विदेशीएका युवाको लोभलाग्दो तरकारी खेती

विदेशीएका युवाको लोभलाग्दो तरकारी खेती

सुशीला रेग्मी
रामपुर (पाल्पा), ७ वैशाख
सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नु भन्दा तरकारी लगाएर दुई चार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले उहाँले तरकारी खेती सुरु गर्नुभयो ।
तरकारी बालीमा मलको व्यवस्थापनका लागि कुखुरापालन व्यावसाय पनि संगै संगै अगाडी बढाउनुभयो । सामान्य अन्नबाली उब्जाउ हुने खेतलाई मलजल गर्दै जादा अहिले सोही जग्गाले दैनिक आयआर्जन बढाएको छ ।
काम र दामको खोजीमा मेगराज करिव तीन वर्ष कतारमा बस्नुभयो । विदेशबाट गाउँ फर्केर कृषि व्यावसाय थालनी गर्नुभएका न्यौपाने अहिले सफल कृषकका रुपमा कहलिनुभएको छ । उहाँको कृषि कार्य हेर्दा लोभलाग्दो छ ।
रामपुर नगरपालिका ७ बहखोलामा करिव छ रोपनी जग्गा रु दुई लाखमा बन्दक लिएर व्यावसाय चलाउनुभएको छ । न्यौपानेको फार्ममा यतिबेला करेला, घिरौला, लौका, साग, फर्सी, बोडि, सिमि, भेण्टा, खुर्सानी लगायतका तरकारी बाली छन् । हाल बजारमा करेला र घिरौला प्रतिकिलो रु १२०, लौका ७०, काक्रा ५० मा धमाधम बिक्रि भइरहेको उहाँले बताउनुभयो । तरकारीको व्यापार राम्रो हुदा बजारको माग थेग्नै नसकिएको बताउनुहुन्छ ।
“तरकारी खेतीबाट राम्रो सफलता मिलेको छ, खेतभरी हरियाली फलेका तरकारी देख्दै मन आनन्दित हुन्छ, तरकारी बेचेर दाम बुझ्दा एकछिन खाली बस्नै मन लाग्दैन, आफ्नै माटोमा कृषिबाट राम्रै कमाउन सकिने रहेछ” उहाँले भन्नुभयो ।
बेमौसमी तरकारी बजारको माग अनुसार पु¥याउन नसकिएको उहाँको भनाई छ । दिनमा बढीमा एक सय ५० किलोसम्म तरकारी बिक्रि गर्नुहुन्छ । यसैबाट खर्च कटाएर रु पाँच लाख वार्षिक आम्दानी लिने गरेको मेगराज बताउनुहुन्छ । मेहनत गरियो भने दाम कमाउन समस्या नभएको उहाँको भनाई छ ।
‘विदेश गए धेरै दिन बसीन, किन बेच्नु रगत र पसिना’ पशुपति शर्माले गाएको यो गीतले भनेझै मेगराजले आफ्नै माटोमा पसिना बगाएर कमाएको धन हातमा बुझ्दा आनन्द लाग्ने गरेको अनुभव सुनाउनुभयो ।
उहाँ भन्नुहुन्छ, “विदेशमा काम गर्न दुःख छ, अर्काको अधिनमा बसेर काम गर्नुपर्ने बाध्यता छ, यहाँ परिवार संगै बसेर काम गरेका छौँ, दिनहुँ तरकारी बेचेर पैसा हात परिरहन्छ, राम्रो गरेपछि सबैले सम्मान गर्नुहुन्छ, मलाई त अहिले विदेशको बसाई सम्भmदा पश्चाताप लागिरहेको छ” ।
कुनैपनि तालिम नलिइकन व्यावसाय गर्नुभएका मेगराजले अहिले काम गर्दै जादा यसबाट धेरै अनुभव बटुल्नु भएको छ । व्यवस्थित थाक्रो नहुदा कहिलेकाँही सामान्य हावाहुरीले तरकारीलाई असर पारेको उहाँ बताउनुहुन्छ । केही दिन अघि आएको हावाहुरीका कारण करिव दुई रोपनी क्षेत्रफलमा लगाएको सिमी र लौकामा क्षति पु¥याउँदा करिव रु एक लाख बराबरको क्षति पुगेको छ ।
यो व्यावसायमा श्रीमती तुलसा न्यौपानेले सघाउँदै आउनुभएको छ । तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने, बजारमा बिक्रि गर्न भ्याई नभ्याई छ, यसरी नै हाम्रो दिनचर्या बित्ने गरेको तुलसाले बताउनुभयो ।
“खेतभरी लगाएका तरकारी बाली अवलोकन गर्न बेला बेलामा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, कर्मचारी, उच्च ओहोदामा कार्यरत व्यक्ति आउनुहुन्छ, कृषिमा राम्रो गरियो भने सबैसंग चिनिने अवसर पाउँदा व्यावसायमा उत्साह थपिएको छ” उहाँले भन्नुभयो ।
स्थानीय निकायबाट सहयोग पाएमा व्यावसाय बढाउने सोँच छ । आफ्नै नाममा जग्गा नहुदा नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममा समावेश हुन नपाएको मेगराजको गुनासो छ । रामपुर नगरपालिकाको नमुना, अवलोकनयोग्य व्यावसाय रहेको र कृषिमा पछिल्लो समय यहाँका युवाको आकर्षण बढेको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस