सुशीला रेग्मी
रामपुर (पाल्पा), वैशाख २७
आसन्न निर्वाचनमा पाल्पामा विभिन्न राजनैतिक दलका उम्मेदवारहरुले शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार लगायतका चुनावी योजना ल्याएका छन् । आफ्नो गाउँ ठाउँको विकासका लागि सबै उम्मेदवारको योजना एकै प्रकृतिका पाइन्छन् । यी योजनाहरु बिगतका निर्वाचनमा पनि जनतामाझ ल्याइएका थिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा गाउँमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी लगायतका योजना मतदाता समक्ष उम्मेदवारले सार्वजनिक गरिहेका छन् ।
नेपाली काँग्रेसबाट तानसेन नगरपालिकाको प्रमुखमा उमेदवार सन्तोषलाल श्रेष्ठले जनताले अनुभूत गर्ने गरी काम गर्दै सिंहदरवारको अधिकार घर–घर सम्म पु¥याउने बताउनुहुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, विद्युत, कृषि ,पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने चुनावी योजना छन् ।
नेकपा एमालेको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएका धनेन्द्रराज घिमिरे तानसेनलाई स्मार्ट सिटी सहितको पर्यटकीय केन्द्रविन्दु बनाएर सिङ्गो पाल्पालाई पर्यटकीय जिल्ला बनाउने योजना जनतामाझ ल्याउनुभएको छ । एमाले उम्मेदवारहरुले तानसेनका १४ वटै वडाबाट अधिकतम सेवा प्रदान गरी नागरिक लाई घरदैलो सेवा प्रदान गर्ने जनाएका छन् ।
वडाबाटै योजना सम्झौता, अनुगमन मुल्याङकन तथा बजेट निकास गर्ने, कृषि उत्पादन बढाउन, सबै किसिमका कृषि उत्पादनमा अनुदानको व्यबस्था गर्ने, श्रीनगरडाँडामा सेनकालीन ऐतिहासिक दरवार पुनःनिर्माण गर्ने, ठाउ ठाउमा सुन्दर पार्क निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने एमाले तानसेनको योजना छन् ।
नेपाली काँग्रेसको तर्फबाट रामपुर नगरपालिकाको प्रमुखका उम्मेदवार रमणबहादुर थापा पाँच वर्षमा नगरपालिकामा विकास निर्माणका क्षेत्रमा राम्रो कार्य गरेको र केही अधुरा कामलाई पुरा गर्ने अठोटका साथ निर्वाचनमा होमिनुभएको छ । यहाँको भौतिक पूर्वाधार, पर्यटन विकास, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि लगायतका क्षेत्रमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उप्रप्रमुखकी उम्मेदवार बालकुमारी थापाले रामपुर क्षेत्र भित्रका महिला तथा अल्पसंख्यक पिछडिएको वर्ग तथा समुदायको उत्थानका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो ।
नेकपा एमालेको तर्फबाट रामपुर नगर प्रमुखका उम्मेदवार शिव अर्यालले युवा शक्तिलाई विकास संग जोड्ने बताउनुभएको छ । अर्यालले १०८ बुदे प्रतिबद्धता पत्रमा जनतामाझ ल्याउनुभएको छ । नगरको शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार, पर्यटन, डिजिटल रामपुर, कृषि पशुपालन, खेलकुद विकास, पुर्वाधार निर्माण, खानेपानी सिंचाई, यातायात सडक लगायतको प्रतिबद्धता पत्रमा समेटेका छन् ।
उपप्रमुख पदका उम्मेदवार दुर्गादेवी रानाले स्थानीय स्तरमा आउने विभिन्न मुद्दालाई निक्र्यौल गरी स्थानीय स्तरमै समाधान गरी बाहिर जानुपर्ने र लाखौं रुपैंया खर्च गरेर बर्षौ सम्म मुद्दाका लागी धाउनुपर्ने बाध्यता हटाउने प्रण गर्नुभयो । उहाँले महिलाहरुको हकहित र अधिकारसँगै नेतृत्व तहमा पुगेर काम गर्न उम्मेदवारी दिएको बताउनुभयो ।
निर्वाचनमा उम्मेदवार बनेकाहरू आफु जनताको सेवक बन्ने प्रण गरेका छन् । मतदाताहरुसँग भेटघाटमा व्यस्त उम्मेदवारहरुले आफु मालिक नभई जनताको सेवक बन्ने साझा प्रण गरेका हुन् ।
माथागढी गाउँपालिका काँग्रेसबाट पालिका अध्यक्षको उम्मेदवार सन्तोष थापा मगरले पाँच वर्ष जनताकै सेवामा समर्पित भएको र अबपनि जनताकै सेवक बनेर काम गर्ने बताउनुभयो । फेरी पनि जनताले विश्वास गरेकाले अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “पालिकामा धरै विकास र समृद्धिका क्षेत्रमा काम गरेका छौं, केही सम्पन्न भएका छन् भने केही काम बाँकी रहेका तिनलाई पुरा गर्न, माथागढीलाई देशकै नमूना पालिका बनाउने काम गर्छौ” ।
उपाध्यक्षका उम्मेदवार विजया भट्टराईले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । माथागढी ४ झडेवाका कांग्रेसका वडा अध्यक्षका उम्मेदवार मधु पराजुलीले घरदैलोमा पुग्दा जनताको उत्साहजनक समर्थन पाएको बताउनुभयो । बगनासकाली गाउँपालिकामा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेकी सुनिता अधिकारीले जनताको हरेक समस्यामा सारथी बन्ने प्रण गर्नुभएको छ । उहाँले पनि पालिकाको विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, कृषि, महिला सशक्तिकरणको विकास हुनु आवश्यक रहेको बताउनुभयो । ––