पाल्पाका नाै स्थानीय तहमा ७६ नयाँ जनप्रतिनिधि गरे सपथ, शुक्रबार (आज)बाट नयाँ कार्यकाल

पाल्पाका नाै स्थानीय तहमा ७६ नयाँ जनप्रतिनिधि गरे सपथ, शुक्रबार (आज)बाट नयाँ कार्यकाल

पाल्पा, जेठ ६

पाल्पाकाे नाै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूले समथ ग्रहण गरेका छन् । जिल्लाका नाै स्थानीय तहका प्रमुख/उपप्रमुख सहित निर्वाचित ७६ वडाध्यक्ष सहितका जनप्रतिनिधिहरूकाे सपथ लिएका हुन् ।

जिल्लाकाे तानसेन र रामपुर नगरपालिकासँगै, निस्दी, पूर्वखाेला, बगनासकाली, माथागढी, तिनाउँ, रिब्दीकाेट र रैनादेवी छहरा गाउँपालिकाका जनप्रतिनिधिहरूले सपथ लिएका हुन् । रम्भा गाउँपालिकामा भने शुक्रबार बिहानबाट मतगणना हुँदैछ । रम्भा गाउँपालिकामा वैशाख ३१ गते रम्भा गाउँपालिका–५, ताहुँको मतगणना सकिएर जोड्ने क्रममा ७४ फर्जी मत भेटिएकाे भन्दै गणना कार्य स्थगित भएको थियो ।

निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । आयोगले प्रशासनलाई विशेष सुरक्षा व्यवस्था गरेर भए पनि मतगणना गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले भने जिल्ला निर्वाचन कार्यालयले कर्मचारी व्यवस्थापन गर्न लागिसकेको र कर्मचारी व्यवस्थापन हुनासाथ मतगणनाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएर मतगणना हुन्छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार रातिसम्म ६ सय बढी स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको र आज शुक्रबारबाट नयाँ जनप्रतिनिधिको सुरु भएकाे बताए । संवैधानिक व्यवस्थाअनुसार बिहीबार रातिबाटै २०७४ को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकियो, यससँगै नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल शुक्रबारबाटै सुरु हुन्छ । रिजल्ट आएका ठाउँमा शपथ गराउनू भनेर आयोगले भनिसकेको छ, केही स्थानमा शपथ भइसकेको छ, सोमबारसम्म सबै स्थानमा हुन्छ ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको परिणाम सार्वजनिक भइसकेका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको शपथ गराउन आयोगले निर्देशन दिइसकेको र केही जिल्लामा धमाधम शपथ भइरहेको पनि बताए ।

 २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ ।

संविधानको धारा २१५ को उपधारा ६ मा गाउँपालिकाको ‘अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने’ उल्लेख छ । यसैगरी, धारा २१६ को उपधारा ६ मा नगरपालिकाको ‘प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ’ भन्ने उल्लेख छ । संविधानका यी दुवै धारामा भएका व्यवस्थाअनुसार २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पदबाट बिदा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस