रामपुरको चिन्ते झरनामा पर्यटककाे घुइँचाे, आकर्षणको केन्द्र बन्दै (फाेटाे फिचर)

रामपुरको चिन्ते झरनामा पर्यटककाे घुइँचाे, आकर्षणको केन्द्र बन्दै (फाेटाे फिचर)

पाल्पा, असार ३१

चिन्ते सामुदायिक वन रामपुरमा रहेकाे छाङ्दी झरनामा आन्तरिक पर्यटकको घुइँचाे लाग्न थालेकाे छ । डिभिजन वन कार्यालय पाल्पाले झरनालाई व्यवस्थापन गरेसँगै पर्यटकहरूकाे अाकर्षण बढेकाे हाे ।

रामपुर नगरपालिका–१ काे चिन्ते सामुदायिक वन क्षेत्रमा रहेको छाङ्दी (चिन्ते) झरना गर्मी छल्ने पर्यटकको रोजाइमा परेको छ । कालीगण्डकी करिडोर सडक नजिक रहेकाे झरनामा दैनिक एक सयदेखी तीन सयसम्मकाे संख्यामा आन्तरिक पर्यटक आउने गरेको वन उपभाेक्ता समूहकी सचिव माया श्रेष्ठले बताउनुभयाे ।

झरनासँगै रहेको प्राकृतिक गुफाले पर्यटककाे मन लाेभ्याउने गरेकाे छ । यहाँ डिभिजन वन कार्यालयले ७ लाखको लगानीमा पोखरी, बाटो, रेलिङ्ग लगायतको भौतिक पूर्वाधारको निर्माण गरिएको छ । झरनाको सौन्दर्यकरणको लागि डिभिजन वन कार्यालयले बजेट बिनियोजन गरी आकर्षक रेलिङ्ग सहित स्विमिङ्ग पोखरी, बेबि पोन्ड, सेल्फी स्टेसन लगायतका संरचना निर्माण गरिएको र त्यसको दीगो व्यवस्थापनको लागि आवश्यक योजना बनाइएको डिभिजन वन अधिकृत दिपक ज्ञवालीले बताउनुभयो ।

झरनासँगै चमेरा गुफा पनि छ । यस गुफामा विभिन्न देवी देवताको आकृतिको स्वरुप, शंख, घण्ट लगायतको धार्मिक महत्वका आकृतिहरु रहेकोले पनि धार्मिक सँगै पर्यापर्यटन विकासमा यसले सहयोग पुर्याउने बन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताउनुभयो । झरनाभित्र गुफा त्यसभित्र पसेर अवलोकन गर्दा विभिन्न भगवानका आकृति छन्, गुफा र झरना एकै ठाउँमा रहँदा पनि पर्यटन विकास गरेर प्रशस्त आयस्रोत भित्र्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।

झरनाको माथिल्लो भागमा ढभाह खोला, छाङ्दी पधेँरा, छापको पधेँरा, ढभाह चिसोपानीको मूल र दुई वटा झरना, सनसरीमाइको पूजा गर्ने मन्दिर छ । करिब १५० मिटरको लम्बाइमा झरना आकारमा पानी बहेको छ ।

प्रतिक्रिया दिनुहोस