बस दुर्घटनाका ६ मृतक र १६ घाईतेको पहिचान खुल्यो (अपडेट)

बस दुर्घटनाका ६ मृतक र १६ घाईतेको पहिचान खुल्यो (अपडेट)

पाल्पा, साउन ९
रिब्दीकोट–२, लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । लु १ ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका थिए ।
बस दुर्घटनामा परि मृत्यु हुनेहरुमा गुल्मी जिल्लाका चन्द्रकोट गाउँपालिका ८ का १५ वर्षीय प्रवेश काफ्ले र मुसीकोट नगरपालिका ७ का ४० वर्षीय लाल बहादुर राना कुमाल रहेका छन् । यस्तै देवदह नगरपालिका ७, रुपन्देही की ८७ वर्षकी डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका २ बस्ने वर्ष ४५ को यज्ञ बहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका ५ की २४ वर्षीय पूर्णीमा कामी र बाग्लुङ बडिगार्ड गाउँपालिका १० की ५५ वर्षीय यमकलि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आइतबार दिउँसो ४ः३५ बजे तानसेन–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना भएको थियो । बुर्तिवाङदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको बस लघुवा स्थित भीरबाट झण्डै १ सय मिटर तल खसेको छ । बस दुर्घटनामा ६ जनाकै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । दुर्घटनाको वास्तविक कारण खुल्न नसकेको उनले बताए । बस दुर्घटना क्षेत्र ओरालो र साँघुरो भएका कारण वर्षेनी जस्तो दुर्घटना हुने गरेको थापाले बताए ।
बसका चालक किसन श्रीसका अनुसार माथि हार्थोक तर्फबाट ओरालोमा झर्दै गरेको मोटरसाईकल गलत दिशामा आएको र त्यसलाई साईड दिने क्रममा चिप्लिएर दुर्घटना भएको बताए । बस चालकको खुट्टामा चोट लागेको र सामान्य घाईत अवस्थामा रहेको बताईएको छ । आईतबार बिहानदेखी दिउँसो २ बजेसम्म बस दुर्घटना क्षेत्रमा पानी परेको कारण सडक चिप्लो समेत रहेको स्थानीयले बताए ।
दुर्घटनामा परेकाहरुको प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको थियो । बुटवलबाट शव लिएर रिडीका लागि हिँडेको लु १ ख ७२७९ नम्बरको बस २०७८ सालको पुस १८ मा पनि दुर्घटना भएको थियो । रिब्दीकोट २ को लघुवामै मलामी बोकेको उक्त बस दुर्घटनामा परि ७ को मृत्यु भएको थियो भने १६ घाईते भएका थिए । लघुवामै पाँच वर्ष पहिले पनि ३२ जनाको मृत्यु भएको थियो । ओरालो, घुम्ती र साँघुरो बाटोका कारण वर्षेनी यस क्षेत्रमा दुर्घटनाका कारण अकालमै ज्यान गुमाउनेहरुको संख्या थपिँदो छ ।

प्रतिक्रिया दिनुहोस