पाल्पाका डाँडाकाँडा चुनढुङ्खा उत्खननले क्षतविच्छेद ! फोटोफिचर

पाल्पाका डाँडाकाँडा चुनढुङ्खा उत्खननले क्षतविच्छेद ! फोटोफिचर

पाल्पा, माघ १८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आव २०७४÷७५ र २०७५÷७६ मा स्वीकृत परिमाणभन्दा बढी चुनढुंगा उत्खनन गर्ने पाल्पाका ४ वटा खानी कम्पनी र त्यसका सञ्चालकलाइ विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।

देशभरका नाै खानीका विषयमा गैरकानुनी निर्णयमा संलग्न विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित नौ कर्मचारीविरुद्ध १ अर्ब २४ करोड ४६ लाख २६ हजार बिगो मागदाबीसहित माघ ११ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । कानुनविपरीत उत्खनन गरेको कसुरमा सिद्धार्थ मिनरल्स प्रालि, मारुती सिमेन्टस् लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रालि, सोनापुर मिनरल्स एन्ड आयल प्रालि, सर्वोत्तम सिमेन्ट प्रालि, युनाइटेड सिमेन्ट प्रालि, उदयपुर मिनरल्स टेक प्रालि र तिनका सञ्चालकहरूलाई अख्तियारले मुद्दा चलाएको हो ।

पाल्पाको तिनाउँ गाउँपालिकाले गत आर्थिक वर्षदेखी २० प्रतिशत वृद्धि गरि स्थानीय राजस्व उठाउनका लागि ताकेता गर्दै आएको छ । यस पालिकाभित्र रहेका ६ खानीहरु मध्ये २ वटाले अहिलेसम्म वातावरण तथा विकास शुल्क समेत बुझाएका छैनन् । कञ्चन क्वेरिज र अल्फा कन्सट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले बुझाउनुपर्ने २५ लाख रुपैयाँ गाउँपालिकालाई नबुझाएको तिनाउँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । उनी भन्छन्, ‘उत्खननका लागि अनुमति दिने, राजस्व लिने काम विभागले गर्छ । चुनढुंगा उद्योगले बिना नापतौल जथाभावी उत्खनन गरेर चुनढुंगा लैजाने गर्छन् । हामीले पनि न्यूनतम राजस्व लिने गरेका छौं त्यही पनि समयमा भुक्तानी हुँदैन ।’ आगामी वर्ष वातावरण तथा विकास शुल्कका विषयमा गहन छलफल गर्ने तयारीमा रहेको उनले बताए ।

पाल्पाको तिनाउँ, माथागढी, निस्दी र रैनादेवी छहरा गाउँपालिकामा चुनढुङ्गा खानी छन् । ज्यामिरे, रहवास, हात्तीलुङ, मस्याम, मरेक, कोलडाँडा, श्रीडाँडा, कचल, सिद्देश्वरमा चुनढुंगा खानी उत्खनन् भैरहेको हो । खानीमा कार्यरत कर्मचारीलाई अनुमति प्राप्त गरेको क्षमता र सोही अनुसार ट्रिपर जाने गरेको जो कोहीलाई भन्न लगाईएको छ । उनीहरु खानीमा पुग्नेलाई सहजै कण्ठस्थ सुनाउन आतुर देखिन्छन् । पाल्पा जिल्लामा सञ्चालित खानीले तौलका लागि धर्मकाँटा प्रयोग गर्दैनन् । पाल्पा जिल्लाभित्र सिमेन्ट उद्योग छैनन् । यहाँका चुनढुंगा संकलक उद्योगले रूपन्देही, नवलपरासी र कपिलवस्तुका सिमेन्ट उद्योगलाई पठाउँछन् । यहाँका खानीबाट सिमेन्ट उद्योग बाहेक बाहिर बिक्रि गरिएको चुनढुंगा, गिट्टी तथा अन्य मेटरियलको कुनै लेखाजोखा भने देखिँदैन । पाल्पा क्षेत्रबाट दैनिक २ हजारभन्दा बढी टिपर चुनढुंगा र डोलोमाइट निकासी हुन्छ ।

चुनढुंगा खानी उद्योगले उत्खनन परिमाण थोरै बताएर हरेक वर्ष राजस्व छली गरे पनि सरोकारवाला निकाय मौन छन् । त्यस्ता उद्योगलाई एक–एक लाख जरिवानामात्र गरेर उन्मुक्ति दिइएको खुलेको छ । पाल्पाका चुनढुंगा खानीमा जथाभावी भइरहेको उत्खनन रोक्न र कडाइका साथ अनुगमन गर्न खानी तथा भूगर्भ विभागले डिभिजन वन कार्यालयलाई निर्देशन दिएको छ । गत वर्ष चार उद्योगले जथाभावी गरेको भेटिएपछि छानबिन समितिले ७० करोड ५३ लाख जरिवाना गर्न प्रतिवेदनमार्फत सुझाव दिएको थियो । पाल्पामा सञ्चालित चुनढुङ्गा खानीका कारण अग्लो डाँडामा प्लटका प्लट प्वाल पारिएका छन् । अग्लो डाँडा नै होचा बनाइएका छन् । उत्खननका लागि अनुमति दिने, राजस्व लिने काम विभागले गर्छ । तर, चुनढुंगा उद्योगले बिना नापतौल जथाभावी उत्खनन गरेर चुनढुंगा लैजाने गर्छन् ।

पाल्पाको सिद्धार्थ मिनरल्स प्रालि तिनाउ गाउँपालिका–३ श्रीडाँडाले तोकिएको परिमाणभन्दा ९ लाख ८९ हजार १ सय ३ टन बढी चुनढुंगा उत्खनन गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । कम्पनीबाट ४९ करोड ४५ लाख ५१ हजार रुपैयाँ असुल गर्नुपर्ने छ । पाल्पाकै सर्वोत्तम सिमेन्ट तिनाउ–१ कचल र रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरमा रहेको चुनढुंगा खानी उद्योगले अनुमतिभन्दा २ लाख ५१ हजार टन बढी उत्खनन गरेको प्रतिवेदनमा उल्लेख छ । सर्वोत्तमबाट १२ करोड ५५ लाख २४ हजार राजस्व असुलउपर गर्नुपर्ने हुन्छ । तर, यी दुवै उद्योगलाई खानी तथा भूगर्भ विभागले एक–एक लाख जरिवाना गराएर उन्मुक्ति दिएको छ ।

पाल्पाकै डोलोमाइट चुनढुंगा प्रालि तिनाउ–५ मस्यामसँग ५ करोड ४३ लाख २१ हजार रुपैयाँ असुल्न समितिले भनेको थियो । उसले १ लाख ३५ हजार ८ सय टन डोलोमाइट अधिक उत्खनन गरेको छ । पाल्पाकै कञ्चन क्वारिज प्रालि तिनाउ–३ मरेकले अनुमतिविपरीत ९४ हजार ९ सय ८२ टन बढी चुनढुंगा उत्खनन गरेको छ । जसबाट ३ करोड ८ लाख ६९ हजार रुपैयाँ बराबरको ९४ हजार ९ सय ८२ टन बढी उत्खनन गरेको छानबिन समितिले देखाएको थियो । तिनाउ–३ श्रीडाँडामा सिद्धार्थ मिनरल प्रालिले ०६६ देखि नै चुनढुंगा उत्खनन गर्दै आएको छ ।

चुनढुँगा खानी क्षेत्रमा लगाइएकाे बिरूवाकाे अवस्था । तस्वीरः सेराेफेराे समाचार

तिनाउ–३, मरेकमा कञ्चन क्वेरिजले पनि ०६४ सालदेखि नै उत्खनन गरिरहेको छ । तिनाउ–५, गिट्टीखानी क्षेत्रमा डोलोमाइट चुनढुंगा प्रालिले पनि १० वर्षदेखि नै उत्खनन गरेको छ । तिनाउ–१, कचलमा सर्वोत्तम सिमेन्टले, तिनाउ गाउँपालिका–५, कोलडाँडामा सत्यवती खानी उत्खनन प्रालिले चुनढुंगा निकाल्दै आएका छन् । तिनाउ–२ सुकेतालमा अल्फा कन्स्ट्रक्सन एन्ड डेभलोपर्स प्रालि, माथागढी–७, रहबासमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज प्रालिले, निस्दी–७, ज्यामिरेमा होङ्सी शिवम् सिमेन्ट प्रालिले सिमेन्ट उद्योगका लागि चुनढुंगा लगेका छन् । माथागढी–६, हात्तीलुङमा बीएस सिमेन्ट र रैनादेवी छहरा–१, सिद्देश्वरबाट सर्वोत्तम सिमेन्टले चुनढुंगा खानी उत्खनन गरिरहेका छन् ।

चुनढुङ्गा खानी क्षेत्रमा रहेकाे क्षेत्र छुट्याइएकाे स्तम्भ मिचेर गरिएकाे दाेहाेन । तस्वीरः सेराेफेराे समाचार

राजनीतिक दलका नेताहरु, स्थानीय तथा कर्मचारी पनि चुनढुंगा खानीका विषयमा बोल्दैनन् । किनकी उनीहरु धेरैका ट्रिपर खानीमा चल्ने गर्दछन्, तिनाउँ गाउँपालिका ३ का धन बहादुर दर्लामीले भने । जिल्लाको ठूलो स्रोत र साधनको निकासी भइरहँदा जिल्ला स्तरीय अनुगमन समिति पनि होलान् तर तिनीहरु के हेरेर बसिरहेका छन्, उनले प्रश्न गरे । खानी सञ्चालकले उत्खनन अनुमतिपत्र, माइनिङ स्किम, आईईई प्रतिवेदनमा उल्लेखित वातावरणीय संरक्षण र प्रतिकूल प्रभाव न्यूनीकरणका उपायलाई अनिवार्य रूपले अवलम्बन गर्नुपर्ने हुन्छ । खानी सञ्चालकले उत्खनन र निकासी परिमाणको विवरण स्थानीय तह, जिल्ला समन्वय समिति कसैलाई पनि बुझाएका छैनन् ।

पाल्पामा सञ्चालित विभिन्न नौ चुनढुंगा खानीमा झण्डै ५ वर्षयता निरन्तर अवैध उत्खनन भैरहेको छ । अवैध उत्खननले जंगल मासिँदा पानीको मुहान सुक्यो, सडकमा पहिरो खस्यो, भान्सादेखि ओछ्यानसम्म धुलो पुगेर बस्नै सकस छ । स्थानीय वस्तुभाउलाई खुवाउने घाँस नपाएर हैरान छन्, राजमार्गमा हिड्नेहरु धुलोको सास्ती र ट्रिपरको हैरानी खेप्न बाध्य छन् । खानी दोहनका कारण त्यसमुनि रहेको सिद्धार्थ राजमार्ग हरेक वर्ष पहिरोले पुरिएर अवरुद्ध हुने गरेको छ । कैयौँले धेरथोर रोजगारी पाएकाले खानी सञ्चालकको लापरबाहीका विषयमा स्थानीयहरू नबोल्ने गरेको स्थानीयहरु बताउँछन् । कञ्चन क्वेरिजका अपरेटर केदार कार्कीले भने, खानीकै कारण झण्डै ५ सय जना ड्राईभर भएका छन् । ७० जना बढी स्काभेटरको अपरेटर भएका छन् । झण्डै ५० जनाले खानीमा विभिन्न पदमा रोजगारी पनि पाएका छन् । यहाँका ट्रिपर सञ्चालकहरुको पनि आफ्नै पीडा छ, त्यसलाई भने कसैले देखेका छैनन्, उनले भने ।

खानी विभागले पाल्पा जिल्ला प्रहरी, जिल्ला प्रशासन, डिभिजन वन कार्यालय र तिनाउ गाउँपालिकालाई बोधार्थ बनाएर खानीको अधिक उत्खन रोक्न चिठी काटेको छ । त्यसपछि २७ पुसमा डिभिजन वन कार्यालय पाल्पाले पनि पत्र काटेर तत्काल खानी बन्द गर्न निर्देशन दिएपछि एक सातायता सिद्धार्थ मिनरल्सले स्वीकृति लिएभन्दा बढी क्षेत्रफलमा उत्खनन गरेको उत्खनन रोकिएको छ ।

सोमबार साँझको ६ बजे सर्वोत्तम सिमेन्ट प्रा.लि. पुग्दा खानीमा उत्खननको कार्य जारी थियो । तिनाउँ गाउँपालिका १, कचल पाल्पामा आठ बढी स्काभेटर तथा ब्रेकरले काम गरिरहेका देखिन्थे । सर्वोत्तमले दैनिक नौ लाख खानी उत्खननको अनुमति पाएको छ । यो खानी ४ दशमलव ९९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

तिनाउँ गाउँपालिकाको वडा नं. ३ मा रहेको कञ्चन क्वेरिज प्रालिले दैनिक ७० ट्रिपर चुनढुंगा सर्वोत्तम र निर्माण सिमेन्टका लागि लैजाने गरेको खानीको साईट हेर्ने कर्मचारी पूर्ण प्रसाद सापकोटाले बताए । २०६४ सालमा अनुमति प्राप्त गरेको यस खानी ६ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कञ्चन क्वेरिजका लेखापाल शालिकराम पाण्डेले दैनिक १ हजार १ सय ७५ क्विन्टल ७० ट्रिपरले चुनढुंगा लैजाने गरेको बताए । उनी भन्छन्, ‘वर्षमा औषत ३ लाख १७ हजार २ सय ५० टन लैजाने अनुमति अनुसार मेटरियल लैजान्छौं । हामी दुईवटा फर्मबाट भ्याट काटेरै राजस्व तिरेर चलानी गरि ट्रिपर पठाउने गरेका छौं ।’
पाल्पाको तिनाउँ, माथागढी, निस्दी र रैनादेवी छहरा गाउँपालिकामा चुनढुङ्गा खानी छन् । ज्यामिरे, रहवास, हात्तीलुङ, मस्याम, मरेक, कोलडाँडा, श्रीडाँडा, कचल, सिद्देश्वरमा चुनढुंगा खानी उत्खनन् भैरहेको हो । खानीमा कार्यरत कर्मचारीलाई अनुमति प्राप्त गरेको क्षमता र सोही अनुसार ट्रिपर जाने गरेको जो कोहीलाई भन्न लगाईएको छ । उनीहरु खानीमा पुग्नेलाई सहजै कण्ठस्थ सुनाउन आतुर देखिन्छन् । पाल्पा जिल्लामा सञ्चालित खानीले तौलका लागि धर्मकाँटा प्रयोग गर्दैनन् । पाल्पा जिल्लाभित्र सिमेन्ट उद्योग छैनन् । यहाँका चुनढुंगा संकलक उद्योगले रूपन्देही, नवलपरासी र कपिलवस्तुका सिमेन्ट उद्योगलाई पठाउँछन् । यहाँका खानीबाट सिमेन्ट उद्योग बाहेक बाहिर बिक्रि गरिएको चुनढुंगा, गिट्टी तथा अन्य मेटरियलको कुनै लेखाजोखा भने देखिँदैन ।

प्रतिक्रिया दिनुहोस