मतदाता भन्छन्ः हाम्रालाई होइन राम्रालाई रोजौँ

मतदाता भन्छन्ः हाम्रालाई होइन राम्रालाई रोजौँ

सुशीला रेग्मी
रामपुर (पाल्पा), वैशाख २७

स्थानीय तहको निर्वाचनले मुलुक निर्वाचनमय बनेको छ । आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिदै जादा विभिन्न दलका उम्मेदवारहरु आफ्नो पक्षमा मतदान गर्न मतदाताको घरदैलोमा पुगेका छन् । मतदाता भने विकासप्रेमी, सक्षम उम्मेदवारलाई मतदान गर्ने पक्षमा छन् ।
बिगतका निर्वाचनमा कुनै राजनैतिक दलको पक्षमा रहेर मतदान गरेका मतदाता अब गाउँको विकासका लागि दलगत स्वार्थ भन्दा माथि रहेर काम गर्ने उम्मेदवारलाई छनौट गरी मतदान गर्ने बताउँछन् । विभिन्न राजनैतिक दलका उम्मेदवारहरु आफ्नो पार्टीको पक्षमा मतदान गर्न गाउँमा आउने गरेपनि उम्मेदवार हेरेर मात्रै मतदान गर्ने बताउनुहुन्छ, रामबहादुर राना ।
“गाउँमा विकास हुनुप¥यो, हामी जनताले विकास अभावमा निकै समस्या भोग्नु परेको छ, अब पनि हामी पार्टी भन्दा माथि उठेर हाम्रालाई होइन राम्रालाई रोज्नुपर्छ, यसो गरिएन भने विकासले गति लिन सक्दैन, हामीलाई चाहिएको विकास हो” उहाँले भन्नुभयो ।
चुनावको सरगर्मीले यतिबेला बाटो ,सभा–समारोह, धनी–गरिबका घरदेखी चिया पसल र विभिन्न समाजिक संजालमा सक्षम र योग्य उम्मेदवारको पक्षमा मतदान गर्ने सम्बन्धमा मतदाताले आफ्ना विचार राखिएका छन् । गाउँघरमा नागरिक शिक्षित र सचेत हुदै जादा कुनै दलको पार्टी कार्यकर्ता भएर मतदान गरेका नागरिक अब सक्षम र योग्य उम्मेदवारलाई मतदान गर्नुपर्ने उनीहरुको तर्क चलिरहेको छ ।
मतदाता आफै हाम्रालाई होइन, राम्रालाई मतदान गर्न चुनावी प्रचारप्रसार गर्न थालेका छन् । राजनीतिक दलले आ–आफ्नै ढङ्गले गाउँघरमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम गरेपनि यहाँका मतदाता भने गाउँ छिमेकमा हाम्रालाई नहेरी राम्रालाई मतदान गर्न चुनावी माहोलमा जुटेका छन् ।
राम्रा व्यक्तिलाई मतदान गर्ने अधिकार मतदातालाई छ । कसैको पनि प्रलोभनमा नपरी आफूले योग्य ठानेको राम्रा व्यक्तिलाई मतदान गरियो भने गाउँमै सबै कुराको सुख सुविधा हुने ज्येष्ठ नागरिक तिलकुमारी उपाध्याय बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “यसभन्दा अघि पनि धेरै पटक मतदान गरियो, यहाँबाट निर्वाचन जितेपछि नेताहरु शहर पस्ने गर्दा गाउँको विकास भएन, अहिले स्थानीय सरकार आएपछि विकासको ढोका खोलिएको छ, अबको निर्वाचनमा जनताको मन जितेर काम गर्ने उम्मेदवारलाई मतदान गर्नेछौँ” ।
साँच्चै गाउँको विकास चाहने हो भने पार्टी नहेरी व्यक्ति हेरेर भोट हाल्ने मतदाताले ‘हाम्रालाई होइन राम्रालाई रोजौँ’ यी बिषयमा जान्नु र बुझ्नु आवश्यक रहेको उनीहरु बताउँछन् । नेतृत्व सम्हालेपछि कतिपयले आफ्ना कार्यकर्तालाई मात्रै विभिन्न योजनाका काम सुम्पने, उपभोक्ता समितिमा आफू निकटका व्यक्तिलाई स्थान दिदा गाउँमा सोँचे अनुसारको काम नभएको युवा प्रदिप पाण्डेयले बताउनुभयो ।
“निर्वाचनमा कुनै दलको उम्मेदवार भएपनि चुनाव जितेपछि सबैको साँझा व्यक्ति बन्नुपर्छ, सबैलाई समेटेर लैजान सक्ने नेतृत्वको खाँचो छ, विकास निर्माण तथा विभिन्न योजनाका काममा आफू निकटका व्यक्ति, कार्यकर्तालाई मात्रै समेट्दा काममा पारदर्शिता पनि हुदैन” उहाँले भन्नुभयो ।
निर्वाचनको समय अगावै मतदाता समक्ष विभिन्न आश्वासन बाढ्ने र नेतृत्वमा पुगेपछि सो आश्वासन पुरा नगर्ने परिपाटी नेतृत्वमा छ । यहाँका मतदाताले झुट्टा र बोलेका कुरा पुरा गर्न नसक्ने आश्वासन नदिन अनुरोध गरेका छन् ।
सामान्य भौतिक पूर्वाधार पनि खडा हुन नसकेको गाउँमा विदेशी देशसँग तुलना गरेर विशाल सहर बनाउने योजना लिएर चुनावका बेलामात्र मतदातासँग हात नजोड्न उनीहरुको अपिल छ । चुनाब नजिकिदै गर्दा र यस सम्बन्धी माहोल खडा भइरहदा गाउँ–गाउँमा मुखले राम्रोको पक्षमा भाषण गरेको देखाउँदै जनतालाई भोज भतेर देखि विभिन्न प्रलोभनमा पार्दै हम्रालाई जिताउन विभिन्न दलका नेता कार्यकर्ताहरु कम्मर कसेर लागेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस