मातृसेवा प्रतिष्ठानद्वारा कास्कीका विद्यार्थीलाई छात्रवृत्ति

मातृसेवा प्रतिष्ठानद्वारा कास्कीका विद्यार्थीलाई छात्रवृत्ति

पोखरा, चैत २३

मातृसेवा प्रतिष्ठान नेपालले कास्कीका थप ४९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि ‘कर्मभूमि छात्रवृत्ति’ वितरण गरेको छ ।

पोखरामा मंगलबार आयोजित समारोहमा प्रमुख अतिथि ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजरोग प्रशिक्षण केन्द्र नेपालका निर्देशक ब्रम्हाकुमारी परणिता, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं पूर्व मन्त्री हरि पाण्डे, प्रतिष्ठान उपाध्यक्ष तुलसा पाण्डे, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचकलगायतले विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरेका हुन् । प्रतिष्ठानले गत वैशाखमा पनि जिल्लाका पाँचै पालिकाका गरी १ सय २५ जना विद्यार्थीलाई झण्डै ४० लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको थियो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष समाजसेवी हरि पाण्डेले छात्रवृत्तिको सदुपयोग गरी स्वास्थ्य, विचार र सम्पत्तिलाई जोड दिंदै राष्ट्रको लागि योग्य नागरिक बन्न विद्यार्थीलाई सुझाए । २०३५ सालमा पहिलोपल्ट पोखरा प्रवेश गरेको स्मरण गर्दै उनले आफू अहिलेको अवस्थामा आइपुग्न कही न कही समाजको भूमिका रहेको भन्दै छात्रवृत्ति वितरण अभियानलाई निरन्तरता दिएको बताए । जन्मभूमि पाल्पामा पनि उनले यसअघि १ सय ४ विद्यार्थीलाई ‘रम्भादेवी छात्रवृत्ति’ प्रदान गरेका थिए । छात्रवृत्ति आफ्नै परिवारको प्रयासमा सुरु भएको कुनै पनि दाताको सहयोग नरहेको बताए ।

गरिब तथा जेहेनदार विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि प्रतिष्ठानले नियमित रुपमा छात्रवृत्ति वितरण गर्दै आएकोमा हालसम्म देशभरका गरी ६ सय जना विद्यार्थी लाभान्वित भएका छन् । मंगलबार कुल ९ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको हो ।

कार्यक्रममा ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजरोग प्रशिक्षण केन्द्र नेपालका निर्देशक ब्रम्हाकुमारी परणिता, ब्रम्हाकुमारी अप्सरा, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक, पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरे लगायतले बोलेका थिए । सो अवसरमा व्रह्मकुमारी अप्सराले ईश्वरीय प्रवचन दिएकी थिइन् ।

मंगलबार छात्रवृत्ति पाउनेमा कास्कीका बराह मावि भेडाबारी, आनन्दज्योति मावि लेखनाथ, शुक्रराज मावि पुम्दीभुम्दी, गण्डकी बहुप्राविधिक शिक्षालय, अन्नपूर्ण बहुप्राविधिक शिक्षालय पाउदुर र रामकोट मावि लेखनाथमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थी हुन् ।

प्रतिष्ठान उपाध्यक्ष तुलसा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार खेम सारुले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस