रासायनिक मल अभावमा उत्पादकत्वमा कमी

रासायनिक मल अभावमा उत्पादकत्वमा कमी

सुशीला रेग्मी
रामपुर (पाल्पा), जेठ ३०

हरियाली हुदै गएका बालीनालीमा समयमा नै रासायनिक मल दिन नसक्दा सप्रन सकेको छैन । बिशेषगरी मकै बालीको समय रहेको हुदा यतिबेला खेतबारीमा मकै लगाइएको छ । मकै छरेको समय देखि नै युरिया मलको अभावले बाली सप्रन नपाएको दुर्गा आचार्यले बताउनुभयो ।
“कालोबजारीमा बिक्रि भएको युरिया मल महङ्गो मुल्यमा प्रतिकिलो रु ४२ मा किनेर एक पटक मकैमा प्रयोग गरियो, दोस्रो पटक पुनः मल दिन नपाउँदा सुत्ला नै निस्कन सकेको छैन, अब उत्पादन लिन पाइएला भन्ने आशै भएन, खेती गरेर उत्पादन लिन नपाउँदा किसानलाई दुःख मात्रै भयो” उहाँले भन्नुभयो ।
शारदा रेग्मीले मकैको बोट हुर्कनै नसक्ने अवस्था भएपछि प्रतिकिलो रु ५० मा युरिया खरिद गरेर राख्नुभयो । मकैबालीमा बिशेषगरी दुई पटक रासायनिक मल किसानले प्रयोग गर्दै आइरहेका छन् ।
कालोबजारीकै मुल्यमा भएपनि दोब्बर बढी मुल्य तिरेर किसानले मकै बालीमा राख्न बाध्य भएका छन् । एक पटक त कालोबजारीकै भएपनि धेरै मुल्यमा मल खरिद गरियो तर अर्को पटक महङ्गो नै भएपनि किन्न खोज्दा बजारमा कतै नपाएको रेग्मीको गुनासो छ ।
सहकारीमार्फत वितरण गर्ने युरिया मलको मुल्य प्रतिकिलो रु २० रहेको छ । कतिपय व्यापारीले मल अभावको मौका छोपेर कालोबजारीमा महङ्गो मुल्यमा बिक्रि गर्दा किसान मर्कामा परिरहेका छन् ।
मकै बाली मात्रै नभएर व्यावसायीक पशुफार्म सञ्चालन गरेका किसान पनि मलको अभावमा मारमा परेका छन् । घाँसमा मल राख्न नपाउँदा पशु आहारमा समस्या परेको लक्ष्यधेनु उन्नत गाईफार्मका सञ्चालक गणेश आचार्यले गुनासो पोख्नुभयो ।
“ठूला पशुफार्म चलाएका व्यावसायीलाई उचित समयमा घाँसबालीमा मल दिन नपाउँदा पशु आहारमा सङ्कट परेको छ, महङ्गो मुल्यमा खरिद गरिएको दानाले मात्रै पशु आहार धान्न सक्ने अवस्था छैन, घाँस उत्पादन कम भएपछि पशु आहार कसरी व्यवस्थापन गर्ने चिन्ताले सताएको छ” उहाँले भन्नुभयो ।
होलस्टिक गाईभैसी फार्मका सञ्चालक विष्णुमाया खड्काले पशु आहारका लागि मात्रै करिव ४० रोपनी जग्गामा घाँस र मकै लगाउनुभएको छ । मलको समस्याले घाँस र मकै सप्रन नसक्दा पशु आहार कसरी धान्ने भन्ने चिन्ताको भारी थपिएको उहाँ बताउनुहुन्छ । घाँस राम्ररी सप्रन नपाउँदा यतिबेला ठूला पशुफार्म सञ्चालकलाई पशु आहार व्यवस्थापनमा सकस परेको छ ।
भारतीय कम्पनीले नेपाललाई दिने भनेको मल फास्ट्र ट्रयाकमा ल्याउने सम्बन्धमा सरकार लागिरहेको र यसको लागि प्रक्रिया अगाडी बढेको कृषि सामग्री कम्पनी लिमिटेड पाल्पाका प्रमुख सुमन पन्थीले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “भारतीय कम्पनीमार्फत नेपाललाई आवश्यक पर्ने रासायनिक मल दिने कुरा भइरहेको छ तर कसरी आयात गर्ने भन्ने विषयमा निधो छैन, फास्ट्र ट्रयाकमा १५ दिनभित्र मल ल्याउन सकिन्छ” ।
उहाँका अनुसार पाल्पालाई आवश्यक पर्ने मल कृषि सामग्री कम्पनी लिमिटेड भैरहवा, साल्ट टे«डिङ्ग कम्पनी रुपन्देहीमा जानकारी गराइएको छ । मकै बालीमा युरिया मलको अभाव परिपूर्ति गर्न प्राङ्गारिक मल प्रयोग गर्न सकिन्छ तर धान रोप्ने समयमा मल आइपुगेन भने ठूलो समस्या निम्तिने हुदा किसानले जतिसक्दो चाडोँ मल व्यवस्थापन गर्न अनुरोध गरिरहेका छन् ।
तीन महिना देखि युरिया मलको अभाव सिर्जना भएको विजयपुर कृषि सहकारी संस्था रामपुरका अध्यक्ष ओमप्रकाश रेग्मीले बताउनुभयो । सहकारीमा दैनिकजसो किसानले मलको विषयमा गुनासो लिएर आउने गरेको र असारको दोस्रो हप्तासम्म मल आइपुग्ने आश्वासन पाएको उहाँ बताउनुहुन्छ ।
पाल्पामा ५३ वटा संस्थाले अनुमती लिएर रासायनिक मलको कारोबार गरिरहेका छन् । जिल्लामा हरेक वर्ष मलको खपत बढ्दै गएको पाइएको छ । आजभन्दा पाँच वर्ष अघि वार्षिक एक हजार मेट्रिकटन मल खपत हुने गरेकोमा गतवर्ष दुई हजार मेट्रिकटन खपत भएको पाइएको छ ।
रासायनिक मलको प्रयोगले वर्षेनी माटोको उर्वराशक्ति घट्दै जादा मलको प्रयोग बढीरहेको छ । किसानले पनि अन्धाधुन्ध तरिकाले खेतबारीमा बालीनालीलाई चाहिने भन्दा बढी मल प्रयोग गरेकाले खेतीयोग्य जमिन घटेपनि वर्षेनी मलको खपत बढ्दै गएको हो ।
स्थानीय समितिको सिफारिस बिना सहकारीले रासायनिक मलको कारोबार गर्न पाउँदैनन् । पालिका उपप्रमुखको संयोजकत्वमा समिति रहनेछ । सो समितिले छनौट गरेको कृषि सहकारीलाई मल वितरणका लागि अनुमती दिइन्छ ।
हरेक स्थानीय तहमा एक वडा एक कृषि सहकारीलाई मल बिक्रि वितरण गर्ने अनुमती दिइएको छ । यदी कृषि सहकारी संस्था नै नभएको ठाउँमा वचत तथा ऋण सहकारीलाई पालिकाले मल खरिद बिक्रिको अनुमती दिन सक्नेछ ।
कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले समयमा नै मल राख्न नपाएपछि यसवर्ष जिल्लामा मकै बालीको उत्पादन घट्ने अनुमान गरिएको बताउनुहुन्छ ।
कृषि व्यावसायमा उत्साहका साथ खेती गरेका किसान बोटविरुवालाई उपयुक्त समयमा मलको प्रयोग गर्न नपाउँदा निराश बनेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस