पाल्पा जिल्ला फुटबल संघले नयाँ वर्षका लागि योजना तर्जुमा गर्याे

पाल्पा जिल्ला फुटबल संघले नयाँ वर्षका लागि योजना तर्जुमा गर्याे

पाल्पा जिल्ला फुटबल संघले नयाँ आर्थिक वर्षका लागि योजना तर्जुमा गरेकाे छ । जिल्ला फुटबल संघको नयाँ कार्यसमितिले वार्षिक योजना तर्जुमाका लागि गोष्ठि सम्पन्न गरेकाे हाे।

पाल्पा जिल्लालाई तीन क्षेत्रलाई विभाजन गरेर सहभागीले आ आफ्नो क्षेत्रबाट योजना प्रस्तुत गरेका थिए । तीन क्षेत्रबाट प्राप्त योजना र सुझावलाई नयाँ आर्थिक वर्षमा समग्र जिल्लाको फुटबल कार्यक्रमको रुपमा अघि बढाउने निर्णय जिल्ला फुटबल संघले गरेको छ । 

पाल्पाको तासेनमा मात्र केन्द्रित फुटबल गतिविधिलाई तीन क्षेत्र विभाजन गरेर माडी र रामपुरलाई समेत योजना, कार्यक्रममा समावेश गरेको छ । बैठकले तीन वटै क्षेत्रमा ग्रासरुट प्रशिक्षणलाई प्राथमिकतामा राखेर नियमित प्रशिक्षणलाई निरन्तरता दिने निर्णय गरेको छ । यस्तै, पाल्पा जिल्ला फुटबल संघको भवन तथा एन्फा पार्क निर्माणका लागि प्रक्रिया अघि बढाउने र तीन वटै क्षेत्रका खेल मैदानका लागि स्तरोन्नतीको निर्णय भएको छ । 

बैठकले जिल्ला संघमा आबद्ध भएका क्लब र तीनका पदाधिकारीको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नेदेखि प्रदेश खेलकुद विकास परिषदसँग सहकार्य गरेर प्रदेश तथा छिमेकी जिल्लाका क्लबको सहभागीतामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । संघले स्थानीय सरकारसँग सहकार्य गरेर ब्यापक रुपमा जिल्लाभरी फुटबल विकासका कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनीक गरेको छ । 

जिल्ला फुटबल संघको नयाँ नेतृत्वको रुपमा आएका अध्यक्ष प्रणय बिरगंज राणाले जिल्ला सदरमुकाममा मात्र केन्द्रित फुटबललाई जिल्लाभर लैजाने लक्ष्य सहित कार्यक्रम तयार पारिएको बताउँछन् । 

‘तानसेनमा मात्र फुटबल गतिविधि केन्द्रित भैरहेको अवस्थामा जिल्लालाई तीन क्षेत्रमा विभाजन गरेर माडी र रामपुरमा समेत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौं । यसले जिल्लाभर फुटबलका गतिविधि बढ्नुका साथै खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’ उनले भने ।  

अध्यक्ष राणाले ग्रासरुट, नियमित प्रशिक्षण, पूर्वाधार र प्रतियोगितामा जिल्ला फुटबल संघ केन्द्रित भएर काम गर्ने बताउँछन् । 

जिल्लामा यति धेरै कार्यक्रम गर्ने स्रोतको ब्यवस्थापन कसरी गर्नुहुन्छ त ? भन्ने प्रश्नमा राणा भन्छन्, ‘हामीलाई एन्फा, संघीय सरकार, प्रदेश र स्थानीय सरकारसँग धेरै अपेक्षा छन् । एन्फाले राम्रो कार्यक्रम र स्रोत उपलब्ध गराएको खण्डमा जिल्ला फुटबलको स्तरलाई माथि उकास्न हामी कोशिश गर्नेछौंं । नीजि क्षेत्रलाई आकर्षित गरेर जिल्लामा धेरै भन्दा धेरै कार्यक्रम सञ्चालन गर्ने योजना छ ।’

फुटबलमा जिल्ला संघको काम केन्द्रबाट प्राप्त बजेट र कार्यक्रम सम्पन्न गर्ने तर स्रोत व्यवस्थापन गरेर जिल्लामा कार्यक्रम गर्ने प्रचलन एकदमै कम छ । केही जिल्लाले मात्र प्रदेश र स्थानीय सरकारसँग मिलेर जिल्लामा फुटबल गतिविधिलाई चलायमान र नतिजामुखी बनाएका छन् । 

प्रतिक्रिया दिनुहोस