झूठा वचन दिने, अनि अन्तर्घात गरिस् भन्ने ?

झूठा वचन दिने, अनि अन्तर्घात गरिस् भन्ने ?

– अशोक शाही, (निवर्तमान मेयर, तानसेन)

मलाई साथीहरुले मेयरको टिकटमा दोहोर्याउँछौँ भनेर वचन दिएका थिए । उपमहासचिव प्रदीप ज्ञवालीसहित जिल्लाको पूरै टिम थियो त्यसमा, पोलिटव्युरो सदस्य ठाकुर गैरे पनि हुन् हामीलाई झुक्याउने । मैले अर्को विकल्प तयार गर भनेको थिएँ शुरुमा । त्यसो भन्दा जिल्ला पार्टी अध्यक्ष नारायण आचार्यले अरुले सक्दैन, तपाईं नै उठ्ने हो भनेकै हुन् ।

त्यसलगत्तै काठमाडौँमा केन्द्रीय कमिटीको बैठक हुँदाखेरि पाल्पा बेस भएका सबै केन्द्रीय सदस्यसामु मैले आफ्ना कुरा राखेँ । त्यसमा दलबहादुर राना र राधाकृष्ण कँडेल पनि हुनुहुन्थ्यो । उहाँहरूले के हो तपाईंको इच्छा दाइ ? भनेर सोध्नुभयो । राजनीतिमा इच्छा नहुने कुरा भएन तर तपाईंहरूले सोच्नुस् भनेकै हुँ । फर्केर तानसेन आइसकेपछि मलाई के शंका लाग्यो भने केपीले त तीनपुस्ते याद राख्छन्, संसद विघटनको विपक्षमा लागेको भनेर तुष पोख्छन् ।

मैले यो आशंका जनाउँदा फेरि तिनै साथीहरुले अहिले विकल्पको कुरा नगर्नुस्, अरुबाट पार लाग्दैन, तपाईं मेन्टल्ली प्रिपेयर हुनुस् नै भनिरहे । पछि त पाल्पामा हामीले जितेका सबैतिर दोहो¥याए । प्रमुख, उपप्रमुख र वडासम्मै दोहो¥याए । तानसेनमा मात्रै एक जनालाई पनि दोहोर्याएनन् ।

जबकि सबै स्थानीय तहको तुलना गर्ने हो भने तानसेन नगरपालिकामा जति काम अन्त कतै भएको छैन । लिगेसी नै थाहा नभएको मान्छे उठेपछि सबैजना जोशका साथ चुनावी अभियानमा जान सम्भव थिएन । हामीले गरेका कामको नयाँले स्वामित्व लिनसक्ने कुरा पनि भएन । त्यसकारण हामीले लगालग १० वटा वडा हा¥यौं ।

बहुदल आइसकेपछि यस्तो करारी हार कहिल्यै भएको थिएन । मेरो २०५४ सालको कार्यकालमा पनि बहुमत जितेका थियौँ– ८ वटा वडा । अहिलेको कार्यकाल (२०७४) मा समेत हामीले ८ वटा र माओवादीले एउटा जितेको हो । माओवादीले जितेको ठाउँमा पनि वडासदस्यहरू हाम्रा थिए । तर अहिले त १० वटामा सेट नै हार्यो । १४ वडामध्ये १० वटा गयो । अध्यक्षदेखि सदस्यसम्मै गयो । अहिले यी सबै कुराको समीक्षा गर्नुको सट्टा फलानाले अन्तरघात गरे, ढिस्कानाले अन्तरघात गरे भन्नेमै रमाइरहेका छन् साथीहरू ।

९ नम्बरको हरिश सुमर रेग्मी, ८ नम्बरको रामप्रसाद घिमिरेलाई बढी गाली गरेका छन् । १ नम्बरकी रामप्रसाद बस्याललाई पनि आरोप लगाइराखेका छन् । ९ नम्बरको वडा सदस्य विनिता लुइँटेलमाथि उस्तै सत्तोसराप छ । कसैलाई बाँकी राखेका छैनन् गाली गर्न । ज–जसलाई पार्टीले टिकट दिएन, उनीहरूलाई नै आरोप लगाएर बस्नै नसक्ने स्थिति बनाउन थालिसकेका छन् । उपमेयर लक्ष्मी पाठकलाई पनि आरोप लगाएका छन् । खटेन, अन्तरघात गर्यो भनेर शिव थापा भन्ने वडा सदस्यलाई धोबीधुलाइ गरेका छन् । स्टाटस कस्तो लेख्छन् भने बाँसको घारीमा झुण्ड्याएर मार्ने टाइपका । अपशब्द लेखेर यिनले कहाँ पुर्याउने हुन्, थाहा छैन ।

अहिले मेयरको टिकट जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलाई दिइएको थियो । उनी र ठाकुर गैरे प्रतिनिधिसभा सदस्यको दाबेदार । धनेन्द्रलाई मेयरमा डल्याएपछि ठाकुरलाई हाइसञ्चो । अहिले यहाँ जुन किसिमको लहर थियो, त्यसलाई उनीहरूले पार्टीकरण भइसकेको सम्झिए । अस्ति मलाई बोलाएका थिए । मैले भनेँ– सप्ताहमा आएको मान्छे जो कार्यक्रम आयोजक छ, ऊप्रति पो लोयल हुन्छ । सबैलाई पार्टीका कार्यकर्ता सम्झिने भूल नगर । युवा स्वरोजगार, किसानको कार्यक्रम चलाएर हामी ५० प्रतिशतभन्दा बढी परिवारसामु पुगेका थियौँ तर तिनले जहाँ गयो, ती सबैलाई आफ्नै देखे ।

र, सम्झे यही हो पार्टी भनेर । पुराना वडाध्यक्षहरुप्रति जनताको एट्याचमेन्ट थियो । त्यो नै नभइसकेपछि स्याटसुट मरेको लासलाई जुम्राले छोडेझैँ भयो । चुनावको अभियान पनि उठ्न सकेन । लोकल इस्यु नै उठाउन सकेनन् हाम्रा उम्मेदवारहरूले । जस्तैः हामीले स्वास्थ्य बीमाको कुरा गरेका थियौँ, छोरी शिक्षाको योजना ल्याएका थियौँ । हस्पिटलसम्म ज्येष्ठ नागरिक र सुत्केरीलाई पुर्याउने कुरा गरेका थियौँ । चार सयभन्दा बेसी रिटर्निङ माइग्रेटहरूलाई व्यवस्थापन गरेका थियौँ । बैँकमा बिनाधितो ऋण मिलाएर उनीहरूलाई प्रोडक्सनमा जोडेका थियौँ । साथीहरुले यी कुनै पनि इस्यु उठाउन सकेनन् । तानसेन नगरपालिकामा मात्र पुरानालाई फालेर केको रिस फेरेको हो, थाहा भएन ।

सारा मान्छे आतंकित छन् । भेदभाव नहुने वचन दिएर रोकिएका साथीहरुकै यो हालत छ भने अब अरु के देखेर फर्कने ? हामी कम्युनिष्ट पार्टीका कार्यकर्ता द्वन्द्ववादी हौं, फरक मत पटक–पटक राखिएको हुन्छ तर हामीले राजनीति गर्दा नजन्मेका केटाकेटीहरू हाम्रो भाग्यको फैसला गर्ने र मनपरी बोलेर हिँड्ने हौसला माथिबाट पाए । यिनले घर फर्क या जेसुकै भने पनि अब अरु फर्कने छैनन् । जबसम्म यिनीहरूको यो एटिच्युड सच्चिन्न, तबसम्म एमाले यस्तै हो ।

राजनीति भनेको गुण्डागर्दी हो, अरुलाई अपमान गर्ने हो भन्ने कोणबाट माथि नउठेसम्म कसैको खैरियत छैन । कति दिन सहने त ? मान्छेको स्वतन्त्रताको कुरा गर्नेहरु आफैँ दबिन परेपछि एक दिन सहन्छ, दुई दिन सहन्छ । प्रतिकार गर्न नसके चुप लागेर बस्छ । सक्नेले प्रतिकार गर्छ । कसैले विकल्प खोज्ला । यो त देशव्यापी हुन्छ । जिल्लामा हेर्यो राजनीति भनेको यस्तै हो भन्दै गालीगलौज गरेको छ । नीतिगत कुरा केही छैन ।

जनताको समस्यामा केन्द्रित हुनु छैन । मन नपरेको मान्छेलाई सत्तोसराप गर्नुलाई नै राजनीति सम्झेको छ । अहिले हुरिबतास आउनुअघिको मौनताजस्तो स्थिति छ । पार्टी मात्र होइन यिनीहरूले आन्दोलन नै भ्याउने भए । एउटा विघटन भयो भने अर्को पार्टी बन्न सक्ला तर आन्दोलन सिद्धियो भने त फेरि उठ्न गाह्रो हुन्छ । जनअास्था

प्रतिक्रिया दिनुहोस