बिज्ञद्धारा रामपुर शित भण्डारको आलु अनुगमन

बिज्ञद्धारा रामपुर शित भण्डारको आलु अनुगमन

सुशीला रेग्मी
रामपुर (पाल्पा), १६ असोज
रामपुरको शित भण्डारमा राखिएको आलु बिग्रिएको गुनासो यत्रतत्र आएपछि आलुबाली बिज्ञ श्याम ढकालले अनुगमन गर्नुभएको छ ।
तत्कालिन राष्ट्रिय आलुबाली विकास केन्द्रका बरिष्ठ आलुबाली विकास अधिकृतको रुपमा काम गर्नुभएका ढकालले अहिले उम्रिएको आलु रोप्दा उत्पादन घट्ने समस्या नरहने बताउनुहुन्छ ।
“आलु उम्रिहाल्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था भने छैन तर आलु भण्डारणमा ढिलाई हुदा यो समस्या आएको हो, खनेको १५ देखि २० दिनभित्रै भण्डारण गर्नुपर्नेमा करिव दुई महिनापछि मात्रै भण्डारण हुदा समस्या निम्तिएको छ” आलुविज्ञ ढकालले भन्नुभयो ।
देशका ठूला ठूला शित भण्डारणमा पनि यस्तो समस्या देखिएको बताउनुहुदै ढकालले समयमा नै आलु भण्डारण नहुनु, भण्डारणको सापेक्षिक आद्रता नाप्ने मात्रा समयमा नराख्नु जस्ता कारणले समस्या देखिएको बताउनुहुन्छ ।
उम्रिएको आलु बोराबाट झिकेर टुसा पारेर फेरी बोरामा भण्डारण गरेर राखेमा उत्पादनमा ठूलो असर नहुने आलुविज्ञ ढकालको भनाई छ ।
उहाँ भन्नुहुन्छ, “भण्डारण गरिएका आलुका बोरालाई बेला बेलामा तलमाथी पारेर राख्नुपर्ने थियो, पहिलो वर्ष सञ्चालनमा ल्याइएकाले पनि रेखदेख गर्ने नियमित दुई जना प्राबिधिक हुनुपर्ने, आलु भण्डारण गर्नु अगावै कतीपय कृषकले सरसफाई नगरिकन आलु बोरामा राख्दा पनि समस्या देखिएको छ” ।
यहाँको शित भण्डारमा करिव एक हजार चार सय क्वीण्टल आलु राखिएको छ । गत वैशाख दोस्रो र तेस्रो सातामा आलु भण्डारण गरेर सञ्चालनमा ल्याइएको हो । शित भण्डार निर्माणको ढिलाईका कारण उपयुक्त समयमा आलु भण्डारण गर्न नसक्दा समस्या निम्तिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।
कृषकको आलु बिग्रिएर प्रयोग गर्न नमिल्ने खालको भएमा बजार मुल्य हेरेर क्षतिपूर्तिको व्यवस्था गरिने रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ ।
आलु लगाउने समय सम्म शित भण्डारमै सुरक्षित साथ भण्डारणको व्यवस्थापन गरेर राखिने हुदा कृषकलाई नआत्तिन नगर प्रवक्ता न्यौपानेको अनुरोध छ । ‘शित भण्डारको आलु बिग्रियो, किसानले मागे क्षतिपूर्ति’ भन्ने शीर्षकमा विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको थियो ।
कृषकले भने आलु टुसा पलाएर लामा लामा हुदा रोप्ने समय अझै नभएकाले उत्पादनमा ह«ास आउने चिन्ता व्यक्त गरेका छन् । खेतमा धान बाली थन्क्याएर मात्रै आलु लगाउने भएकाले धान नपसाउँदै टुसाएको, बिग्रिएको आलु भण्डारण गरेर राख्दा खाद्यतत्व सबै नाश हुने लेखनाथ रेग्मी बताउनुहुन्छ ।
वीउ आलुबाट राम्रो कमाई हुने भएपछि बिगत पाँच÷सात वर्ष देखि व्यावसायीक आलु उत्पादन गर्नुभएकी यमकान्ती गौतमले यहाँ भण्डारण गरिएको आलु लगाउन योग्य नहुने देखेपछि चिन्तित हुनुहुन्छ ।
“प्राबिधिकहरुले टुसाएपनि आलु लगाउन हुने बताएपनि अझै करिव दुई महिनाको समय आलु लगाउन बाकी हुदा त्यतिन्जेल सम्म आलुको खाद्यतत्व सबै नास हुनेछ, हामी व्यावसायीक खेती गर्ने कृषकलाई ठूलो मार परेको छ, हामीलाई नबिग्रएको गुणस्तरिय वीउ आलु नै चाहिन्छ” उहाँले गुनासो पोख्नुभयो ।
रामपुर क्षेत्रमा उत्पादन हुने कृषिजन्य उपजलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि कृषि शाखाको परिसरमा लुम्बिनी प्रदेश सरकारको सर्शत अनुदानमा रबिना र अभिसा जेभी कन्ट्रक्सन प्रालीले संयुक्त रुपमा रु तीन करोड २६ लाख ७६ हजार पाँच सय ६६ मा ठेक्का सम्झौता गरी निर्माण गरिएको हो ।
फरक फरक क्षमताका पाँच कोठा रहेका छन् । दुईतले दश कोठा सहितको प्रशासनिक भवन, अपाङ्गमैत्री शौचालय छ । दुई कोठामा आलु भण्डारण गरिएको छ । कृषि उपज भण्डारण गर्न प्रतिकिलो रु छ शुल्क कायम गरिएको छ ।
नगरपालिकाले शित भण्डार सञ्चालनका लागि टेण्डरमार्फत रम्भा गाउँपालिका १ हुँगीका भगवती अधिकारी न्यौपानेलाई रु दुई लाख पाँच हजारमा एक वर्षको लागि सम्झौता गरी प्रयोगमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस