रैनादेवीलाई ग्रामीण पर्यटन र सीप विकासका माध्यमबाट चिनाउन सकिन्छः अध्यक्ष उम्मेदवार भट्टराई

रैनादेवीलाई ग्रामीण पर्यटन र सीप विकासका माध्यमबाट चिनाउन सकिन्छः अध्यक्ष उम्मेदवार भट्टराई

पाल्पा, वैशाख २०
रैनादेवी छहरा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रुक्मागत भट्टराईले ग्रामीण पर्यटन आन्तरिक स्रोत प्रवद्र्धन गर्ने, ग्रामीण रोजगारी प्रवद्र्धन, सीप विकास तथा आधुनिक कृषिका माध्यमबाट गाउँपालिकाको विकास गर्न सकिने बताउनुभएको छ । नेपालमा बजेट विनियोजन हुने तर त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै विज्ञ टोलीसँगको परामर्शमा दीर्घकालिन योजना अनुसार कार्य गर्ने,, ग्रामीण पर्यटनमा विभेदरहित ढंगबाट कार्य गर्न सकिने बताउनुभएको हो ।

लामो समय प्रशासनिक क्षेत्रमा काम गर्नुभएका रुक्मागत भट्टराई यति बेला रैनादेवी छहरा गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । ३२ वर्ष प्रशासनिक क्षेत्रमा विभिन्न तह र तप्कामा काम गर्नुभएका भट्टराईले रैनादेवी छहरामा कृषि, पर्यटन र आन्तरिक स्रोत व्यवस्थापनमा अब्बल तुल्याउने बताउँदै चुनावी मैदानमा होमिनुभएको छ ।

पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेस क्षेत्र नं. २ ख का सभापति समेत रहेका भट्टराईले रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । उहाँ रैनादेवी छहरा गाउँपालिका क्षेत्रको छहरा, सिद्धेश्वर, सोमादी, भुवनपोखरी, जुठापौवा, फेक र झिरुबासको साविक गाविस कार्यालयमा गाविस सचिवका रुपमा कार्य गरिसक्नुभएको व्यक्ति हो । यस्तै जिल्ला मालपोत कार्यालय तथा यातायात सेवा कार्यालयमा समेत कार्य गरेको व्यक्ति किन राजनीतिमा होमिनुभयो भन्ने प्रश्नमा जनताको अप्ठ्यारो र पीर मर्का बुझेर काम गर्न सक्ने क्षमता भएकै कारण चुनावी मैदानमा उत्रिनुपरेको बताउनुहुन्छ । द्धन्द्धकालको समयमा २०५६ सालमा जिल्लाकै पहिलो अपहरणमा पर्ने कर्मचारी ह्ुनुहुन्छ ।
नेपालमा कोरोना महामारीको समयमा कोभिड प्रभावितहरुलाई राहत व्यवस्थापन, पिसिआर तथा एन्टिजेन परीक्षणमा समेत सहयोग गरि चर्चा कमाउनुभएका भट्टराईले विकास निर्माणका कामलाइ अगाडी बढाउन सके जनताले समृद्धिको अनुभूती गर्न सक्ने बताउनुहुन्छ । जनताले विश्वास गरि विजयी बनाउँदा शिक्षा, स्वास्थ्यसँगै वैदेशिक रोजगारीमा गएका युवाहरुलाई गाउँमै रोजगारी सिर्जना गर्न सक्ने कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । जेष्ठ नागरिकहरुलाई घरदैलोमै सेवा प्रवाह गर्ने, रैनादेवी गोखुङ्खा, सिद्धेश्वर, भुवनपोखरी तालपोखरा लगायतका क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता समेत अध्यक्ष पदका उम्मेदवार भट्टराईको रहेको छ ।

प्रतिक्रिया दिनुहोस