माथागढीद्वारा पत्रकार, शिक्षक र कर्मचारी सम्मानित, दशौ गाउँसभा सम्पन्न

माथागढीद्वारा पत्रकार, शिक्षक र कर्मचारी सम्मानित, दशौ गाउँसभा सम्पन्न

माथागढी गाउँपालिकाकाे दशौ गाउँसभा सम्पन्न भएकाे छ । गाउँसभामा विभिन्न विषयगत शाखाहरूकाे अर्धवार्षिक प्रगति, नीति तथा कार्यक्रम पारित गर्दै अन्तिम गाउँसभा सम्पन्न गरेकाे हाे ।

माथागढीकाे गाउँसभाले सेराेफेराेन्यूज सम्पादक मुक्ति न्याैपानेलाइ विपि काेइराला स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित गरेकाे छ । यस्तै जिल्लाका क्रियाशिल पत्रकार, उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, सेवानिवृत्त शिक्षक, जग्गादाता र कर्मचारीहरुलाई सम्मान गरेको हो ।

गाउँपालिकाले विगतमा जस्तै यस वर्ष वीपी कोइराला पत्रकारिता पुरस्कारबाट जिल्लाका ९ जना क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेको छ । सम्मानित हुने पत्रकारहरुमा इमेज टेलिभिजनका जिल्ला संवाददाता तथा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, सामुदायिक रेडियो मदन पोखराका प्रवन्धक राजेश कुमार अर्याल, बुटवल टुडेका उप–सम्पादक प्रकाश नेपाल, श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचाभैया, सनराइज टेलिभिजनका प्रवन्धक सन्तोष बस्याल, भैरव खबर डटकमका सन्तोष गहतराज, रेडियो मदन पोखराका प्रतिनिधि माया बस्याल र रमेश राना रहेका छन् ।

यसैगरी गाउँपालिकाले सेवा निवृत्त २० जना शिक्षक, २३ जना जग्गादाता, ७ जना उत्कृष्ट कर्मचारी, ५ जना उत्कृष्ट प्रधानाध्यापक, १४ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ । साे अवसरमा बाेल्दै गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले कर्मचारीकाे न्यून संख्याले उल्लेख्य काम गर्न सफल भएकाे बताए । उनी भन्छन्, ३५ जनाकाे दरबन्दीमा ९ जना कर्मचारीबाट कार्यसम्पादन भएकाे छ । पालिकालाई संमृद्ध बनाउन, पालिकामा भईरहेका गतिविधी स्थानीय जनतादेखी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पुर्‍याउन, पालिकामा काम गर्दा भएका कमीकमजोरीहरुलाई आलोचनात्मक समाचार तथा सुझावले पत्रकारहरुले खेलेको भुमिकालाई स्मरण गर्दै विपी कोइराला पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको बताए ।

कर्मचारी अभावको समयमा पनि रात दिन नभनी काममा खटिएका उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मान गरिएको अध्यक्ष थापाले बताए । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रिखिराम रानाले गाउँपालिकाले पत्रकार शिक्षक, कर्मचारी र जग्गदाताहरुलाई सम्मान गरेर अभिभावकत्व ग्रहण गरेको बताए । सम्मानित व्यक्तित्व तथा पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले गाउँपालिकाले पत्रकारहरुलाई सम्मान गरेर थप जिम्मेवार बनाएको बताए । कार्यक्रममा सम्मानित व्यक्तित्वहरु रामप्रसाद अर्याल, हरिराम जिसी, राजन अधिकारी, बालकृष्ण जिसी लगायतले आ–आफ्ना धारणा व्यक्त गरे । गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस