बगनासकालीमा सबै प्रकारका अपांगता भएका ब्यक्तिलाइ सामाजिक सुरक्षा भत्ता

बगनासकालीमा सबै प्रकारका अपांगता भएका ब्यक्तिलाइ सामाजिक सुरक्षा भत्ता

बगनासकाली गाउँपालिकाको कार्यपालिकाको पहिलो बैठकले गाउँपालिका भित्रका अपांगता भएका ब्यक्तिहरुलाइ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेकाे छ । जस अन्तर्गत पहेलो कार्ड भएकाहरुलाई मासिक ५०० र र सेतो कार्ड भएकाहरुलाई मासिक ३०० रुपैयाँका दरले अपांगता भत्ता उपलब्ध गराउने निर्णय गरेको हाे । रातो र निलो कार्ड भएकाहरुले यसअघिबाटै भत्ता पाउँदै आएका छन् ।

त्यस्तै गाउँपालिका अन्र्तगत रहेका लिफ्टीङ खानेपानी योजनामा ६० प्रतिशत बिद्युत शुल्क पालिकाले बेहोर्ने निर्णय समेत भएको छ । त्यस्तै महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई मासिक १ हजार रुपैयाँ प्रोत्साहन दिने निर्णय भएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । यो निर्णय यही साउन १ गदेखि लागू हुने अध्यक्ष चिदीले बताउनुभयो । बैठकले हिंसापिडीत महिलाहरूका लागि लक्षित गरि परामर्श केन्द्र सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

कार्यपालिकाको बैठकले गाउँपालिकाको प्रवक्ताको रुपमा वडा नं. ३ का अध्यक्ष टिका बहादुर थापालाई चयन गरेको छ । बैठकले बिभिन्न बिषयगत समितिहरु समेत गठन गरेको छ । न्यायीक समिति संयोजकमा पालिका उपाध्यक्ष हरि प्रसाद पाठक, अनुगमन समिति संयोजकमा उपाध्यक्ष हरि प्रसाद पाठक र सदस्यहरुमा टीका थापा र गीता रेग्मी रहनुभएको छ । जल श्रोत तथा, श्रोत्त अनुमान तथा बजेट सिमा निर्धारण समिति संयोजकमा पालिका अध्यक्ष सरस्वती दर्लामी चिदी रहनुभएको छ । राजस्व परामर्श तथा बजेट कार्यक्रम तर्जुमा समिति, संयोजकमा उपाध्यक्ष हरि प्रसाद पाठक चयन हुनुभएको छ ।

लेखा समितिको संयोजकमा वडा नं. ९ का वडा अध्यक्ष ठानेश्वर तिमिल्सिना चयन हुनुभएको छ । जसको सदस्यमा प्रकाश न्यौपाने र जमुना क्षेत्री रहनुभएको छ । सामाजिक विकास समितिको संयोजकमा कार्यपालिका सदस्य गीता रेग्मी, विधेयक समिति संयोजकमा कार्यपालिका सदस्य उमा अर्याल न्यौपाने, आर्थिक समितिको संयोजकमा कार्यपालिका सदस्य खुमादेवी भट्टराई , सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा कार्यपालिका सदस्य वसन्ती थापा , वातावरण तथा विपत समिति संयोजकमा कार्यपालिका सदस्य बोमलाल सुनार र पुर्वाधार विकास समिति संयोजकमा कार्यपालिका सदस्य तेज प्रसाद रसाली रहनुभएको छ ।

त्यस्तै सामाजिक सुरक्षा भत्ता सवलीकरण तथा अध्ययन गर्नको लागि उपाध्यक्ष हरिप्रसाद पाठकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । समितिले असार १५ भित्र बैंकहरुसँग सरसल्लाह गरि प्रतिबेदन पेश गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस