जब मलामी नै शव बने ! हृदय विदारक बस दुर्घटनामा मृतककाे पहिचान खुल्याे

जब मलामी नै शव बने ! हृदय विदारक बस दुर्घटनामा मृतककाे पहिचान खुल्याे

पाल्पा, पुस १८

बुटवलबाट मलामी हिडेका सात जना व्यक्तिकाे मृत्यु भएकाे छ । शव लिएर अन्त्येष्टीका लागि रिडी जाँदै गरेको बस पाल्पाकाे पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ । लु १ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएकाे हाे ।

आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका ७ जना सबैको सनाखत भएको छ। १६ जना घाइते भएका छन्।अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र विक, ३३ वर्षीय अर्जुन विक, रूपन्देही बुटवल उपमहानगरपालिका- ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, सोही ठाउँका ३० वर्षीय पशुपति रसाइली, ४० वर्षीय खुमबहादुर रानाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए।

बस दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ। बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि मलामी गएकाहरू चढेको बस दुर्घटनामा परेको हाे उनकाे अर्घाखाँचीको मालारानी गाउँपालिका-२, कुभिण्डे स्थायी घर भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ९ जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास  र युनाइटेड मिसन अस्पतालमा ७ जनाको उपचार भइरहेको त्वातीले बताए। बस सडकभन्दा ४० मिटर तल झरेको छ। बिहान शीतले चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

चालक भने सकुशल रहेका छन्, उनी घटनास्थलबाट भागेर जिल्ला प्रहरी कार्यालय पाल्पामा सम्पर्कमा अाएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस