किसानलाई कृषि उपकरण वितरण

किसानलाई कृषि उपकरण वितरण

रामपुर असार ९
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत मकै ब्लक विकास कार्यक्रमको खर्च सार्वजनिक तथा विभिन्न कृषि मेसिन औजार, उपकरण हस्तान्तरण कार्यक्रम रामपुर नगरपालिका वडा नं ३ मा भएको छ । दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुर नगरपालिका ३ पाल्पाको आयोजना तथा कृषि ज्ञानकेन्द्रको सह–आयोजनामा कार्यक्रम भएको हो । कृषकलाई मकै रोप्ने मेसिन, भण्डारण सामग्री, स्पे्र मेसिन, झार मार्ने विषादी लगायतका औजार वितरण गरिएको छ । अनुदानमा विभिन्न औजार पाएपछि कृषक गंगाबहादुर राना खुशी हुनुभएको छ । कृषि उत्पादन बढाउन र आत्मनिर्भर बनाउन, परम्परागत खेती प्रणालीको सट्टा आधुनिक प्रविधिबाट खेती गराउन कृषि औजार वितरण गरिएको हो ।
सहकारीका अध्यक्ष भेषबहादुर वंशीको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष वंशीले नमुना मकै ब्लकका रूपमा चिनाउने गरी काम गरिरहेको बताउनुभएको छ । संस्थाले १४ वटा टोलमा सर्वेक्षण गरेर आवश्यकताको आधारमा मेसिनरी औजार वितरण गरिएको बताउनुभएको छ । कृषि ज्ञानकेन्द्रको रु १९ लाख ३९ हजार २३७ र संस्था (किसान) को रु १७ लाख ५३ हजार १५५ गरी जम्मा ३६ लाख ९२ हजार ३९२ बराबरको रकमको अहिलेसम्म काम सम्पन्न भएको अध्यक्ष वंशीले जानकारी दिनुभयो ।
ज्ञानकेन्द्रको रु २४ लाख ९८ हजार, सहकारी संस्थाको रु २२ लाख सात हजार गरी रु ४७ लाख पाँच हजारको लागतमा कार्यक्रम सञ्चालन गरिएको हो । सहकारीले २०७८ फागुन १८ गते सम्झौता गरी कार्यक्रम अगाडी बढाएको छ ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनाल रहनुभएको हो । प्रमुख अतिथि प्रदेश सभा सदस्य खनालले कृषिको उत्पादन बढाएर आर्थिक समृद्धि ल्याउन यो कार्यक्रम संचालन गरिएको बताउनुभएको छ । उहाँले राज्यले दिएको सहयोग र अवसरलाई सही ढंगले प्रयोग गरिनुपर्ने बताउनुभएको छ । रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले रामपुरमा गतवर्ष आलुमा ब्लक कार्यक्रम र यो वर्ष मकैमा ब्लक कार्यक्रम संचालन गरिएको बताउनुभएको छ । यो ठाउँ मकै बालिको लागि उपयुुक्त रहेकाले लागत घटाएर उत्पादन बढाउन ब्लकमा कार्यक्रम संचालन गरिएको बताउनुभएको छ ।
कृषि ज्ञानकेन्द्र पाल्पाका कृषि प्रसार अधिकृत रामसुरत पालले सहकारीले राम्रोसंग कार्यक्रम संचालन गरिरहेको बताउनुहुदै मेसिनरी औजारको प्रयोग गरेर उत्पादन बढाउन अनुरोध गर्नुभएको छ । रामपुर नगरपालिका ३ का वडाध्यक्ष दामोदर पाठकले आयआर्जन उकास्ने गरी व्यावसायिकरण गरेर खेती गरिनुपर्ने बताउनुहुदै यस कार्यक्रम संचालन गर्न वडा र नगरको तर्फबाट पनि सहयोग गर्ने बताउनुभएको छ ।
मकै ब्लक कार्यक्रम समिति संयोजक टिकाराम न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सहकारीका व्यवस्थापक रिता थापाले गर्नुभएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय पाल्पा र कृषि ज्ञानकेन्द्र पाल्पाको सहकार्यमा सहकारीले रजघरामा दुई हजार ६०० रोपनी जग्गामा मकै खेती गरिरहेको छ । ब्लक कार्यक्रम अन्तर्गत ४१४ घरपरिवार आबद्द छन् । पाल्पा जिल्लामै मकै बालीमा ब्लक कार्यक्रम रामपुरमा संचालन गरिएको छ । मकैको उत्पादन बढाउन, प्रवीधीमैत्रि तरिकाले खेति गर्न सिकाउने उद्देश्यले ब्लक कार्यक्रम संचालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस