नो–भोट अभियान : राजनीतिक दललाई ठाडो चुनौती, लगानीकर्ता कसरी हुँदैछन् एकजुट ?

नो–भोट अभियान : राजनीतिक दललाई ठाडो चुनौती, लगानीकर्ता कसरी हुँदैछन् एकजुट ?

इशारा कोइराला 

काठमाडौं : लगानीकर्ताहरुले पुँजी बजारलाई बेवास्ता गर्ने राजनीतिक दल र तिनका नेताहरुलाई भोट नदिने अर्थात् ‘नो भोट’ अभियान चलाएका छन् । यसका लागि लगानीकर्ताले सामाजिक सञ्जालमार्फत ‘नो भोट’ अभियानलाई व्यापक रुपमा अघि बढाउने हालैमात्र निर्णय पनि गरेका छन् । विशेषतः फेसबुकको प्रोफाइल पिक्चर परिवर्तन गर्दै लगानीकर्ताले यो अभियानको सांकेतिक प्रारम्भ थालेका हुन् ।

उनीहरुले ‘पुँजी बजार विरोधीहरुलाई आगामी चुनावमा ‘नो भोट, ४५ लाख लगानीकर्ताको आवाज’ लगायतका विभिन्न खालको स्लोगन राख्दै फेसबुक लगायतका समाजिक सञ्जालमा सेयर र प्रचारप्रसार गरिरहेका छन् । सरकार नियामकका कारण पुँजी बजार दिनदिनै धराशायी बन्दै गएपछि लगानीकर्ताहरुले यस्तो अभियान सुरु गरेका हुन् । ४५ लाखभन्दा बढी व्यक्ति पुँजी बजारमा जोडिएकाले उनीहरुले चलाउने अभियानले राजनीतिमा ठूलो महत्व राख्ने अनुमान गरिएको छ ।

बहुमतमात्र सेयर लगानीकर्ताहरु एकजुट हुन सकेमा पनि उनीहरुले आगामी चुनावमा मत परिणामलाई नै प्रभावित पार्न सक्छन् । तर एकता र अभियान कतिसम्म दिगो हुन्छ वा टिक्छ भन्ने चाहिँ अर्को महत्वपूर्ण प्रश्न हो । यस अभियानमा ठूलादेखि मध्यम र साना सबै प्रकारका लगानीकर्ताहरुको सहभागिता रहेको स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्कीले बताए ।

यसैबीच, पुँजी बजारमा उत्पन्न समस्याहरु पत्ता लगाई समाधान गर्ने उद्देश्यले सोमबार गठन भएको वृहत्त कार्यदलले पनि यो अभियानमा साथ दिएको उल्लेख गरिएको छ । तथापि, अग्रज लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको उक्त कार्यदलले पुँजी बजार सुधार र विस्तारका लागि सरोकारवाला निकायलाई जोड दिने विशेष उद्देश्य लिएको छ । उक्त कार्यदलले ‘नो–भोट’ अभियानलाई पनि साथ दिएको बताइएको छ ।  यद्दपि, सेयर बजारमा लागेका लगानीकर्तामध्ये अधिकांश कुनै न कुनै राजनीतिक दलमा आवद्ध छन् । यस्तो अवस्थामा कसरी ‘नो­–भोट’ अभियान अगाडि बढ्छ ? कुनै पनि दल या त्यसका नेताहरु पुँजी बजार मैत्री भए या नभएको कसरी थाहा पाउने वा यसको वास्तविक मापक के हुने भन्ने बारेमा यो अभियानका अगुवा लगानीकर्तालाई हामीले सोधेका छौं । पढौं उनीहरुको भनाई : 

तुलसीराम ढकाल

अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम अहिलेको ‘नो–­भोट’ अभियान आम लगानीकर्ताको एजेन्डा हो । अहिले ४७ लाखभन्दा धेरै लगानीकर्ताले डिम्याट खाता खोलिसकेको अवस्थामा पनि पुँजी बजारप्रति बेवास्ता गर्ने राजनीतिक दलका नेतालाई किन भोट दिने भनेर आम लगानीकर्ताले –’नो­–भोट’ अभियान सुरु गरेका छौं । सबैभन्दा पहिले राजनीतिक दलका नेताको प्राथमिकता आफ्ना भोटरप्रति हुनुपर्ने हो ।

तर, लागानीकर्ताले अरबौं रुपैयाँ गुमाउँदा पनि बेवास्ता गर्ने सरकार र राजनीतिक दलका नेताहरुलाई भोट नदिनु आम लगानीकर्ताको अधिकार पनि हो । आर्थिक समृद्धि भन्दा राजनीति ठूलो कुरा नहुने भएकाले कुनै पनि दलप्रति आस्था राख्ने लगानीकर्ताले पनि यसमा समर्थन गर्नुहुनेछ ।

किनभने लगानीकर्ताको पहिलो प्राथमिकता पुँजी बजार हो । अनि, यो साझा एजेन्डा पनि हो । अहिले हामीले पुँजी बजार सुधार र विस्तारका लागि सरकारले गर्नुपर्ने कामहरुलाई लिएर यो अभियान चलाएका छौं । आशा छ माग सम्बोधन हुनेछ ।   राधा पोखरेल


अध्यक्ष, पुँजी बजार लगानीकर्ता संघ अहिलेको ‘नो–भोट’ अभियानमा हाम्रो पनि ऐक्यबद्धता छ । अहिले आम लगानीकर्ताले सामाजिक सञ्जालमार्फत ‘नो–भोट’ अभियानमा सहभागिता जनाएका छौं । पुँजी बजारलाई महत्व नदिने राजनीतिक दल र तिनका नेताहरु वित्तीय रुपमा साक्षर भएका लगानीकर्ताहरुलाई आवश्यक छैन भन्ने उद्देश्यका साथ यो अभियान आएको हो ।

आफ्नै भोटरको लगानी सुरक्षा गर्न नसक्ने राजनीतिक दल र तिनका नेताहरुलाई हामीले किन भोट दिने भन्ने प्रश्न पनि उब्जिएको छ । पुँजी बजार सुधार र विस्तारका लागि काम नगर्ने नेतालाई ४७ लाख लगानीकर्ताले किन भोट दिने भन्ने बुझाई मेरो छ । 

यस अभियानमा लाग्ने सम्पूर्ण लगानीकर्ता साथीहरुको पनि यही बुझाई हो । सरकार र नेताहरुले पुँजी बजारका लागि गरेको काम र अभिव्यक्तिलाई हेरेर कुन सरकार र नेता पुँजी बजरमैत्री छ या छैन भनेर छुट्याउन सकिने छ । विगत र वर्तमानमा उनीहरुले गरेका काम, आम लगानीकर्ताको आवाज र गुनासो सुन्ने र सम्बोधन गर्ने इच्छाशक्तिका आधारमा कसले काम गर्यो वा गरेन भने सजिलै छुट्याउन सकिन्छ ।  

हरि ढकाल

अध्यक्ष, सेयर लगानीकर्ता दबाब समूह  अहिले आम लगानीकर्ता ‘नो भोट’ अभियानमा सहभागी भएका छन् । पहिलो चरणमा हामीले सामाजिक सञ्जालमार्फत ‘नो–भोट’ अभियान चलाएका छौं । धेरै साथीहरुले ‘नो–भोट’ अभियानलाई आफ्नो फेसबुक लगायतका सामाजिक सञ्जलमार्फत सेयर र प्रचारप्रसार गरी यसमा सहमति जनाइरहनु भएको छ । विस्तारै सहमति र ऐक्यबद्धता जनाउने क्रम पनि बढ्दो छ ।

कुनै पनि सरकार, राजनीतिक दल र तिनका नेताहरुले पुँजी बजारको महत्व बुझेर यसको सुधार र विस्तारमा काम गर्दैनन् भने त्यो नेता या राजनीतिक दललाई किन भोट दिने भन्ने उद्देश्यका साथ यो अभियान सुरु भएको हो । चुनाव नजिकिएको अवस्थामा सेयर बजारको मर्मलाई आत्मसाथ गर्न नसक्ने नेतालाई भोट दिइयो भने कहिल्यै पनि पुँजी बजार सुधार र विस्तार हुँदैन भन्ने कुरा विगतदेखि नै देखिँदै आएको पनि छ । यो विषय बारम्बार पुष्टि पनि भइसकेको छ । त्यसैले आगामी दिनमा सचेत लगानीकर्ताले यसमा ध्यान दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।

मुख्य कुरा पुँजी बजारप्रति सरकारले गरेको व्यवहार, मन्त्री तथा राजनीतिक दलका नेताले दिने अभिव्यक्ति लगायतलाई हेरेर कुन राजनीतिक दलका नेतालाई भोट दिने कुनलाई नदिने भनेर निक्यौल गर्नुपर्छ । सार्थै, कसको पालामा के काम भयो ? कसले के गर्यो अनि गरेन ? प्रतिबद्धताहरु कस्ता छन्, बोली र व्यवहार कस्तो भनेर हामीले सजिलै छुट्याउन र लेखाजोखा गर्न सक्छौं । यसमा कुनै पनि समस्या छैन ।  रोहन कार्की

अध्यक्ष, स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघ  अहिले पुँजी बजारमा ४८ लाखभन्दा बढी लगानीकर्ता रहेका छन् । यी लगानीकर्तामध्ये केही राजनीतिक पार्टीमा आवद्ध होलान् । तर, राजनीतिक पार्टीमा आवद्ध भए पनि आफूले लगानी गरेको लगानीको सुरक्षा नगर्ने राजनीतिक पार्टीलाई कसरी विश्वास गर्ने भन्ने कुरा पनि उहाँहरुले बुझ्नुहुन्छ । त्यसैले यो अभियान सफल हुन्छ । अहिले हामीले अभियानको पहिलो चरणस्वरुपः सामाजिक सञ्जालमार्फत सरोकारवाला निकायलाई दबाब दिएका छौं । यसलाई केही समय निरन्तरता दिन्छौं ।
 यदि, सरोकारवाला निकायले यसमा कुनै वस्ता गरेन भने यसलाई हामी देशव्यापी रुपमा अगाडि बढाउने छौं । हामीले बजार बढ्नुपर्छ घट्नु हुँदैन भनेका हैनौं । तर, नीति निमार्णको तहमा बसेर पुँजी बजार सुधार र विस्तारका लागि काम नगर्ने राजनीतिक दर र तिनका नेतालाई बहिष्कार गर्नुपर्छ भनेर यो अभियान ल्याएका हौं । यो या त्यो दल भन्ने छैन ।

जसले काम गर्छ त्यही लगानीकर्ताका प्रिय नेता वा दल हुनेछ । पुँजी बजारलाई महत्व नदिने र आर्थिक गतिविधिलाई नबुझ्ने नेता वित्तीय साक्षरता भएका लागानीकर्ताको लागि काम छैन भनेर ‘नो–भोट’ भनेका हौं ।  यसमा सबै लगानीकर्ता संगठन, आम लगानीकर्ताहरुको समर्थन र ऐक्यबद्धता रहेको छ । 

प्रतिक्रिया दिनुहोस