माथागढीमा निःशुल्क मुटु परीक्षण शिविर, ३० जनालाइ रिफर गरियाे

माथागढीमा निःशुल्क मुटु परीक्षण शिविर, ३० जनालाइ रिफर गरियाे

पाल्पा, कार्तिक २५

पाल्पाकाे माथागढी गाउँपालिकामा दुइ दिने मुटु परीक्षण शिविर सुरू भएकाे छ । किसान माध्यमिक विद्यालयमा शिविर सुरू भएकाे हाे ।

सेभ द हार्टको आयोजना र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर, त्रि.वि. शिक्षण अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर गरिएकाे हाे । मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाको नेतृत्वमा आएको चिकित्सकको टोलीले पहिलो दिन शुक्रबार १ हजार ७ सय २५ जनाको मुटु परीक्षण गरेको छ । शिविरमा शुक्रबार एक सय ७० जनाको ईको र एक सय ९५ जनाले इसिजी गराएका थिए ।

माथागढी गाउँपालिका अध्यक्ष सन्ताेष थापाले परीक्षण गराएकामध्ये करिब १ सय भन्दा बढीमा मुटुसम्बन्धी समस्या देखिएको बताए । मुटु रोगको जटिल समस्या भएका ३० जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न संघसंस्थाहरुको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको अध्यक्ष थापाले बताए ।

यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले बताए । गाउँ–गाउँमा पुगेर मुटु रोगीहरुको पहिचान गरी उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न संघ संस्था र स्थानीय सरकारहरुको समन्वयमा शिविरहरु सञ्चालन गरिदै आएको सेभ द हार्टका प्रमुख तथा सह–प्रा.डा.अनिल भट्टराईले बताउँछन् । उनले मुटु सम्बन्धित समस्या देखिएर शल्यक्रिया गर्नु पर्ने अवस्था आएका विरामीहरुका लागि आफुहरुले आर्थिक सहयोग समेत गर्ने बताए ।

शनिबारसम्म सञ्चालन हुने शिविरमा ३ हजार बढी नागरिकको स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस