अनुदानको धानको वीउ महंगो मुल्यमा किसानलाई वितरण

अनुदानको धानको वीउ महंगो मुल्यमा किसानलाई वितरण

सुशीला रेग्मी
रामपुर (पाल्पा), २६ जेठ
रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको वीउ यहाँको एक सहकारीले महंगो मुल्यमा किसानलाई बिक्रि गरेको पाइएको छ । रामपुर ३ रजघरा स्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको वीउ प्रतिकिलो रु ६ मुल्य बढाएर किसानलाई वितरण गरेको हो ।
स्थानीय कृष्ण पराजुलीले अनुदानमा आएको वीउ सहकारीले किसानलाई चर्को मुल्यमा बिक्रि गरेको बताउनुहुन्छ । उहाँले १२ किलो सावित्री, पाँच किलो साँवा मन्सुली गरी १८ किलो धानको वीउ प्रतिकिलो रु ४५ मा खरिद गरेको बताउनुभयो । बिरमला कुमालले सहकारीबाट १५ किलो उन्नत जातको वीउ ल्याउनुभयो । उहाँलाई अनुदानमा ल्याइएको धानको वीउको खरिद बिक्रि मुल्य भने थाहा थिएन ।
“वीउ खरिद गरेर घर लगेपछि पश्चात् बिस्तारै गाउँघरमा सहकारीले रामपुर नगरपालिकाबाट अनुदानमा ल्याएको धानको वीउ चर्को मुल्यमा बिक्रि गरेको थाहा पाए, यस सम्बन्धमा सहकारीमा जानकारी लिनेछु” उहाँले भन्नुभयो ।
सहकारीका अध्यक्ष भेषबहादुर वंशीले ढुवानी, भण्डारण खर्च, धान वितरण गर्नका निम्ति परिचालित ३÷४ जना जनशक्ति खटाइएको खर्चसहित संस्थाले प्रतिकिलो रु ३९ मा खरिद गरेको वीउ रु ४५ का दरले किसानलाई वितरण गरेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “वीउ वितरण तथा व्यवस्थापनका लागि ३÷४ जना जनशक्ति परिचालन गरियो, उनीहरुलाई खाजा व्यवस्थापन, खुल्ला धान विक्रि गर्दा पैसा फिर्ता गर्न झण्झट हुने भएकाले सहकारीले रु ४५ मै बिक्रि गर्ने सल्लाह गरेर अनुसार नै वितरण गरेको हो, विभिन्न खर्च कटाएर बचेको रकम सहकारीमै रहन्छ” ।
पालिकाको केन्द्र बेझाड बजार देखि रजघरा पुग्न पक्की सडकमा सवारी साधनमा करिव १० मिनेट समय लाग्छ । सो दुरीको ढुवानी भाडा नै जोडेपनि प्रतिकिलोमा रु ६ मुल्य अधिक रहेको स्थानीय बताउँछन् ।
सहकारीबाट किसानले सहुलियत मुल्यमा वीउ पाइएला भन्ने आशा गर्नुभएकी बसुन्धरा कंडेल डोटेल महंगो मुल्यमा खरिद गर्नु परेको गुनासो पोख्नुहुन्छ । तुल्सी खनालले साँवा मन्सुली जातको ३५ किलो (एक बोरा) धान प्रतिकिलो रु ४५ का दरले रु एक हजार ५७५ मा खरिद गर्नुभएको छ । उहाँले सहकारीले जुन मुल्य कायम ग¥यो सो मुल्यमा सिधै धान खरिद गरेर ल्याएको बताउनुभएको छ ।
अनुदानको वीउ सहकारीले धेरै महंगो मुल्य लिएर बिक्रि गरेको रहेछ भने गलत काम भएको रामपुर ३ का वडाध्यक्ष दामोदर पाठकले बताउनुभयो ।
“किसानलाई सेवा दिने उद्धेश्यले नगरले अनुदान कार्यक्रम ल्याएको हो, सहकारीलाई नाफा गर्न होइन, नाफाघाटाको कुरा जोड्न भएन, जनताले सहुलियत रुपमा सेवा पाउनुप¥यो, केही महंगो मुल्यमा बेचेको भन्ने सुनेको छु, यस बारेमा संस्थासंग जानकारी लिनेछु” उहाँले भन्नुभयो ।
रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले नेपाल सरकारले तोकेको मूल्यका आधारमा प्रतिकिलो रु ७८ पर्ने धानलाई ५० प्रतिशत अनुदानमा रु ३९ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमती दिई कृषि सहकारी, समुह र कृषकलाई उपलब्ध गराएको बताउनुहुन्छ ।
“मुल्य बढाएर किसानलाई धान बिक्रि गरेको जानकारी हामीलाई आए पश्चात् मौखिक रुपमा सोधिएको छ तर सहकारीबाट हामीलाई स्पष्टिकरण भने अहिलेसम्म आएको छैन” प्रमुख पाण्डेयले भन्नुभयो ।
सो सहकारीलाई नगरपालिकाले पाँच हजार ५०० किलो वीउ उपलब्ध गराएको हो । नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिव २६ टन वीउ वितरण गरिएको छ ।
यस आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गत उन्नत जातमा अनुदान दिने कार्यक्रम अनुसार किसानको मागको आधारमा साबित्री र साँवा मन्सुली जातको वीउ वितरण गरिएको हो ।
रामपुरमा केही सहकारी समुहले पनि रु दुई देखि रु चार सम्म प्रतिकिलोमा ढुवानी मुल्य जोडेर वीउ वितरण गरेको किसानले बताएका छन् । पालिकाले दिएको सहुलियत मुल्यमा चर्को मुल्य जोडेर वीउ वितरण गर्दा किसान मारमा परेका छन् ।–––

प्रतिक्रिया दिनुहोस