उज्यालो रिब्दिकोट देखि स्मार्ट रिब्दीकोट एप्स सम्म

उज्यालो रिब्दिकोट देखि स्मार्ट रिब्दीकोट एप्स  सम्म


पाल्पा,असार ९

रिब्दिकोट गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उज्यालो तथा सुरक्षित रिब्दीकोट तथा स्मार्ट रिब्दीकोट एप्स संचालन गर्ने सम्मका बिषयबस्तु समेटिएका छन् ।

गाउँपालिकाले कर तथा राजश्वलाई विद्युतिय प्रणाली मार्फत भुक्तानी गर्न स्मार्ट रिब्दीकोट एप निर्माण गरि प्रयोगमा ल्याईने जनाईएको छ । त्यस्तै आन्तरिक आय, अन्तरसरकार वित्त हस्तान्तरण, राजश्व बाँडफाँडलाई यथार्थ बिष्लेषण गरि नीति तथा कार्यक्रम तय गरेको छ । अध्यक्ष कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकाको एकिकृत कृषी तथा पशु विकासको रणनिती बनाई कार्यान्वयन गर्न बिज्ञ सहितको संयन्त्र निर्माण गर्ने, किसान सुचिकरणको बाँकी काम पुरा गरि परिचय पत्रको व्यवस्था मिलाउने, एक वडा एक प्राविधिक सेवा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमुना उत्पादन, गाउँपालिका स्तरिय नर्सरी, एक वडा एक पोखरी, म बनाउँछु मेरो रिब्दीकोट, खनौं आफ्नो माटो छाडौं विदेशको बाटो लगाएतका नारा तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

पलिकाले खस्यौली प्राथमिक केन्द्रलाई १० शैयाको अस्पतालमा परिणत गर्ने, मेरो रिब्दीकोट मेरो गर्व मेरो स्वर्ग अभियान सञ्चालन गर्ने, मुख्य सडक क्षेत्रहरुमा सडक बत्ति र सिसि क्यामेराको प्रबन्ध मिलाउने, गाउँपालिका स्तरिय उद्योग बाणिज्य संघ स्थापना गर्ने योजना पलिकासंग रहेको छ । त्यस्तै दिर्घरोगीहरुको प्रोफाईल निर्माण गरि स्वास्थ्य उपचारमा सहजिकरण गर्ने, पालिका भित्रका बर्थिङ सेण्टरबाट रिफर गरिएका गर्भवतीहरुलाई निशुल्क एम्बुलेन्स व्यवस्था गर्ने, विद्यालयका किशोरीहरुलाई निशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने, गाउँपालिका स्तरिय नमुना विद्यालय निर्माण गरिने, विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । गाउँपालिकाले कृषी कर्म गर्नेगरि गाउँपालिका भित्र बसाँईसराई आउने नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराउने जनाएको छ । कृषी व्यवसाय सफलताको आधार सबै खेतियोग्य जमिनमा सिँचाई पुर्वाधारलगाएतका कार्यक्रम सञ्चालन गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस