नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पा रिब्दीकाेट गाउँपालिकाका कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् गत माघ १७ गते बसेको बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो । नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो ।
रिक्त पदका लागि माग गरिएको आवेदनमा कार्कीसहित ११ जनाले आवेदन दिएका थिए । छनोट समितिले यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । छनोट समितिले पाँचमध्येबाट कार्की सहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गरेको हो । सोही मध्येबाट मन्त्रिपरिषदको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।
नेप्से पछिल्लो ६ महीनादेखि नेतृत्त्वविहिन अवस्थामा थियो । नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले राजीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।
नवनियुक्त सीइओ कार्कीसँग गरेको संक्षिप्त कुराकानी…
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को सीइओमा नियुक्त हुनु भयो । तपाईंका योजनाहरु के-के छन् ?
सबैभन्दा पहिले त सूचना प्रविधिको क्षेत्रमा कैयन कामहरु गर्न बाँकी छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने ग्याप देखेको छु । मेरो पहिलो प्राथमिकता सूचना प्रविधिलाई बलियो बनाउने काममै केन्द्रित हुनेछ । त्यसका साथै अनुगमनलाई प्रभावकारी बनाउँदै नेप्सको विकासमा केन्द्रित हुनेछु । अनुगमनका नयाँ औजारहरु बनाएर काम गर्नेछु ।
सेयर बजारमा लगानीका औजारहरु कम छन्, त्यस विषयमा यहाँको योजना के छ ?
पछिल्लो समयमा सेयर लगानीकर्ताको संख्या निकै बढेको छ । खासगरी अनलाइनबाट कारोबार गर्नेहरुको संख्या पनि निकै ठूलो छ । साथै लगानीकर्ताहरु बढ्दो संख्यामा रहँदा लगानीका अन्य के कस्ता औजारहरु हुन सक्छन् सोही विषयमा पनि काम गर्ने मेरो योजना छ ।
तपाईंले हाल सेयर बजारमा देखेका के कस्ता समस्या छन् ?
हाल सेयर बजार सम्बन्धी कैयन नीतिगत समस्या छन् । ब्रोकर कार्यालयहरुलाई सुदृढ बनाउनु पर्नेछ । त्यसलाई पहिचान गरी समस्या समाधान गर्नुपर्ने अवस्था छ । हाल सेयर बजारमा इन्साइडर ट्रेडिङको समस्या व्याप्त छ । यो समस्या निकै ठूलो समस्या पनि हो । मेरो कार्यकालमा विगतमा भइरहेको इन्साइडर ट्रेडिङको अभ्यास न्यूनिकरण गर्नु मेरो प्राथमिकता हुनेछ । नेप्से कार्यान्वयन गर्ने संस्था हो । धितोपत्र बोर्डसँग समन्वय गरी सेयर बजारको विकासमा काम गर्नु नै मेरो उद्देश्य हुनेछ ।
वित्तीय साक्षरताका विषय पनि छन्, साथै सबै प्रदेशमा ब्रोकरको कार्यालय स्थापना गर्ने विषयमा यहाँको के योजना छ ?
पक्कै पनि वित्तीय साक्षरताका विषयमा काम गर्ने ठाउँहरु छन् । साथै, सात वटै प्रदेशमा ब्रोकर कार्यालय स्थापना गर्नका लागि नेप्सेको कार्यक्षेत्रभित्र रहेर काम गर्नका लागि म तयार छु ।