शीतभण्डारमै आलु बिग्रिए, किसानले मागे क्षतिपूर्ति

शीतभण्डारमै आलु बिग्रिए, किसानले मागे क्षतिपूर्ति

सुशीला रेग्मी

रामपुर (पाल्पा), असाेज १३

शीतभण्डार चालू भएपछि किसान खुसी भएका थिए। आलु भण्डारणका लागि भैरहवा र स्याङ्जाको जिमुवा धाउन नपरेपछि किसान खुसी हुने नै भए।  ढिलै भए पनि पाल्पाकै ठूलो रामपुरमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई प्रयोगमा ल्याइयो।

किसान उत्साहित हुँदै खेतबारीमा उत्पादन भएको आलु भण्डारण गर्न थाले। अहिले भने किसान यसरी रमाउन सकेका छैनन्। शीतभण्डारमै आलु उम्रने र बिग्रने भएपछि उनीहरू चिन्तित छन्। रामपुर–७ बस्ने यमकान्ती गौतमले करिब रु दश लाख बराबरको उन्नत बीउ आलु भण्डारण गरेकी छन्। स्थानीय सरकारले शीतभण्डार परीक्षणबिना नै आलु भण्डारण गर्न हौसाउँदा किसान मारमा परेको उनी गुनासो गर्छन्। 

‘उन्नत जातको बीउ आलु टुसाउने, बिग्रने भएको छ, अघिल्ला वर्षमा सधैं भैरहवा लगेर भण्डारण गरिन्थ्यो, अहिले गाउँमै बनेको चिस्यान केन्द्रमा आलु राखेको नराम्रोसँग फसियो’, उनले दुखेसो पोखे।  बीउका लागि करिब १३० बोरा आलु शीतभण्डारमा राखेकी छन्।

उनले रु ३६ हजार ४०० रकम भण्डारण खर्च तिरेकी छन्। बर्सेनि बीउ आलु बेचेर रु पाँचदेखि सात लाख आम्दानी गर्ने उनी यस पटक भने शीतभण्डार व्यवस्थापनको लापरबाहीले बज्रपात पारेको छ। खानका लागि शीतभण्डारबाट घरमा झिकेर ल्याइएको आलु उम्रेर लामालामा टुसा पलाएको देख्दा रामपुर–६ तालपोखरा बस्ने मित्रा ढकाललाई नमज्जा लाग्यो।

उनले रामपुर नगरपालिका–६ कार्यालयको आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत व्यवसायिक आलु उत्पादन गरेका हुन्। ‘शीतभण्डारबाट झिकेर ल्याएको आलु खाल्डोबाट झिकेजस्तो छ, प्रतिकिलो रु ३० मा घरमै आलु खरिद गर्न आउँदा शीतभण्डारमा राख्नुपर्छ भनेर हामीलाई आलु अन्यत्र बिक्री गर्न दिइएन, आलु बिग्रियो अब सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्छ’, उनले गुनासो पोखे।

ढकालले दश बोरा खायन र बीउ आलु भण्डारण गरेका छन्। रामपुर– ५ बेझाड बस्ने मैना श्रेष्ठले दसैं-तिहार पर्वमा प्रयोग गर्न किसानबाट खरिद गरेको तीन बोरा आलु भण्डारण गरिन्। तर अहिले आलु उम्रेको देख्दा उनको लगानी सबै खेर गएको छ। चाडपर्वमा बजार भाउ महँगो, कहिलेकाहीँ महँगो शुल्कमा खरिद गर्छुभन्दा पनि नपाइने समस्याले स्थानीय किसानसँग आलु खरिद गरी चाडपर्वमा प्रयोग गर्न सुरक्षित रूपमा शीतभण्डारमा राखेको आलु खान लायकको नभएको उनी बताउँछन्।

उनी भन्छन्, ‘पूरै टुसा पलाएर खान हुने खालको छैन, कोही कुहेको छ त कोही दबिएजस्तो खालको छ, आलु खरिद, शीतभण्डारण शुल्क सबै खेर गयो।’ त्यस्तै रामपुर– ३ का वडाध्यक्ष दिनेशकुमार खनालले गाउँका अन्य किसानलाई प्रोत्साहन गर्न ४७ बोरा बीउ आलु भण्डारण गरेको बताउँछन्।

आलु बोराबाटै बाहिर लामा टुसा पलाएको देख्दा उनी चिन्तित छन्। शीतभण्डारमा प्राविधिक व्यवस्थापनको तालमेल नहुँदा बीउका लागि भण्डारण गरिएको १०३ बोरा आलु खेर जाने स्थिति सिर्जना भएको लेखनाथ रेग्मी बताउँछन्।      
  
रामपुर नगरपालिकामा मात्रै गत आर्थिक वर्षमा आलु ब्लक कार्यक्रम सञ्चालन भएकाले पनि धेरै आलु उत्पादन भएको छ। नगरभित्र करिब पाँच हजार रोपनी क्षेत्रफलमा चार हजार टन आलु उत्पादन भएको छ। यहाँ उत्पादन भएको आलु बेमौसमी याममा महँगो मूल्यमा बिक्री गर्न सुरक्षित तरिकाले भण्डारण गरिएको थियो। बिडम्बना परिस्थिति ठीक विपरीत भइदिएको छ। कृषि उपज भण्डारण गर्न प्रतिकिलो रु छ शुल्क कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस