अभिभावक बिहिन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने

अभिभावक बिहिन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने

सुशीला रेग्मी
रामपुर (पाल्पा), जेठ १३
ल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावक बिहिन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने भएको छ । अभिभावक नभएर साहारा बिहिन बनेका बालबालिकाको पठनपाठनका लागि पालिकाले सहयोग गर्ने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।
विद्यालयभन्दा बाहिर रहेका अभिभावकको साहारा नपाएका बालबालिकालाई उचित शिक्षा दिलाउने निर्णय पालिकाले गरेको अध्यक्ष थापाले बताउनुभयो । बोलीखबर डटकम र कन्दरा न्युजको सहकार्यमा बिहिवार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पालिका अध्यक्ष थापाले अबको पाँच वर्षमा शिक्षामा बिशेष परिवर्तन ल्याउने गरी काम गर्ने योजना रहेको बताउनुभयो ।
दोस्रो कार्यकालका लागि पुनः पालिका अध्यक्षमा चुनिनुभएका थापाले पाँच वर्षको अवधीमा पालिका भित्र सबै शिक्षामा एकरुपता ल्याउन संस्थागत विद्यालयलाई सामुदायिक विद्यालय गाभेर पठनपाठन कार्य गरेको बताउनुभयो । धनी र गरिवका बालबालिका एकै विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न र शिक्षाको नाममा चर्को शुल्क उठाउने कार्यले अभिभावक मारमा परेको हुदा सामुदायिक विद्यालयलाई सुधार गरी संस्थागत विद्यालयमा नै दिने शिक्षा प्रदान गर्दै आएको अध्यक्ष थापाले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “एकै पटक ठूलै परिवर्तन हुन्छ भनेर गफ दिनुभन्दा क्रमिक रुपमा काम गरेर देखाउने हो, अबको पाँच वर्ष यहाँका अभिभावक र बालबालिकाले शैक्षिक क्षेत्रमा केही परिवर्तन पाउनुहुनेछ, विज्ञान र प्रविधिमा जोड, असल जनशक्ति उत्पादन, शिक्षा विकासका कामहरु हुनेछन्”।
पत्रकार भेटघाटमा अध्यक्ष थापाले नागरिकको आयस्तर बृद्धि गर्न कृषि र पशुपालनका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । ठाउँ अनुसार फरक–फरक खालको कृषि र पशुपालनका कार्यक्रम, बाँझो जग्गालाई सदुपयोग गरी खेतीयोग्य बनाउन सामुहिक कृषि कार्य गरी गाउँमै स्वरोजगार सिर्जना गर्ने र बसाइसराई हुने दर कम गर्ने खालका कार्यक्रम पालिकाले अगाडी सारेको छ ।
आधारभुत स्वास्थ्य सेवालाई प्रभाकारी बनाउने, स्वास्थ्य सरसफाई, स्वास्थ्य सेवा थप बृद्धि गर्न निर्माणाधिन पन्ध्र शैयाको अस्पतालको भवन सम्पन्न पश्चात सेवा सुचारु जस्ता कार्यक्रम पालिकाले तय गरेको छ । विद्युत् सेवालाई बिस्तार गरी काठका पोल हटाउने, टुकीरहित पालिका बनाउने, एक घर एक धारा, सडक व्यवस्थित गर्ने, सडक स्तरोन्नती, सबै सरकारी कार्यालयमा छिटो छरितो सेवा प्रवाह जस्ता कुरामा जोड दिइएको छ ।
शुन्य होमडेलीभरी कार्यक्रमलाई निरन्तरता दिदै अबको पाँच वर्षमा सुशासनको पाटोमा सहज बनाउने, न्याय सम्पादनमा जोड दिदै बिगत पाँच वर्षमा पुरा गर्न नसकेका अधुरा कामलाई पुरा गरी समृद्ध पूर्वखोला, खुशी गाउँवासी बनाउने सङ्कल्प ल्याएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले बताउनुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले निर्वाचनमा कुनै दलको प्रतिनिधिका रुपमा उम्मेदवार भएपनि निर्वाचित भइसकेपछि जनताको प्रतिनिधि भएर काम गर्न सकियो भने नागरिकले विकासको अनुभुती गर्न पाउने बताउनुभयो ।
पूर्वखोलामा गएको पाँच वर्षमा शिक्षा र स्वास्थ्यमा अधारभुत सेवा, महिला सशक्तिकरण, सबै स्वास्थ्य संस्थामा सुत्केरी सेवा, सामुदायिक स्वास्थ्य इकाई सेवा, प्रयोगशाला, गर्भवतिलाई लक्षित गरेर भिडियो एक्सरे सेवा, सबै वस्तीमा मोटरबाटो संरचना तयार, एक घर एक धारा अभियान जस्ता कामहरु भएका छन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर सारुले पालिकाको कार्यक्रम र सेवा सन्दर्भमा जानकारी दिनुभएको छ । बोलीखबरका सम्पादक तथा कार्यक्रम संयोजक बन्दना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संवाददाता सन्जुदेवी परियारले र संचालन कन्दरा न्युजका कार्यकारी निर्देशक डिल्लीराज पंगेनीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस