रामपुर ५ मा वार्षिक नीति तथा योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण

रामपुर ५ मा वार्षिक नीति तथा योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण

सुशीला रेग्मी
रामपुर ११ असार
पाल्पाको रामपुर नगरपालिका वडा नं ५ मा वार्षिक नीति तथा योजना तर्जुमा एवम् टोल विकास संस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा कार्यक्रम गरिएको छ । वडाध्यक्ष पोखरेलले टोलबाट सङ्कलित भएर आएका योजनाबारे जानकारी गराउनुहुदै सबै वडावासीको माग र आवश्यकता अनुसारका काम गर्दै जाने बताउनुभएको छ । प्रमुख अतिथि रामपुर नगरपालिकाका सुचना अधिकारी रामहरी पाण्डेयले नगरपालिकाले टोल विकास समिति २०७६ पारित गरेर सबै वडामा टोल विकास संस्था गठन गरिएको र हरेक दुई वर्षमा नया कार्य समिति चयन गर्ने बताउनुभएको छ । वडा सदस्य युवराज शाहीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन वडा सचिव रजनी भण्डारीले गर्नुभएको हो ।
रामपुर उपत्यका पर्यटन विकास समिति अध्यक्ष श्यामकान्त खनालले रामपुरको वडा नं ५ नगरकै केन्द्र रहेको हुदा पुर्वाधार, धार्मिक तथा पर्यटन विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । कार्यक्रमका अवसरमा निवर्तमान वडा सदस्य विष्णुप्रसाद बस्याल, सावित्रा गौतम, नेपाली कांग्रेस नगर उपसभापति देवबहादुर मश्राङ्गी, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, नेपाली कांग्रेस वडा उपसभापति भोजबहादुर राना, नेकपा एमाले वडा कमिटी अध्यक्ष मिनराज रेग्मी, समाजसेवी अर्जुनप्रसाद रेग्मी लगायतले वडाको विकास निर्माणका सन्दर्भमा आफ्ना भनाई राख्नुभएको छ । सहभागीलाई वडा सदस्य नरेन्द्रकुमार जर्घाले धन्यवाद दिनुभएको हो । गोविन्द भट्टराईले रामपुर ५ को बेझाड बजार क्षेत्रमा सवारी साधन र बजार बढ्दै जादा दुर्घटना निम्तन सक्ने हुदा पहिले नै सतर्क रहने गरी कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभएको छ । यस वडामा १२ वटा टोल विकास समिति गठन भएको छ । वडामा करिव २०० बढी योजना टोल विकास समिति मार्फत सङकलित भएर आएका छन् ।

प्रतिक्रिया दिनुहोस