सुशीला रेग्मी
रामपुर (पाल्पा), जेठ २८
अनुदानको धानको वीउ खरिद गरी महङ्गो मुल्यमा बिक्रि गरेको दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुरले किसानलाई रकम फिर्ता दिने भएको छ । सहकारीले प्रतिकिलो रु ३९ मा रामपुर नगरपालिकाबाट अनुदानमा खरिद गरी ल्याएको धानको वीउ रु ४५ मा किसानलाई बिक्रि गरेको थियो ।
राष्ट्रिय समाचार समिति (रासस) मा जेठ २६ गते ‘अनुदानको धानको वीउ महङ्गो मुल्यमा किसानलाई वितरण’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । सो समाचारको प्रभावका कारण सहकारीको सञ्चालक समितिको शुक्रवार बसेको बैठकले विविध कारणले गर्दा उठाइएको रकम रु चार फिर्ता दिने निर्णय गरिएको छ ।
प्रतिकिलो रु दुई ढुवानी खर्च मात्रै लिने, धान वितरणमा परिचालित कर्मचारी खाजा खर्च, भण्डारण खर्च सबै सहकारीले व्यहोर्ने गरी चार रुपैयाँ फिर्ता गर्ने निर्णय भएको सहकारीका अध्यक्ष भेषबहादुर वंशीले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “प्रतिकिलो रु ३९ मा अनुदानमा खरिद गरेर ल्याइएको वीउ रु ४५ मा सहकारीले बिक्रि गरेको होँ, समितिको बैठक बसेर रु दुई मात्रै लिने र बाँकी प्रतिकिलोमा रु चार किसानको खातामा नै सहकारीले जम्मा गर्ने निर्णय भएको छ” ।
चर्को मुल्य तिरेर धान खरिद गरेका किसानहरु रकम फिर्ता पाउने भएपछि खुशी छन् । सहकारीले ढुवानी, भण्डारण खर्च, धान वितरणमा परिचालित जनशक्तिलाई खाजा खर्च, खुल्ला धान बिक्रि गर्दा पैसा फिर्ता गर्न झण्झट जस्ता कारण देखाउँदै प्रतिकिलोमै रु ६ नाफा लिएर वीउ वितरण गरेको हो ।
पालिकाको केन्द्र बेझाड बजार देखि सहकारीको कार्यालय रामपुर नगरपालिका ३ को रजघरा पुग्न पक्की सडकमा सवारी साधनमा करिव १० मिनेट समय लाग्छ । सो दुरीको ढुवानी भाडा नै जोडेपनि प्रतिकिलोमा रु ६ मुल्य अधिक रहेको स्थानीयले पनि गुनासो गरेका थिए ।
किसानलाई सहुलियतमा वितरण गर्न ल्याइएको अनुदानको वीउ चर्को मुल्यमा बिक्रि गरेको थाहा पाएपछि रामपुर नगरपालिकाले लिखित पत्र सहकारीलाई बुझाए पश्चात् रकम फिर्ता दिने भएको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउनुहुन्छ ।
रामपुर नगरपालिकाले नेपाल सरकारले तोकेको मूल्यका आधारमा प्रतिकिलो रु ७८ पर्ने धानलाई ५० प्रतिशत अनुदानमा रु ३९ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमती दिई कृषि सहकारी, समुह र कृषकलाई वितरण गरेको जनाइएको छ ।
सो सहकारीलाई नगरपालिकाले पाँच हजार ५०० किलो वीउ उपलब्ध गराएको हो । नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिव २६ टन वीउ वितरण गरिएको छ ।