राहत रकम पाउँदा उत्साहित छन् रामपुरका महिला

राहत रकम पाउँदा उत्साहित छन् रामपुरका महिला

–सुशीला रेग्मी
रामपुर (पाल्पा), वैशाख २४

रामपुर नगरपालिका –८ एक्लेटार बस्ने सीता अर्याल घरेलु हिंसाको सिकार बन्नुभएको छ । उहाँका १७ र १५ वर्षका दुई छोरा छन् । यी छोराको शैक्षिक खर्च व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ।
श्रीमान्को चरम यातना भोग्दै आउनुभएकी अर्याललाई रामपुर नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष अन्तर्गत रु दश हजार रकम प्रदान गरेको छ । खाद्यान्न व्यवस्थापन, कानुनी सहायताका लागि सो रकम बुझेपछि उहाँ खुशी हुनुहुन्छ ।
“केही भएपनि दुखको अवस्थामा पाएको रकमले ठूलो राहत मिलेको छ, सो रकम छोराको पढाईमा खर्च गर्छु, हामीजस्ता घरेलु हिंसामा परेका महिलालाई यस्ता सहयोगले आत्मबल बढाएको छ, सीपमुलक कार्यक्रम पाएमा हामी आफै स्वावलम्बी बन्ने थियौँ” उहाँले भन्नुभयो ।
दुई छोराको पालनपोषण, शैक्षिक खर्च जुटाउन उहाँलाई समस्या छ । दुई दशक अघि विहे गर्नुभएका अर्यालले केही समय सम्म श्रीमान्को यातना सहेर बस्नुभयो । अहिले भने उहाँ न्यायका लागि रामपुर नगरपालिकाको न्यायिक समिति समक्ष गुहार मागिरहनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “जागिर केही पाइयो भने छोराहरु पढाउने खर्च जोहो हुन्थ्यो, श्रीमान्ले देख्नै हुदैन यातना दिइरहन्छन्, गाउँमा केही रोजगार पाए गर्छु, नत्र विदेश नै भएपनि जानुप¥यो” ।
रामपुर –२ तिलिङ्डाँडा बस्ने सरस्वती थापालाई नगरपालिकाले रु १२ हजार रकम सहयोग गरेको छ । खाद्यान्न व्यवस्थापन, बालबालिकाको शिक्षा सहजता, कानुनी सहायता बापत सो रकम नगरले उहाँलाई प्रदान गरेको हो । जेठो छोराको कान नसुन्ने समस्या छ भने कान्छो छोरा अशक्त छन् । थापालाई दुई सन्तानको पालन पोषण कसरी गर्ने भन्ने चिन्ताको भारी छ ।
“परिवारमा कमाएर देला भन्ने कोही छैन, आफूलाई पालनपोषण गर्लान् भनेको त दुई जना छोरा शारीरिक अशक्त हुदा आफै खट्नु परेको छ, समस्यामा परेको बेला स्थानीय सरकारले गरेको सहयोगले ठूलो खुशी थपिएको छ” उहाँले भन्नुभयो ।
सोही ठाउँकै बेलिसरा थापाले रु आठ हजार रकम बुझेपछि उहाँ औधी खुशी हुनुहुन्छ । दुई पैसा कमाएर दिने कोही नभएको बेला नगर सरकारले दिएको रकमबाट हर्षित् हुनुहुन्छ । सो रकम पाउँदा केही दिन भएपनि विहान साँझ सजिलो संग गुजारा चलाउन सजिलो पर्ने उहाँले बताउनुभएको छ ।
थपा आठ वर्ष अघि श्रीमान्को मृत्यु भए पश्चात् तीन छोराछोरीको साथमा हुनुहुन्छ । परिवारमा कमाउने सदस्य नहुदा विहान साँझकै दैनिक गुजाराकै समस्याले उहाँलाई सताइरहेको हुन्छ । नगर सरकारले गरेको सहयोगले दुखमा परेका नागरिकलाई जीवन जीउँन हौसला मिलेको उहाँले बताउनुभयो ।
रामपुर –६ तिलकपुर बस्ने ३० वर्षीय सरिता कुमाललाई दैनिक छाँक टार्नै अप्ठ्यारो छ । श्रीमान् बेपत्ता भएपछि दुई छोराछोरीको अभिभावकत्व बहन गर्दै आउनुभएकी कुमाललाई नगरपालिकाले खाद्यान्न तथा बालबालिकालाई पोषण व्यवस्थापनका लागि रु आठ हजार रकम उपलब्ध गराएको छ ।
उहाँ आफैपनि कान नसुन्ने र स्पष्ट संग आवाज निकालेर बोल्न नसक्ने हुनुहुन्छ । तैपनि दुई सन्तानको पालनपोषणको जिम्मेवारी उहाँको काँधमा छ । छोराको पनि आँखा नदेख्ने समस्या छ । नगरपालिकाबाट प्राप्त गरेको रकमले छोराको औषधी उपचार र खाद्यान्नमा खर्च गर्ने उहाँ बताउनुहुन्छ ।
रामपुर नगरपालिकाले अति विपन्न वर्गका लैङ्गिक हिंसा पिडित व्यक्तिको अवस्था हेरेर राहत रकम उपलब्ध गराएको हो । खाद्यान्न तथा बालबालिकालाई पोषण व्यवस्थापन, शिक्षा सहजता, कानुनी सहायता, औषधी उपचार खर्चका लागि यस आर्थिक वर्षमा २६ जना महिलालाई रु दुई लाख १७ हजार रकम उपलब्ध गराएको महिला बालबालिका तथा सामाजिक विकास शाखाका सहायक महिला विकास निरिक्षक पुजा परियारले बताउनुभयो ।
गत आर्थिक वर्षमा पनि सोही शीर्षकमा सात जना महिलालाई रु एक लाख बराबरको राहत रकम प्रदान गरिएको छ । घरेलु हिंसाको सिकार, श्रीमान्ले दोस्रो विवाह गरेका खाद्यान्न, औषधी उपचार, बालबालिकाको पठनपाठनमा दुख भोगेका, आर्थिक अवस्था कमजोर भएकालाई नगरपालिकाले दशवटै वडा वडाबाट सिफारिस भएर आएका महिलालाई राहत रकम सहयोग गरिएको सहायक महिला विकास निरिक्षक सिर्जना रेग्मी बताउनुहुन्छ ।
घरेलु हिंसामा परेका, दुख पाएका, विहान साँभmको जोहो गर्नै नसक्ने अवस्थामा रहेका महिलालाई लैङ्गिक हिंसा निवारण कोष खडा गरेर गत वर्ष देखि नै आर्थिक सहयोग गर्ने गरिएको कार्यवाहक नगर प्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस