बाँदर आतङ्कले अन्नबाली स्याहार्नै पाउदैनन् किसान

बाँदर आतङ्कले अन्नबाली स्याहार्नै पाउदैनन् किसान

सुशीला रेग्मी
रामपुर (पाल्पा), २३ जेठ

रम्भा गाउँपालिका १ सगाहाका अगुवा कृषक ऋषिराम अर्यालको तीन रोपनी खेतीयोग्य जमिन बाँझै छ । राम्रै अन्नबाली उत्पादन हुने गरेपनि बाँदरको समस्याका कारण आफूले लगाएको बाली स्याहार्नै नपाउने अवस्था भएपछि खेती लगाउनै छाड्नुभएको छ ।
अर्यालले छ वर्ष यता मकै खेती लगाउन छाडेको बताउनुभयो । दुःख गरेर मकै लगायो उत्पादन लिन पाइएला भन्दा बाँदाले खाएर स्याहार्न नपाएपछि लगानी व्यर्थ मात्रै भयो । मकैको विकल्पमा सूर्यमुखी खेती गर्न थालेको उहाँ बताउनुहुन्छ ।
“मकै पसाउन थालेपछि खेतबारीमा बाँदरको समुह पसेर एकै पटकमा सखापै पार्ने, घरभित्र पनि लुकेर भण्डारण गरेर राखेको मकै खाने, एक्लै घरमा भएमा मानिसलाई नै झम्टने गर्दछ, बाँदर धपाउने समस्याले किसानले कतिपय स्थानमा जग्गा बाँझै राख्न बाध्य भएका छन्” अर्यालले भन्नुभयो ।
तल र माथि जंगल बीचमा वस्ती र खेतीयोग्य जमिन हुदा दुईतर्फबाट आएका बाँदर गाउँ वस्तीमा पसेर क्षणभरमै खेतीपाती नोक्सानी गर्ने गरेको अर्यालको भनाई छ ।
बाँदर नियन्त्रणका लागि विकल्पको व्यवस्था गर्न रम्भा गाउँपालिकाको कार्यालयमा अनुरोध गरेपनि त्यसको कुनै सुनुवाई नभएको अर्यालले बताउनुभयो । मकैबाली छाडेर अहिले उहाँले करिव छ रोपनी जग्गामा सूर्यमुखी लगाउनुभएको छ । उहाँजस्तै गाउँका अन्य किसानले पनि सूर्यमुखी खेती सुरु गरेका छन् ।
बाँदरले मकै, तरकारी, फलफुल मात्रै होइन धानबालीमा पसी माडेर सताउने गरेपछि सगाहाको अम्मेट ठाउँमा करिव २० रोपनी जग्गा बाँझो अवस्थामा छ । बाँदरले नोक्सानी गर्न थालेपछि मेहनत अनुसारको उब्जनी लिन नपाउँदा दुईवर्ष यता सो जमिन बाँझिन पुगेको छ । धानबाली पनि बाँदरले मासेर नोक्सान गर्न थालेपछि अहिले सो ठाउँमा किसानले खेती लगाउनै छाडेका छन् ।
खेती लगाउन सुरु गरेदेखि बाँदर खेतबारीमै लुकेर बस्ने र पसाउन थालेपछि बाली नसकिदासम्म खेतबारी नै नछाड्ने गरेको सगाहकै अर्का कृषक मित्र सिं थापाले बताउनुभयो । उहाँ पनि बाँदर समस्याले हैरानीमा परेपछि जमिन नबाँझियोस् भनेर करिव तीन रोपनीमा सूर्यमुखी खेती गर्नुहुन्छ । थापाले यसभन्दा अघि दश रोपनी जग्गामा मकै खेती गर्दै आएको बताउनुहुदै अहिले बाँदरको समस्याले बाध्यताले सूर्यमुखी लगाउनु परेको बताउनुभयो । उहाँले मकै खेती गरेर राम्रो उत्पादन लिनुहुन्थ्यो ।
बाँदरको संख्या वृद्धि हुदै जादा उनीहरूका लागि जङ्गलमा भएको कन्दमूल वा जङ्गली फलले नपुग्ने अवस्था छ । जसले गर्दा सिधै मानव वस्तीमा पसेर बालीनाली सखापै पार्ने गरेको छ । बाँदर नलाग्ने ठाउँमा पछिल्ला समय बाँदर पस्न थालेको स्थानीय बताउँछन् । वन जंगलमा बाँदरका लागि आहारको अभाव हुनु र अर्कोतर्फ गाउँमा वस्ती पातलिदै जादा बाँदरले मानव वस्तीमा नै पसेर सताउने गरेको छ ।
अहिलेको समय खेतमा पसाउँदै गरेको मकै बाली जोगाउन किसानलाई सकस छ । किसानको दैनिकी बाँदर धपाउनमै बित्ने गरेको छ । एक–दुईको संख्यामा हिड्ने बाँदरले खासै नोक्सानी गर्दैन तर ठूलो समुहमा आएका बाँदरले खेतबारीमा पसेपछि बाली नै सखापै पार्ने गरेको छ ।
किसानका लागि सबैभन्दा ठूलो समस्या भनेको समूहमा हिंड्ने बाँदर हुन् । हुलमा हिंड्ने बाँदरले क्षणभरमै बालीनाली सखाप पारिदिन्छ । मकै, भटमास, आलु, बदाम, धान, कोदो, जौ, गहुँ, फापर, मूला, गाँजर, तरकारी, गोलभेंडा, फलफूल बाली सबै केही बाँकी नराखी खाएर नोक्सान पार्दछ । किसानले महिनौं लगाएर जोगाएको बालीनाली केही मिनेटमै तहसनहस बनाइदिन्छ ।
अहिले गाउँमा प्रत्येक घरमा एक–दुई जना बाँदर धपाउनकै लागि कुरुवा बस्नु परेको छ । तैपनि आँखा छलेर खेतबारीमा पसेपछि बाली नै सिध्याउने गरेको किसानको गुनासो छ । ठूलो समुह बनाएर आएका बाँदलाई एक दुई जनाले धपाउँन सकिदैन । मानिसलाई नै झम्टने गरेको पनि पाइन्छ । बाँदर आतङ्कका कारण भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझै छाडेर गाउँ छाड्नुपर्ने अवस्था आएको छ ।
कतिपयले गाउँ छाडेर अन्यत्र पनि बसाइसरी गएका छन् । खेतबारीमा लगाएको बालीमा बाँदरले आतङ्क मच्चाएपछि किसान चिन्तित बनेका छन् । कहिल्यै बाँदर नलाग्ने ठाउँमा पनि हिजोआज बाँदर पस्न थालेको रामपुर नगरपालिका ५ सुन्दरटोल बस्ने उदयराज अर्यालले बताउनुभयो । मानिसको ओहोरदोहोर हुने, वस्ती बाक्लै भएको ठाउँमा पनि दुई तीन वर्ष यता बाँदर पसेर सताउन थालेको अर्यालको भनाई छ ।
“खेतमा मकै पसाउन थालेपछि बाँदरले हैरानी पारेको छ, धपाउँन खोज्दा पनि झट्ट नभाग्ने, मकैमा पसेपछि भर्खर फल लाग्दै गरेका घोगा भाँचेर खाइदिएको छ, बाँदर भगाउने उपाय नहुदा किसानलाई सकस भएको छ” उहाँले भन्नुभयो ।
बेझाडखेत रामपुरको मुख्य बजार बेझाड संग जोडिएको छ । यहाँ दैनिक साना ठूला गरी सयौँ सवारी साधन गुड्ने, मानिसको ओहोरदोहोर बाक्लै हुने गर्छ । तरपनि वस्ती भरिदै जादा बाँदर पनि पस्ने गरेको अर्का स्थानीय लक्ष्मी तिवारी बताउनुहुन्छ । आलु, मकै, तरकारी लगायतका बाली पसाउन नपाउँदै खोतलेर खाइदिने गरेको उहाँले बताउनुभयो ।
“आफैले दुःख गरेर गरेको खेती राम्रोसंग फलाएर पेट पालौँला भनेर बस्यो, फल लाग्न थालेपछि बाँदरले खाइदिन्छ, खेतीबाली लगाएर खान पाइँदैन भने किन लगाउनमात्रै दुःख गर्नुप¥यो ? किसानलाई खेती गरेर खान्छु भन्दा पनि नपाउने अवस्था छ” उहाँले गुनासो पोख्नुभयो । उहाँका अनुसार प्रत्येक घरबाट एक÷एक जनाको पालो लगाएर दैनिक खेतबारीमा बाली कुर्न जानुपर्ने बाध्यता रहेको छ ।
रामपुर नगरपालिका वडा नं ८ आँपचौरका रामप्रसाद अर्यालले ११ रोपनी जग्गामा विभिन्न खेती गर्नुहुन्छ । बालीनाली जोगाउनै समस्या परेपछि बाँदर आतङ्क रोक्न सरकार समक्ष उहाँको अनुरोध छ । समुहमा बाँदर पसेर खेतबारीका अन्नबाली खाएर सखाप पार्ने हुदा अनिवार्यजसो बाँदर कुरेरै यहाँका नागरिकको दिन बित्ने गरेको छ । बाँदर धपाउने कुनै विकल्प नहुदा गुलेली तथा लौराले धपाउने गरेको अर्यालले बताउनुभयो ।
एक समुहमा बढीमा दुई सय सम्म बाँदर खेतबारीमा पस्ने गरेको पाइएको छ । आँपचौरकै ७४ वर्षीय पुरुषोत्तम अर्याल आफुले जाने देखि नै खेतबारीमा दैनिक बाँदर कुर्ने गरेको बताउनुहुन्छ । विहान उज्यालो हुन नपाउँदै बाँदर लखेट्न खेतमा जानुपर्ने र साँझ अबेरसम्म पनि निगरानीमै बस्नुपर्ने हुदा परिवारमा एक जना बाँदर कुर्नैका लागि खटिनु परेको अर्यालको भनाई छ ।
उहाँ भन्नुहुन्छ, “बाँदर कुरेरै जीवन बित्ने भयो, जाने बुझेदेखि नै खेतको मुहानमा बसेर बाँदर कुर्ने गरेको हो, अहिलेसम्म बाँदरकै निगरानीमा जीवन बित्यो, एक जनाले त अनिवार्य बिहान सबेरै उठेर रात नपरुन्जेलसम्म खेतमा बसेर बाँदरको निगरानी गर्नुपर्छ नत्र लगाएको बाली भित्र्याउनै पाइदैन” ।
पाल्पाका विभिन्न स्थानका किसान बाँदर आतङ्कले हैरानीमा परेका छन् । वर्षेनी बाँदरको समस्या किसानले सम्बन्धित निकायमा पोखेकै छन् । कालीगण्डकी फाउण्डेशन नेपालले रामपुर नगरपालिकाको समन्वयमा बाँदरको समस्यालाई दृष्टिगत गर्दै बाँदर धपाउने यन्त्र कृषकलाई वितरण गरेर समाधानको प्रयास पनि ग¥यो । तर पूर्ण रुपमा भने नियन्त्रणमा आउन सकेन । रामपुर नगरपालिकाले बाँदर लाग्ने स्थानमा कागती, सुन्तला, बेसार लगायतका बाली लगाउन किसानलाई प्रोत्साहन गरेको छ । तर कतिपय ठाउँमा सिंचाईको अभावले सो बाली लगाउन समस्या छ ।
पाल्पाका रामपुर, रम्भा, निस्दी, पूर्वखोला, बगनासकाली लगायतका विभिन्न ठाउँ–ठाउँमा बाँदर आतङ्कले सताउने गरेको छ । आहारको अभावमा अन्नबाली उम्रने बित्तिकै पात नै नरहने गरी च्यातेर खाने गरेको छ । बाँदर आतङ्क रोक्न नसक्दा वर्षेनी अन्नबाली खाएर नोक्सानी बेहोर्न किसान बाध्य छन् । यसको लागि स्थानीय सरकारले बिशेष योजना ल्याउन सकेमा मात्रै बाँदर आतङ्क रोक्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस