रामपुरका महिलालाई बाख्रा वितरण

रामपुरका महिलालाई बाख्रा वितरण

सुशीला रेग्मी
रामपुर (पाल्पा), जेठ २९
पाल्पाको रामपुर नगरपालिका वडा नं ९ मा लाम्दीखोला स्वाबलम्वन महिला समाजका सदस्यलाई शनिवार बाख्रा वितरण कार्यक्रम भएको छ । रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजना अन्तर्गत रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा पछौटेपन उन्मुलन समाज (बेस) नेपालको सहजिकरणमा महिलालाई आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको हो । रामपुर ९ का वडाध्यक्ष दिलबहादुर रानाको अध्यक्षतामा एक कार्यक्रम गरी २१ जना सदस्यलाई उन्नत जातको एक÷एक वटा बाख्रा र समुहलाई एक वटा बोका वितरण गरिएको हो । प्रमुख अतिथि रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले लाम्दीखोला क्षेत्र बाख्रापालनको लागि उपयुक्त रहेको र एउटा बाख्राबाट संख्या बढाउँदै आत्मनिर्भर बन्न सकिने बताउनुहुदै बाख्रापालनका लागि डालेघाँस लगाउन सुझाव दिनुभएको छ ।
कार्यक्रममा पछौटेपन उन्मुलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले राम्रोसंग पालनपोषण गरेर बाख्रा पालियो भने प्रशस्त आम्दानी लिन सकिने बताउनुभएको छ । हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले संस्थाले बाख्रा लिने मात्रै होइन दिने पनि हो है भन्ने सिकाउन यो कार्यक्रम गरिएको र यस कार्यक्रमले गाउँघरमा महिलालाई संगठित बनाउने, व्यावसायउन्मुख बनाउन सहयोग गरेको बताउनुभयो । वडा सदस्य भगवति सुनारले बाख्रापालन व्यवसाय बढाउँदै जादा महिला परनिर्भरता हट्ने र एक ठाउँमा उत्पादन भएको बाख्रा अन्यत्र पनि बिक्रि वितरण गरेर आयस्रोत दरिलो बनाउन महिलालाई अनुरोध गर्नुभएको छ ।
यसैगरी रामपुरको १, २ र ५ मा पनि बाख्रा वितरण कार्यक्रम भएको हो । वडा नं १ का वडा सदस्य जीवनमाया नेपालीको अध्यक्षतामा देउराली स्वावलम्बी महिला समुहका २७ जना सदस्यलाई एक÷एक वटा बाख्रा र समुहलाई एक वटा बोका वितरण कार्य सम्पन्न भएको छ । वडा नं २ मा वडाध्यक्ष कृष्णबहादुर दर्जीको अध्यक्षतामा कार्यक्रम गरी चौतलादेवी स्वावम्लबन महिला समुहका २६ सदस्यलाई एक÷एक वटा बाख्रा र समुहलाई एक वटा उन्नत जातको बोका वितरण गरिएको हो ।
रामपुर ५ मा वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा एक कार्यक्रम गरी सुन्दरटोल राम्चे समुहका ८ जना महिलालाई एक÷एक वटा बाख्रा र एक वटा बोका वितरण गरिएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले खोर व्यवस्थापन गरेर बाख्रापालन गरियो भने राम्रो आम्दानी गर्न सकिने बताउनुहुदै व्यावसायीक पालनमा जोड दिन आग्रह गर्नुभएको छ । उपप्रमुख बालकुमारी थापाले घरायसी कामकाजको अलवा बाख्रा पालेर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको हुदा आत्मनिर्भर हुने गरी व्यवसाय थालनी गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रमको संचालन रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाका संयोजक सन्जु परियारले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस