निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउनुपर्छः निर्धनउत्थान सिईओ पन्त

निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउनुपर्छः निर्धनउत्थान सिईओ पन्त

पाल्पा, मंसिर १८
हरेक नेपालीहरुले अंगाली रहेको निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउनुपर्ने निर्धनउत्थान वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले बताएका छन् । उनले हरेक व्यक्तिमा असीमित क्षमता हुने भएकोले त्यसलाई अभ्यासमा रुपान्तरण गर्न सके देशको अर्थतन्त्र बलियो बन्ने बताए ।

तालिम उद्घाटन पश्चात् फाेटाे खिचाउँदै सहभागी

पाल्पाको तानसेनमा व्यावसायिक च्याउ खेती तालिमको सुरुवात गर्दै पन्तले गरिबी निवारण, महिला शसक्तिकरण तथा घरघरमा उद्योग स्थापना गर्ने उद्देश्यले निर्धनले काम गरिरहेको बताए । उनी भन्छन्, “नेपालका ६० लाख घरधूरीमा उद्योगी बनाउने हाम्रो लक्ष्य छ । विना धितो ऋण प्रवाह गरि व्यक्ति तथा परिवारको आम्दानी वृद्धि गर्ने गरि काम गरिरहेका छौं ।” पन्त भन्छन्, आजको आवश्यकता भनेको उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुंच पु¥याउनु नै महत्वपूर्ण कुरा हो । सदस्यहरुलाई स्वरोजगार बनाउने मात्र नभई उनीहरुको क्षमता अनुसार आवश्यक सीप, स्रोत र बजारको पहुँच पु¥र्याउन उत्पादकत्व र आम्दानी वृद्धि गर्दै आर्थिक र सामाजिक अवस्थामा सुधार गर्न सकिन्छ ।

नेपालकोे अर्थतन्त्र कृषिमा भर परेकोले कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तानसेन नगरपालिकामा नगरप्रमुख अशोक कुमार शाहीले सुखी, समृद्ध र स्वाभलम्बी बन्न उद्यमशीलता आवश्यक रहेको बताए । उनी भन्छन्, ग्रामीण क्षेत्रमा गरिबिको रेखा मुनी छरिएर रहेका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक तथा सामाजिक विकास गर्नका सीपको विकास हुन आवश्यक छ । निर्धनका २१ हजार समूहमा चार लाख महिला आवद्ध रहेका छन् । निर्धन उत्थानले १ सय ८१ शाखा मार्फत् आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ ।

कार्यक्रममा वडाध्यक्ष लोचन प्रसाद तिमिल्सिना, निर्धन उत्थानका बाँसटारी शाखा प्रमुख अर्जुन प्रसाद खनाल तथा प्रशिक्षक मुकेश रामजाली नेपालीले कृषिमा आधुनिकीकरण, यान्त्रिकरण तथा व्यवसायिकरण गर्नु आवश्यक रहेको बताएका थिए । स्थानिय श्रोत र साधनको सदुपयोग गरी तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न र लघुउद्यमी बन्नुपर्नेमा सहभागीको जोड थियो । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था शाखा कार्यालय बासटारीको आयोजनामा तालिम सुरु भएको हो । तालिम २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस