नेप्सेमा उछाल, डेढ महिनापछि दुई अर्ब बढीको कारोबार

नेप्सेमा उछाल, डेढ महिनापछि दुई अर्ब बढीको कारोबार

पुँजी बजार सुधार र विस्तारको माग राखि आन्दोलनमा रहेका सेयर लगानीकर्ताहरु आन्दोलन आन्दोलन निश्कर्षमा पुगेसँगै सेयर बजारमा उछाल आएको छ ।

लगानीकर्ताहरु बजार प्रवेश गरेपछि आइतबार एकैदिन नेप्से सूचक करिब ९५ अंकले उकालो लागेको छ भने कारोबार रकम समेत डेढ महिनापछि दुई अर्ब माथि पुगेको छ ।

पुँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिले राखेका माग पूरा गर्न धितोपत्र बोर्डले लगानीकर्ताको तर्फबाट दुई र बोर्डको तर्फबाट दुई गरी चार जना सदस्य रहने गरी कार्यान्वयन समितिले बनाएपछि गत शुक्रबार सेयर लगानीकर्ताहरुको आन्दोलन र अनसन टुङ्गिएको थियो ।

बोर्डले कार्यान्वयन समिति गठन गरेसँगै असार १ गतेदेखि आमरण अनसनमा बसेका संघर्ष समितिका संयोजक तिलक कोइरालालाले दशौं दिनमा आमरण अनशन तोडेका थिए । बोर्ड अध्यक्ष हमालले आइतबारबाटै कार्यन्वयन समितिले काम थाल्ने बताएका थिए ।

आन्दोलनरत सेयर लगानीकर्ता बजार फर्किपछिको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ९४.९२ अंकले बढेर १९५६.९८ अंकमा पुगेको छ । यसदिन २३० कम्पनीको २ अर्ब १९ करोड बढीको सेयर किनबेच भयो ।

सेयर लगानीकर्ता बजार फर्किपछि कारोबार रकम डेढ महिनापछि दुई अर्ब माथि पुगेको हो । यस अघि  वैशाख २९ गते २ अर्ब २७ करोड बराबरको सेयर कारोबार भएको थियो ।

आजको बजारमा २१ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । थप ३१ कम्पनीको सेयरमूल्य नौ प्रतिशत भन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस