पाल्पामा दूध तथा मिठाइमा लापरवाहीः ल्याव टेष्ट गर्न नमूना भैरहवा पठाइयाे

पाल्पामा दूध तथा मिठाइमा लापरवाहीः ल्याव टेष्ट गर्न नमूना भैरहवा पठाइयाे

पाल्पा, कार्तिक ८

पाल्पामा दुग्धजन्य पदार्थका डेरी तथा पसलहरूमा अनुगमन गरिएकाे छ । जिल्लाकाे तानसेन नगरपालिकाकाे बजार क्षेत्रमा रहेका दूध तथा मिठाइ पसलहरूमा अनुगमनका क्रममा लापरवाही गरेकाे भेटिएकाे हाे ।

साेमबार पाल्पामा गरिएकाे बजार अनुगमनबाट नाै वटा नमूना प्रयाेगशाला परीक्षणका लागि भैरहवा पठाइएकाे खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताए । तानसेनका मिठाइ तथा दूधकाे नमूना परीक्षणका लागि पठाइएकाे र केही दिनमा रिपाेर्ट प्राप्त हुने श्रेष्ठले बताए ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले केही दूध पसलहरूमा मिश्रित दूध बिक्रि वितरणमा लापरवाहि गरिएकाे हुन सक्ने अाशंका रहेकाे र ल्याव परीक्षण पछि थप अनुगमन गरि कानून विपरितका कार्य भएकाे पाइएमा कारवाही गरिने बताए । उनले अनुगमनका क्रममा केही पसलहरूमा लापरवाही भेटिएकाे भन्दै फेरी लापरवाहि भेटिए कारवाही प्रक्रिया अगाडी बढाइने बताए ।

तानसेनकाे बसपार्कमा रहेकाे डायमण्ड बेकरिजमा धेरै लापरवाही देखिएकाे अनुगमन टाेलीकाे ठहर छ । डायमण्डमा किचनमा फाेहाेर रहेकाे, एउटै तेल धेरै पटक प्रयाेग गरेकाे, सामाग्रीहरूकाे सरसफाइमा ध्यान नदिएकाे तथा व्यवस्थापकीय पक्षमा ध्यान नदिएकाे पाइएकाे थियाे । तानसेन नगरपालिकाका प्रतिनिधी भरत अाचार्यले अनुगमनका क्रममा धेरै मिठाइ पसलहरू समस्या देखिएकाे बताए ।

तानसेनकाे श्रीनगर डेरीकाे दूध तथा मिठाइ, डायमण्डकाे मिठाइ र गाेरसघरकाे दूध थप परीक्षणका लागि भैरहवा पठाइएकाे हाे । अनुगमन टाेलीले डायमण्ड हाेटलमा लामाे समयदेखी प्रयाेगमा रहेकाे झण्डै १२ लिटर तेल समेत नष्ट गरेकाे थियाे । चाडपर्वकाे समयमा दूध, मिठाइ तथा अन्य पसलहरूमा निरन्तर अनुगमन गरिने घरेलु तथा साना उद्याेग कार्यालय पाल्पाका प्रमुख देविराम भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस