तानसेनको खानेपानी आपूर्ती गर्न भुल्के पम्पमा वैकल्पिक उर्जा जडान

तानसेनको खानेपानी आपूर्ती गर्न भुल्के पम्पमा वैकल्पिक उर्जा जडान

पाल्पा, असार २८
पाल्पा जिल्ला सदरमुकाम तानसेनको खानेपानी पम्ममा वैकल्पिक उर्जा जडान गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय लुम्बिनी प्रदेश सरकारबाट विनियोजित २० लाख रुपैयाँको लागतमा खानेपानी पम्पिङका लागि ‘क्याप्टिक प्लान्ट’ सोलार जडान गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले तानसेनमा विद्युत आपूर्ती गडबड हुँदा समेत पम्म सञ्चालनमा समस्या नहोस् भनेर सोलारबाट पनि पम्पलाई चलाउन प्लान्ट जडान गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘तानसेनको प्रमुख समस्याको रुपमा रहेको खानेपानी आपूर्तीमा निरन्तरताका लागि सोलार सिस्टम सहयोग हुन्छ । यसले विद्युतमा लाग्दै आएको महशुल घटेर लागत कम गर्न सहयोग पु¥याउँदछ । चौथो स्टेशनमा जडान गरिएको पम्पको अवस्थालाई हेरी अन्य स्टेशनमा पनि यसलाई विस्तार गने योजनामा छौं । यसको अवस्था अध्ययन गरि खानेपानी आपूर्तीलाई निरन्तरता दिन हामी लागि परेका छौं ।’ मन्त्री रानाले जेठ २ मा सम्झौता गरि कार्य सम्पन्न गरिएको र यसलाई केही दिनपछि नै निरन्तर आपूर्तीमा संलग्न गरि विद्युत नभएको दिउँसोको समयमा मोटर चलाउन मिल्ने गरि जोडिएको बताउनुभयो ।
लुम्बिनी प्रदेश उर्जा महाशाखाका प्रमुख महेश पोखरेलले सोलार सिष्टमलाई तत्काल प्रयोगमा ल्याउन कर्मचारीहरुलाई प्रशिक्षणको व्यवस्था गरिएको बताउनुभयो । ‘एक सय किलोवाट पावर जेनरेट गर्ने गरि सिष्टम बनाइएको छ यसलाई ७५ प्रतिशत क्षमतामा सञ्चालन गर्दा चार वटै पम्प चल्न मिल्ने भएका छन् । दिउँसोको समयमामात्र यसले काम गर्छ, महाशाखा प्रमुख पोखरेलले भन्नुभयो, पाईलट प्रोजेक्टका रुपमा गरिएको कार्यबाट सन्तुष्ट हुन सके पाल्पाको खानेपानी आपूर्तीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर राना, उर्जा मन्त्रालयका सचिव दिपक घिमिरे, लुम्बिनी प्रदेश सभा सदस्य तथा तानसेन खानेपानी उपभोक्ता समितिका कार्यवहाक अध्यक्ष डा. पुरनमान बज्राचार्य, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमाले पाल्पाका अध्यक्ष घनेन्द्रराज घिमिरे सहितको टोलीले पाल्पाका वैकल्पिक उर्जाका क्षेत्रमा भएका कार्यहरुको स्थलगत अवलोकन निरीक्षण समेत गरेको छ । तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पसमा उर्जा मन्त्रालयले ५ किलोवाट क्षमताको ब्याकअप सहितको सोलार र तानसेन नगरपालिकामा १५ किलोवाट क्षमताको नेट मिटरिङ सिष्टम सहितको सोलार सिष्टम जडान गरेको छ ।

त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले सोलार जडान भएसँगै बिहान कक्षाहरुले अवरोध विना निरन्तरता पाएको बताउनुभयो । उहाँले त्रिभुवन क्याम्पसको लहरेपिपलमा समेत सोलार सिष्टम जडान गर्न सके विद्यार्थीहरुलाई सहजता हुने बताउनुभयो । नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले तानसेन खानेपानीका लागि सोलारबाट पम्प चलेर पानी निरन्तर आपूर्ती हुँदा जनता लाभान्वित हुने बताउनुभयो । यस्तै नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरेले चौथो स्टेशनमा मात्र नभई अन्य सबै पम्पिङ स्टेशनमा सोलारबाट पम्प चलाउन सके खानेपानी समस्या समाधान गर्न सकिने बताउनुभयो ।

तानसेन खानेपानी उपभोक्ता समितिका कार्यवहाक अध्यक्ष डा. पुरनमान बज्राचार्यले खानेपानीमा लाग्दै आएको विद्युत लागत कम गर्न सहयोगी हुने भन्दै योजना पूर्ण रुपमा सफल भए उर्जा मन्त्रालयसँग समन्वयमा अन्य पम्प स्टेशनमा समेत सोलार जडान गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस