पाल्पा एमाले पूर्वसांसद रायमाझी सहित ६६ जना नेकपा एसमा

पाल्पा एमाले पूर्वसांसद रायमाझी सहित ६६ जना नेकपा एसमा

पाल्पा, पुस १७

नेकपा एमालेका नेता तथा पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझि सहित ६६ जना एमाले नेताकार्यकता शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी नेकपा एसमा प्रवेश गरेका हुन् ।

पूर्व सांसद रायमाझीले एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचारणविपरीत अधिनायकवादी सोंचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए । विगतदेखि नै पार्टीमा चरम विकृति र बिसंगति बढेको र त्यसलाई सच्याउन प्रयास गरेपनि असफल भएकाले आफुले पार्टी परिवर्तन गरेको रायमाझीले उल्लेख गरे । उनले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारिपूर्वक निभाउने बताएका छन् । पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा विवाद हुंदा माधव नेपाल–प्रचण्ड पक्षमा थिए । तर एमाले विभाजनपछि भने उनी एमालेमै रहेका थिए । उनी एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य थिए । उनीसंगै एमाले जिल्ला कमिटी सदस्यहरु धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बराल सहित ६६ जना नेताकार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको नेकपा एसका युवा नेता पदम गैरेले जानकारी दिए ।

पार्टी अध्यक्ष केपी ओलीबाट असंबैधानिक तरिकाले संसद बिघटन गर्नु, संविधानको मर्म र भावना माथी प्रहार गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने कोशिस गरिएको,करिब २/३ को सरकार सञ्चालनमा स्वेच्छाचारिता प्रदर्शन गर्नुका साथै प्राप्त बहुमतको संरक्षण गर्न नसकेको, २०७५ जेष्ठ ३ मा गरेको पार्टीको एकतालाई सरक्षण गर्नका लागि इमान्दार हुन नसकेको,जनआन्दोलनको बल र अदालतको संबैधानिक व्याख्याबाट पुनस्थापित संसदको पुनः हत्या गर्न कोशिस गरिएको, अदालतको आदेश पछि भंग भएको पार्टी एकता पश्चात पार्टीलाई २०७५ जेष्ठ २ अगाडिको अवस्थामा फर्काउने बहानामा फरक मत राख्ने नेता कार्यकर्तालाई पार्टीबाट गलहत्याउने उद्देश्यका साथ बिधान विपरित क्रियाकलाप गर्नुका साथै पार्टीलाई विभाजनको तहसम्म पुर्‍याउने काम गरेकाले आफुहरुले पार्टी परित्याग गरी नेकपा एसमा समाहित भएको पार्टी प्रवेशीहरुले विज्ञप्ती नै निकालेका छन् । नवप्रवेशीहरुलाई नेकपा एसका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेले पार्टीमा स्वागत गरेका छन् ।
नेकपा एसमा प्रवेश गर्नेहरुको नामवली

प्रतिक्रिया दिनुहोस