असार १५, पाल्पामा ३५ प्रतिशत धान रोपाई

असार १५, पाल्पामा ३५ प्रतिशत धान रोपाई

सुशीला रेग्मी
रामपुर (पाल्पा), १५ असार
आज असार १५ गते, ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । पाल्पामा असारको मध्यसम्म करिव ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार रामपुर बाहेक जिल्लाका सबैजसो पालिकामा रोपाईको चहलपहल सुरु भएको छ । बाँझो रहेका, पानीको प्रयाप्त सुबिधा भएका जमिन तथा खोलाखेतमा रोपाई सुरु भएको छ ।
जिल्लामा असारको पहिलो हप्ताबाट धान रोपाईको चहलपहल सुरु भएको हो । बाँझो जमिन र सूर्यमुखीको उत्पादन लिइएको करिव तीन रोपनी जग्गामा धान रोपाई कार्य सम्पन्न गरिएको रम्भा गाउँपालिका १ सगाहका कृषक ऋषिराम अर्यालले बताउनुभयो ।
मकै लगाइएको खेतमा असारको अन्ततिर रोपाई गरिन्छ । धान दिवसको अवसरमा पाल्पाको पूर्वखोला गाउँपालिका ३ रिङ्नेरहमा कृषि ज्ञानकेन्द्रको सहयोगमा विशेष रोपाईं महोत्सव तथा धान दिवस कार्यक्रम आयोजना गरिएको छ । महिला पुरुषका लागि हिले दौड प्रतियोगिता रहेको छ ।
आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
आज १९ औँ धान दिवस ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग धान खेतीको आधार’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।
पाल्पामा करिव आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाई गरिदै आइएको छ । मनसुन छिटो भित्रिएकाले भने यसवर्ष छिटो रोपाई सुरु भएको छ । जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभान लगायतका क्षेत्र धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् ।
पछिल्लो समय गाउँ गाउँमा कृषि यान्त्रिकरणको विकासले पनि धान रोपाई छिटो छरितो हुने गरेको छ । साबित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुली लगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्धेश्यले कृषकहरु उन्नत प्रबिधिका धानमा आकर्षित हुन थालेका छन् ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस