याेजनामा रकम काटिएकाेमा गुनासाे, गरीब र विपन्नमुखी बन्न माथागढीलाइ सुझाव

याेजनामा रकम काटिएकाेमा गुनासाे, गरीब र विपन्नमुखी बन्न माथागढीलाइ सुझाव

पाल्पा, असाेज २२

माथागढी गाउँपालिकालाइ जनमैत्री बन्न स्थानीयहरूले सुझाएका छन् । बिहिबार सम्पन्न सार्वजनिक सुनुवाइमा गुनासाे राख्दै स्थानीय जनताले माथागढी गाउँपालिकालाइ गरिब र विपन्नमुखी कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । जनताले माथागढी गाउँपालिकालाइ याेजनामा बजेट किन काटिएकाे भन्दै गाउँपालिकालाइ प्रश्न गरे ।

स्थानीय तहबाट प्रदान हुने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी बनाउन सेवा प्रवाह, योजना, बजेट विनियोजन र कार्यक्रमका विषयमा सर्वसाधारणहरूले प्रश्न राखेका थिए । नागरिकहरूले निर्धारित समयमै योजना तथा कार्यक्रमहरु सकाएर फरफारक गरिदिने व्यवस्था गर्न, ससर्त अनुदानहरु ठीक समयमै सम्बन्धित कार्यालय वा संस्थालाई निकाशा गरिदिन, कृषिमा प्राविधिक विज्ञको अनुगमन पाटोमा सुधार, लिफ्टिङ खानेपानीकाे व्यवस्था गर्न, एम्बुलेन्स पुग्ने बाटाे निर्माण गर्न, लेखा शाखामा छिटाे काम गर्न सुझाव व्यक्त गरे ।

कार्यक्रममा स्थानीय स्तरमै पुगेर नागरिकका गुनासा, जिज्ञासा र प्रश्नहरु समेत ल्याइएको थियो । उक्त गुनासा, जिज्ञासा र प्रश्नहरुको गाउँपालिकाका प्रमुख तथा विषयगत शाखाका प्रमुखहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा स्थानीय पत्रकार माया बस्याल, पत्रकार महासंघ पाल्पाका जिल्ला सदस्य कृष्ण पोखरेल, नेपाली काँग्रेसका प्रतिनिधि महेन्द्र जिसी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि हरी चौहान लगायतले सेवा प्रवाह र योजना निर्माणमा जनतालाई केन्द्रमा राखेर काम गर्न गाउँपालिकालाई आग्रह गरे ।

कार्यक्रममा उठेका प्रश्नको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव जिसी, शिक्षा संयोजक अशेष भट्टराई र कृषि शाखा संयोजक सीता खाम्चा र सम्बन्धित वडाका वडा अध्यक्षहरुले जवाफ दिएका थिए । उठेका प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष थापाले नागरिकस्तरबाट आएका गुनासा, सुझावलाई आगामी दिनमा सम्बोधन गर्दै जाने बताए । उनले गाउँपालिका सधै जनतालाई केन्द्रविन्दुमा राखेर अगाडि बढेको बताउँदै आगामी दिनमा पनि सेवाप्रवाह देखि योजना छनौट, बजेट निर्माण जस्ता कार्यहरुमा जनतालाई नै प्राथमिकतामा राखेर जाने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस