मकै बालीमा फौजी किराको प्रकोपले किसान चिन्तित

मकै बालीमा फौजी किराको प्रकोपले किसान चिन्तित

सुशीला रेग्मी
रामपुर (पाल्पा), ७ जेठ
रामपुर ४ देविस्थान बस्ने मायादेवी श्रेष्ठ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित हुनुहुन्छ । हरियाली बनेको मकै खेतीमा किराले सताउन थालेपछि मेहनत र परिश्रम गरेपनि बालीमा क्षति पुगेपछि उत्पादनमा असर पुग्ने उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “करिव छ रोपनी खेतभरी मकै खेती लगाइएको छ, यस पटक बोटमा किरा लागेर हैरान पारेको छ, गतवर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीविको धान्न विभिन्न रोग र किराको समस्या निम्तिन्छ” ।
किराले सताएर मकै बाली नै सखापै पार्ने अवस्थामा रहेको कालिका कृषक समुह रामपुरका अध्यक्ष कृष्ण रानाले बताउनुभएको छ । करिव तीन हप्ता अघि देखि मकैमा किरा लागेर डाँठ, पात, गुवोँ खाएर बाली जोगाउनै मुस्किल परेको उहाँको गुनासो छ । उहाँले बाली जोगाउन विषादी छर्कने गरेपनि नियन्त्रणमा पनि आइ नसकेको बताउनुभयो ।
फौजी किराको प्रकोपले सताएर कार्यालयमा आउने किसानलाई प्राविधिक सेवा र इमामेक्टिन बेन्जोएट नामक विषादी निशुल्क उपलब्ध गराउँदै आएको बताउनुहुन्छ, रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेय । यहाँका विभिन्न ठाउँ ठाउँमा किराको प्रकोप बढीरहेको हुदा दैनिकजसो कार्यालयमा समस्या लिएर किसान आउने गरेको उहाँ बताउनुहुन्छ ।
रम्भा गाउँपालिका १ सघाहका कृषक टंकराज कडरियाले अघिल्लो वर्ष भन्दा बढी मात्रामा यसवर्ष मकैमा किरा देखिन थालेको बताउनुभयो । उहाँले करिव दश रोपनी जग्गामा मकै बाली लगाउनुभएको छ । वर्षेनी मकै खेती गर्ने उहाँ दुखसंग गरेको खेती किराको असरले उत्पादन घट्ने हुदा किसान मारमा परेको बताउनुहुन्छ ।
मकैमा फौजी किरा लाग्न थालेपछि किसानको मेहनत खेर जाने अगुवा कृषक ऋषिराम अर्यालले बताउनुभयो । बोट उम्रन थालेपछि किराले आक्रमण गरेर समस्या पार्ने भएकाले बाली नै जोगाउन सकस पर्ने उहाँको भनाई छ ।
“दुख गरेर गरेको खेती उत्पादन लिन नपाउनु किसानलाई ठूलो मार परेको छ, रम्भाको सघाहामा धेरै किसानका खेतमा लगाइएका मकैमा किराको आक्रमण छ, पानी नपरेका समय किराले बढी मात्रामा सताउँछ भने आकाशबाट पानी पर्दा केही कम हुन्छ, किराको प्रकोपले सताउन थालेकाले सूर्यमुखी खेती सुरु गरेको छु” अर्यालले भन्नुभयो ।
मकै खेतीका अलवा अन्य बालीमा पनि फौजी किराको प्रकोप देखिन थालेको छ । महामारीको रुपमा आएमा कार्यालयले आकस्मिक स्थलगत रुपमा सेवा दिने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो ।
“अहिलेसम्म ज्ञानकेन्द्रमा फौजी किराको प्रकोपबारे जानकारी आएको छैन, समस्या देखिएपछि किसानहरु आ आफ्नो पालिकाको कृषि कार्यालयमा पुग्नुभएको खबर भने हामीलाई प्राप्त छ, महामारीकै रुपमा प्रकोप देखिमा कार्यालयले जुनसुकै समय पनि सेवा दिनेछ, अहिलेको मौसम सुख्खा हुदा प्रकोप फैलिन सक्ने भएकाले सबै किसान सर्तक रहनुहोला” उहाँले भन्नुभयो ।
अघिल्लो वर्ष जस्तै मकै खेतीमा फौजी किराको संक्रमण देखिएपछि किसान चिन्तित बनेका हुन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएको किसानले बताएका छन् । यो वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ । फौजी किरा रातिको समयमा बढी सक्रिय हुने गरेको छ । किराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।
साधारणतया मकै छरेदेखि भाँच्ने बेलासम्म विभिन्न प्रकारका किराहरुले आक्रमण गर्दछन् । यस किराले मकैको पातमा लाम्चा आकारका झिल्ली मात्र बाँकी छोडेर मकैको पातलाई कोतरेर खाने गर्दछ । मकैको घोगा, पात, जुँगा र गुभोमा क्षति गर्दछ । गुभोमा काठको धुलो जस्तो किराको दिशा भेटिएमा गुभो खोलेर हेर्दा फौजी किराको लार्भा देखिन्छ । यस लार्भा धेरै खन्चुवा हुन्छ । मकै लगाएको ८ देखि १० दिनमै यसले क्षति गर्दछ, त्यसकारण पनि खेतबारीको नियमित अनुगमन गर्नुपर्ने कृषि प्राविधिक बताउँछन् ।
बालीमा रोग लाग्न नदिनका लागि माटोमा प्रकोप लाग्ने समस्यामा पहिले नै विषादी छर्नुपर्ने पर्दछ । खेतारीमा पानी जमेमा किरा नलाग्ने प्राविधिकको भनाई छ । यदी मकैमा किराले आक्रमण गरेमा त्यसको नियन्त्रणका लागि इमामेक्टिन बेन्जोएट ०.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस