट मन्तव्य राख्नुहुँदै कृष्ण अर्यालले सहकारीका रिपोर्टिङ, प्रविष्टि तथा विद्युतिय सूचना जस्ता नौ विषयमा तालिम प्राप्त गरेको बताउनुभयो । यस्तै ईश्वरी कोइरालाले सहकारी खुल्ने क्रमको विकाससँग सँगै सहकारीहरु बीचमा समन्वय तथा नतिजामुखी कार्य गर्न विभिन्न तालिमहरुको निरन्तरता आवश्यक पर्ने बताउनुभयो ।
पहिलो चरणको तालिम कार्यक्रममा तानसेन नगरपालिका सहकारी शाखा प्रमुख दुर्गा बहादुर थापा र सूचना प्रविधि अधिकृत प्रकाश गैरेले प्रशिक्षण दिनुभएको थियो । पहिलो चरणको तालिम ९ गतेदेखी सुरु भएर ११ गते सकिएको छ । दोस्रो चरणको तालिम १२ गतेदेखी १५ गतेसम्म सञ्चालन हुने तानसेन नगरपालिकाले जनाएको छ । तानसेनले दुई चरणमा ५३ सहकारीका व्यवस्थापक तथा प्रतिनिधिहरुलाई तालिम दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस