तिहारकाे मुख्य कोशेली बन्याे ‘पाल्पाली ढाका’

तिहारकाे मुख्य कोशेली बन्याे ‘पाल्पाली ढाका’

सुशीला रेग्मी
रामपुर (पाल्पा), कात्तिक २१
‘चोली राम्रो पाल्पाली ढाकाको, हेराई राम्रो मायालु आँखाको’ । प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको झ–झल्को आउँछ ।
पाल्पा भनेपछि ढाका कपडा सबैका मन मस्तिष्कमा छाएकै हुन्छ । अझ बिशेषगरी चाडपर्वका समयमा पाल्पाली ढाकामा ग्राहकको आकर्षण बढ्छ । तिहारमा दिदिबहिनीले दाजुभाईलाई कोशेलीका रुपमा ढाका कपडाबाट उत्पादित सामान दिने चलन छ । यस पटकको तिहारमा पाल्पाली ढाका कपडाका सामग्री खरिद गरेकाे बताउनुहुन्छ, रमा पन्त । तानसेन नगरपालिका २ बडिज्ञानटोल बस्ने पन्तले तिहार अर्थात् भाईटिका दिदिबहिनी र दाजुभाईको लागि बिशेष पर्व भएकाले पनि कोशेलीको रुपमा ढाका कपडाबाट उत्पादित सामग्री प्रयाेग गरेको बताउनुहुन्छ । मानव अधिकार तथा शान्ति समाजका आजिवन सदस्य समेत रहनुभएकी उहाँले दाजुभाईका लागि ढाका टोपी, आस्कोट, दिदि (अमाजु दिदि) को लागि ढाकाका साडी, बहिनीलाई ढाकाको कुर्ता सुरुवाल खरीद गरेकाे बताउनुभयाे ।
“ढाका हाम्रो पाल्पाको पहिचान हो, तिहारमा कोशेलीका रुपमा ढाका कपडाबाट उत्पादित सामग्री दिने गरेको छु, ढाकाका कपडा उपहारस्वरुप दिन पाउँदा धेरै आनन्द लाग्छ, वर्षेनी ढाकाकै कपडा दाजुभाईलाई दिने गर्छु, दाजुले पनि भरसक ढाका टोपीकै चाहना गर्नुहुन्छ” उहाँले भन्नुभयो । पाल्पाका विभिन्न कार्यक्रम, सभा, समारोह, पाल्पा भन्दा बाहिर विभिन्न कामको शिलशिलामा जादा पनि पाल्पाली पहिचान झल्कने ढाकाका पोशाक पहिरिने गरेको पन्तको भनाई छ ।
नेपाली पहिचान ढाका टोपीको छुट्टै महत्व छ । त्यसैमा पनि पाल्पाली ढाका टोपी र यहाँ ढाका कपडाबाट तयार पारिएका विभिन्न सामग्रीहरु स्वदेशमा मात्र नभई विदेशमा पनि राम्रो पहिचान बनाएको छ । त्यस्तै तानसेन नगरपालिका ६ बारुदखान बस्ने माया शर्माले काठमाण्डौँमा भाईटिका लगाउन ढाकाको आस्कोट, चोली, व्याग लिएर गएकाे बताउनुहुन्छ । स्वदेशी उत्पादनलाई बढावा दिन, पाल्पाली ढाकाको प्रचार प्रसार पनि हुने भएकाले ढाका कपडाका सामग्री नै तिहारमा रोज्ने गरेको उहाँ बताउनुहुन्छ । “पाल्पाको उत्पादन भनेपछि दाजुभाईले बिशेष महत्वका रुपमा लिनुहुन्छ, पाल्पाली पहिचान र यहाँको व्यापार बढ्ने भएकाले पनि तिहारमा ढाका कपडा नै उपहारस्वरुप दाजुभाईलाई दिने गरेको छु” उहाँले भन्नुभयो । उहाँले हालैमात्र न्युजिल्याण्डमा बसोबास गर्ने छोरीका लागि पाँचवटा ढाकाको व्याग, अमेरिकामा रहने दिदिहरु, आफन्तजनको लागि ढाकाका विभिन्न सामग्री पठाउनुभएको छ ।
भाईटिकाको लागि ढाका टोपी, चोली, पछ्यौरा, कुर्ता सुरुवाल, पर्स जस्ता कपडा खरिद गर्न ग्राहकहरु आउने गरेको बताउनुहुन्छ, व्यवसायी ज्ञानु कार्की । पाल्पाको पूरानो कार्की ढाका कपडा उद्योग चलाउनुभएकी कार्कीले धेरैजसोले यतिबेला तिहारलाई ढाका टोपी नै खोज्ने गरेको बताउनुहुन्छ । “पहिला पहिला त रहरको रुपमा पनि ढाकाको टोपी तिहारलाई खरिद गर्ने गरेपनि अहिले कोभिडको असरले ढाका टोपी निरन्तर लगाउनेका लागि मात्रै ग्राहकले खोज्नुहुन्छ, पहिलेको तुलनामा व्यापार कम छ, तैपनि तिहारले चहलपहल बढाएको छ” उहाँले भन्नुभयो ।
कार्की ढाका उद्योग बिगत २६ वर्ष देखि तानसेनमा सञ्चालित छ । सञ्चालक कार्कीका अनुसार हाल ढाका टोपीको मुल्य रु एक सय देखि तीन हजार ५०० सम्म, चोली न्युनतम मुल्य रु ३०० देखि रु एक हजार ५०० सम्म, पछ्यौरा रु एक हजार देखि रु दुई हजार ५०० सम्म पर्छ ।
यहाँ बिगतका तिहारको समयमा पाल्पा जिल्ला बाहेक बाहिरी जिल्लाबाट कोशेलीका रुपमा ढाका कपडाबाट उत्पादित सामग्री खरिद गर्न आउने गर्थे भने अहिले स्थानीयले मात्र खरिद गर्न आउने गरेको पाइएको छ ।
पाल्पाको पूरानो र पहिलो ढाका व्यवसायी पूर्णमाया महर्जनले भने काठमाण्डौँ, नारायणगढ र पोखरा लगायतका बजारमा नियमित व्यापारीलाई ढाका कपडाका सामग्री पठाएको बताउनुहुन्छ । पाल्पाली ढाका संघका अध्यक्ष समेत रहनुभएकी महर्जनले गतवर्षको दशैतिहारमा भन्दा यसवर्ष व्यापार अहिले फस्टाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “दाजुभाई हुने दिदिबहिनीले बिशेषगरी ढाकाको टोपी खरिद गर्नुहुन्छ, अघिल्लो वर्ष कोरोनाले गर्दा व्यापार भएन, यसवर्ष पनि कोरोनाको असर त छ, तैपनि व्यापारमा अलि चहलपहल बढ्दैछ” । महर्जनका श्रीमान् स्वर्गीय गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गर्नु भएको हो । अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ ।
ढाका कपडा सुरुवातिका क्रममा त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरुबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो । अहिले जिल्लामा उद्योग थपिने क्रम जारी छ । पाल्पा जिल्लामा करिव तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस