नयाँ सत्र सञ्चालन तयारी अनुशिक्षण

नयाँ सत्र सञ्चालन तयारी अनुशिक्षण

गोपालप्रसाद वश्याल
पाल्पा, जेठ ७
वेद माध्यमिक विद्यालय, भूतपूर्व विद्यार्थी समाज (बेस) बराङदी, पाल्पाले विद्यालयमा नयाँ शैक्षिक सत्रको तयारीसम्बन्धमा शिक्षकहरूका लागि आज एक दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा समाजका अध्यक्ष गोपालप्रसाद वश्यालले नयाँ शैक्षिक सत्रको तयारी विषयक कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक सत्र हुनुपूर्व विद्यालयले गर्नुपर्ने घरदैलौ अभियान, विद्यालयका विशेषता समेटिएको पर्चा वा ब्रोशर निर्माण र वितरण, विद्यालयको मर्मतसम्भार र सजावट लगायतका ब्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले विद्यार्थी भर्नाका क्रममा विद्यार्थीको प्रोफाइल निर्माण, अभिभावक परामर्श, विदार्थीलाई उपहार प्रदानजस्ता कार्य गर्न सुझाव दिनुभयो । त्यसैगरी शिक्षकहरूले आवश्यक नोटलेखन, आवश्यक सामग्री निर्माण, सन्दर्भ सामग्री संकलन, पाठ्यक्रम, पाठ्यपुस्तकको ब्यवस्थाजस्ता कार्य गर्न आवश्यक रहेको बताउनु भयो । शिक्षकले पाठयोजना निर्माण र बुँदाटिपोट गरी विद्यार्थीलाई आवश्यक ज्ञान सिकाउन सहयोग पुुग्ने बताउनु भयो । कार्यक्रममा विद्यालय र कक्षाकोठाको सजावट, आचारसंहिता र कक्षाकोठा नियमको पालना, सजावट र भित्तेलेखन गरी विद्यालय वातावरण आकर्षण बढाउनुका साथै सिकाइ वातावरण सहयोगी बनाउन आवश्यक रहेको औंल्याइएको छ । कार्यक्रममा अभिभावक शिक्षा र विद्यार्थी परामर्शका क्षेत्रमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश वश्याल, वेद भूतपूर्व विद्यार्थी समाजका सचिव हरिप्रसाद घिमिरेसहित २० जना शिक्षकशिक्षिका उपस्थित रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थानेश्वर भट्टराईले विद्यालयको अवस्था विश्लेषण गर्दै कार्यक्रममा औंल्याइएका पक्षहरुको पालना गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्नाका लागि प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस