लुम्बिनी प्रदेशका सबै जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी

लुम्बिनी प्रदेशका सबै जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी

पाल्पा,असार २४


लुम्बिनी प्रदेशका सबै जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीमध्ये पनि बलात्कार मुद्दाका कैदीको संख्या सर्वाधिक रहेको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमताको गुल्मी जिल्ला कारागारमा ७३ कैदीबन्दी छन् । कारागार शाखा प्रमुख अर्जुनबहादुर थापाका अनुसार बलात्कार मुद्दाका कैदी र थुनुवाको संख्या मात्रै ३७ छ । कारागारको क्षमताभन्दा बढी बलात्कार मुद्दाकै कैदीबन्दीको संख्या रहेको उनले जनाए ।रुपन्देही जिल्ला कारागार शाखा प्रमुख जगतबहादुर बस्नेतका अनुसार त्यहाँ कुल कैदीबन्दीको संख्या ४५६ छ । त्यसमध्ये थुनुवा ३०३ जना र १५३ जना कैदी छन् । तीमध्ये १११ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् । सो कारागारमा १५० जना कैदीबन्दी राख्ने क्षमता छ ।नवलपरासी (पश्चिम) का कारागार प्रमुख पुनाराम पौड्यालका अनुसार नवलपरासी पूर्व र नवलपरासी पश्चिमका कैदीबन्दीलाई एकै ठाउँ राख्ने गरिएको छ ।

जिल्ला कारागारमा ५०६ जना कैदीबन्दी छन्, जसमध्ये ११९ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् ।कारागारको कुल क्षमता ३५० जना रहे पनि ५ सयजना भन्दा बढी कैदीबन्दी राखिएको पौड्यालले जनाए । पाल्पा जिल्ला कारागारका प्रमुख ठाकुर प्रसाद अर्यालका अनुसार कुल कैदीबन्दी संख्या २७६ मध्ये ११४ जना  जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् ।अर्घाखाँची कारागार शाखा प्रमुख रचना बुढाका अनुसार त्यहाँ   कुल कैदीबन्दी ५७ जनामध्ये १८ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् । सो कारागारको क्षमता २५ जनामात्र हो । यस्तै, कपिलवस्तु कारागार शाखा प्रमुख मनोज कुमार सैनीका अनुसार त्यहाँ कुल ४२१ जना कैदी छन् । जसमध्ये १२२ जना जबरजस्ती करणी मुद्दाका कैदीबन्दी छन् । सो कारागारको क्षमता ३५० जना हो । 

तुल्सीपुर शाखा प्रमुख अमर वलीका अनुसार त्यस कारागारमा कुल ५०५ जना कैदी छन् । जसमध्ये २०१ जना जबरजस्ती करणी मुद्दाका छन् । रुकुम (पश्चिम) कारागार शाखा प्रमुख अकवीर घर्तीका अनुसार रुकुम पूर्व र रुकुम पश्चिमको एउटै कारागार छ । जहाँ कुल कैदीबन्दी १०७ जना छन् । तीमध्ये २८ जना बलात्कार मुद्दाका कैदीबन्दी छन् ।

रोल्पा कारागार शाखा प्रमुख विशाल खनालका अनुसार त्यहाँ कुल कैदीबन्दी संख्या ११२ जनामध्ये जबरजस्ती करणीसम्बन्धी मुद्दाका ३९ जना छन् । बर्दिया कारागार शाखा प्रमुख विजय कुमार मल्लका अनुसार कुल कैदीबन्दी ४३२ मध्ये १४१ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् ।

बाँके जिल्ला कारागार प्रमुख रामकुमार शंकरका अनुसार  ३५० क्षमताको कारागारमा ४५६ जना कैदीबन्दी छन् । तीमध्ये जबरजस्ती करणी मुद्दाका ११४ जना छन् । अधिवक्ता प्रेमनारायण आचार्यका अनुसार पछिल्लो समय जबरजस्ती करणीसम्बन्धी मुद्दाको संख्या बढ्दो छ । मुलुकी अपराध संहिता २०७४ लागु भएपछि जबरजस्ती करणी सम्बन्धी मुद्दाको चाप बढेको उनको भनाइ छ ।

स्रोत रातोपाटी डटकम

प्रतिक्रिया दिनुहोस