पाल्पाका सबै स्थानीय तहहरूमा विपी स्मृति दिवस मनाइयाे

पाल्पाका सबै स्थानीय तहहरूमा विपी स्मृति दिवस मनाइयाे

पाल्पाका दश वटै स्थानीय तहहरूमा विपी स्मृति दिवस मनाइएकाे छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा विपी स्मृति दिवस मनाइँएकाे हाे ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ । नेपाली काङ्ग्रेसका सभापति हिमालदत्त श्रेष्ठले जिल्लाका १० वटै स्थानीय तहहरूमा विपि स्मृति दिवस मनाइएकाे बताउनुभयाे । कोइरालाको ४० औ स्मृति दिवसको अवसरमा पार्टी शीर्ष नेताहरूको उपस्थितिमा अन्तरक्रिया, सम्मान, दीपप्रज्वलन र वृक्षारोपण कार्यक्रम गरिएकाे सभापति श्रेष्ठले बताउनुभयाे ।

तानसेन नगरपालिकाकाे वडा न १० तेल्घा र श्रीनगरमा वृक्षारोपण गरि विपी स्मृति दिवस मनाइएकाे छ । तिनाउको सत्यवति, रैनादेवीछहरा गाउँपालिकाको तिलकस्थान, रामपुर नगरपालिकाको वडा न ७, माथागढी गाउँपालिकाको झडेवा, रम्भा गाउँपालिकाको खोक्खोला, पूर्वखोला गाउँपालिकाको जल्पा, बगनासकाली गाउँपालिकाको बराङ्गदी र खानीगाउँ, रिब्दीकोट गाउँपालिकाको खस्यौली र निस्दी गाउँपालिकाको मित्यालमा विपी स्मृति दिवस मनाइएकाे नेपाली कांग्रेस पाल्पाले जनाएकाे छ ।

तानसेनकाे श्रीनगरमा पूर्व सांसद हरि नेपाल, कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, तानसेन नगरपालिका प्रमुख सन्ताेषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा सिंजाली, नेपाली कांग्रेसका नेता माधव नेपाल, जिल्ला कार्य समिति, नगर कार्यसमितिका पदाधिकारी लगायतले वृक्षाराेपण गर्नुभएकाे थियाे ।राष्ट्रिय,लोकतन्त्र र समाजवाद सिद्धान्तका प्रतिपादक नेपाली काङ्ग्रेसका संस्थापक विपि कोइरालाको स्मृतिको अवसरमा वृक्षारोपण गरिएकाे तानसेन नगर कमिटिका सभापति सुवर्ण मुनि शाक्यले जानकारी दिनुभयो ।

विपीले वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए । २०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु,आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ-मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन् ।
विपी कोइरालाको तस्विर अङ्कित पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो । विपी कोइरालाको जन्म शताव्दीको अवसरमा नेपाली काँग्रेसले साउन ६ गते (स्मृति दिवस) देखि भदौ २४ -जन्म दिवस) गतेसम्म विपी कोइराला जन्मशताब्दी कार्यक्रमलाई विशेष अभियानका रूपमा देशभरि विविध कार्यक्रमसहित मनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस