पाल्पाका उम्मेदवारहरु घरदैलोमा व्यस्त

पाल्पाका उम्मेदवारहरु घरदैलोमा व्यस्त

सुशीला रेग्मी
रामपुर (पाल्पा), वैशाख २४

आसन्न वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवाहरु यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । चुनावको मिति नजिकिदै गर्दा विभिन्न दल निकटका उम्मेदवार, नेता, कार्यकर्ता प्रचार प्रसार कार्यमा खटिएका छन् । मतदातालाई आफ्नो पक्षमा मतदान गर्न विभिन्न विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजना लिएर घरदैलो गरिरहेका छन् ।
पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामा मुख्य दल र उम्मेदवार भोट माग्दै गाउँ, टोल र घर घरमा पुगिरहेका छन् । उम्मेदवारहरु घर आगँनमा आउँदा र उनीहरुका योजना सुन्दा मतदातालाई केही गर्छन् कि अब जस्तो पनि लाग्छ । तर विगतका अभ्यास सम्झदा प्रायजसो उम्मेदवार चुनावमा मत माग्न मात्रै आउने र त्यसपछि निर्वाचित भएर गएपछि जनताको दुख नबुझ्ने गरेको सरस्वती सोमै बताउँनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “बिगतका निर्वाचनमा उत्साहका साथ सहभागी भएर मतदान गरियो, जनताको दुखमा निर्वाचन जितेर गएपनि नेतृत्वले चासो नदिने प्रवृत्ति छ, हामीलाई झुट्टा आश्वासन चाहिदैन, उम्मेदवारले आफूले जति काम गर्न सक्नुहुन्छ, त्यतीमात्रै हामीमाझ योजना ल्याउनुप¥यो, उम्मेदवारले निर्वाचन जितेर गएपछि आफू बोलेका कुरा पूरा गर्नुपर्छ” ।
चुनावमा मतदातालाई विश्वस्त पार्दै आफ्ना योजना सुनाउने माध्यम घरदैलो हो । त्यसले मतदाता र उम्मेदवारलाई एक ठाउँमा पनि जुटाउँछ । मत चाहिँदा घर बस्तीमा पुग्ने तर निर्वाचनपछि आश्वासन पुरा नगर्ने र मतदातालाई विर्सने राजनीतिक प्रवृत्तिप्रति आमनागरिकमा असन्तुष्टी छ ।
गाउँमा विकास नहुदा स्थानीयहरु शहर बजारमा बसाइसराई जाने क्रम बढेको छ । शिक्षा, स्वास्थ्य, सडक, बिद्युत्, सिंचाई, खोनेपानी जस्ता सुबिधालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुहुन्छ, रामपुरका युवा दिपेन्द्र भट्टराई ।
“रामपुरको वास्तविक समस्या पहिचान गर्नुप¥यो, समग्रमा रामपुरलाई विकास गरी नमुना रामपुर बनाउनुपर्छ, रामपुरको समग्र विकासका लागि अहोरात्र खट्ने असल नेतृत्व आवश्यक रहेको छ” उहाँले भन्नुभयो ।
रामपुर पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर (सूस्ता पूर्व नवलपरासी) को केन्द्र पर्छ । यसकारण पनि शिक्षा, स्वास्थ्य, रोजगार जस्ता जनमुखी कार्यक्रम नै आजको आवश्यक रहेको उहाँको भनाई छ ।
बिगतका निर्वाचनलाई हेर्दा मतदाता यस पटक भने सक्षम, योग्य र विकासप्रेमी उम्मेदवारलाई मतदान गर्ने बताउँछन् । आफ्नो गाउँ ठाउँलाई विकास गरी समृद्ध र नमुना बनाउने सङ्कल्प त सबै दलका उम्मेदवारले ल्याएकै छन् ।
उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचार सामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा भ्याईनभ्याई छ ।
आसन्न निर्वाचनका लागि पाल्पामा तानसेन नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार सन्तोषलाल श्रेष्ठ, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रतिक्षा सिंजाली, नेकपा एमालेका प्रमुख पदका उम्मेदवार धनेन्द्रराज घिमिरे, उपप्रमुख पदका उम्मेदवार शशि श्रेष्ठ लगायतका वडा अध्यक्ष, वडा सदस्यहरु चुनावी प्रचारमा व्यस्त छन् । यहाँका उम्मेदवारले तानसेनलाई पर्यटकिय शहर, खानेपानी, फोहोरमैला व्यवस्थापन लगायतका चुनावी योजना बनाएका छन् ।
रामपुर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदका उम्मेदवार रमणबहादुर थापा, उपप्रमुख पदका उम्मेदवार बालकुमारी थापा, नेकपा एमालेको तर्फबाट नगर प्रमुख उम्मेदवार शिव अर्याल, उपप्रमुख उम्मेदवार दुर्गादेवी राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगर प्रमुखका उम्मेदवार राजेन्द्र ढकाल, उपप्रमुखका उम्मेदवार गायत्री न्यौपाने जनताको घर घरमा मत माग्न व्यस्त हुनुहुन्छ ।
उम्मेदवारले रामपुर नगरलाई पर्यटकीय नगर, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, सडक सुबिधा लगायतका चुनावी योजना मतदाता समक्ष प्रस्तुत गरिरहेका छन् । एकवर्ष भित्रमा रामपुर नगरलाई हिलोरतिह नगर, स्वरोजगार कार्यक्रम, कृषिमा एक नगर एक बिशेष उत्पादन कार्यक्रम, नगरपालिका भित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको विकास, एक वडा एक उद्यान, हवाई मैदान निर्माण जस्ता योजना रहेको छ ।

नगरवासीको जीवनस्तरमा सुधार र नगरपालिकाको समग्र विकास गरी नागरिकको जीवनस्तर उकास्ने खालका कार्यक्रम, रामपुरलाई समृद्ध बनाउने योजनासहित आफूहरु चुनावी मैदानमा उत्रिएको नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखका उम्मेदवार रमणबहादुर थापा बताउनुहुन्छ ।
“घोषणा पत्रमा भएका सबै योजनालाई पाँच वर्षमा पूरा गर्नेछौँ, २०७४ को निर्वाचनमा पनि मलाई नेपाली कांग्रेसको तर्फबाट यहाँका मतदाताले नगर प्रमुख पदमा विजयी गराउनुभयो, पाँचवर्षको अवधीमा हामीले घोषणा पत्रअनुसार ९० प्रतिशत काम सम्पन्न गरेका छौ” उहाँले भन्नुभयो ।
कोभिड १९ को असरले काममा केही बाधा पारेपनि अब निर्वाचित भए पश्चात नगरमा पाँचवर्षमा भएका काम दुई वर्ष भित्रमा सम्पन्न गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । फरक–फरक राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको बढ्दो चहलपहलका कारण मतदाताहरु पनि कुन दलका एजेन्डा ठीक र कुन दलका एजेन्डा बेठीक भन्ने पत्ता लगाउन सक्ने स्थितिमा पुगेको घरदैलोमा पुगेका उम्मेदवारहरुको भनाई रहेको छ ।
नेकपा एमालेका तर्फबाट नगर प्रमुखका उम्मेदवार शिव अर्यालले डिजिटिल रामपुरको अवधारणा ल्याउनुभएको छ ।
“रामपुर नगरको केन्द्र देखि टाढा रहेका वडाका नगारिकलाई अब केन्द्र धाउने होइन, वडाबाटै घरमै बसी बसी सेवा उपभोग गर्न पाउने गरी डिजिटल अवधारणा ल्याइएको छ, आफू नगर प्रमुख पदमा निर्वाचित भएमा नमुना डिजिटल रामपुर बनाउने सङ्कल्प छ” उहाँले भन्नुभयो ।
स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, कतिपय वडा कार्यालय भाडामा सञ्चालन भएको हुदा त्यसको व्यवस्थापन गरी सहज सेवा दिने, प्रत्येक वडा वडामा एम्बुलेन्स सेवा सञ्चालन गरेर प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने अर्यालको योजना छ । रामपुरमा भए गरेका अधुरा कामलाई पुरा गरी अबको पाँचवर्ष भित्रमा समुन्नत र नमुना नगर बनाउने योजना सहित उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा दौडधुपमा छन् ।
उम्मेदवारहरुले आफूले जितेपछि विकासका पूर्वाधारहरुको स्तरोन्नती गर्ने भन्दै भोट दिन मतदातालाई अपिल गरिरहेका छन् । अधिकांश उम्मेदवारले सामाजिक सञ्जाललाई व्यापक उपयोग गरेको पाइएको छ । घरदैलोको अलवा सामाजिक संजालमार्फत मत मागिरहेका छन् । एकातिर अधिकांश उम्मेदवारहरूलाई आफ्नै दलभित्रको आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्नुपर्ने चुनौती छ । अर्कोतिर जित हात पार्नका लागि मतदाताको विश्वास जित्नैपर्ने भएकाले घरदैलो गर्नेपर्ने बाध्यता छ ।
२०७४ को निर्वाचनपछि हुन लागेको यस निर्वाचनले छुट्टै महत्व र विशेषता राख्ने विश्वास गरिएको छ । अघिल्लो निर्वाचनभन्दा यस पटकको स्थानीय तहको निर्वाचनले स्थानीय आवश्यकता, स्थानीय मागको सम्बोधन गर्ने अपेक्षा गरिएको छ । २०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलले स्थानीय नागरिकलाई बांँडेका आश्वासन कत्तिको पूरा भए, भएनन् ? राजनीतिक दलले घोषणा गरेअनुरूपका घोषणापत्रमा उल्लिखित कार्य कत्तिको पूरा भए–भएनन् सोको समेत लेखाजोखा यो निर्वाचनले अवश्य गर्नेछ । यस पटकको निर्वाचनमा आमनागरिकले पार्टी नहेरी योग्य र सक्षम उम्मेदवारलाई मतदात गर्ने पक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस