दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज, यात्रुकाे प्रतिक्रिया

दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज, यात्रुकाे प्रतिक्रिया

सोमबार विहान काठमाडौंदेखि बिराटनगरका लागि बुद्ध एयरको जहाज विराटनगरको आकाशमा त पुग्यो तर ल्याण्डिङ हुन सकेन। विराटनगरमा ल्याण्डिङ हुने अवस्था नभएपछि जहाज काठमाडौं फर्कियो। काठमाडौंको आकासमा पुगेर करिव १ घण्टा विमान आकासमै घुम्न थाल्यो।

तर, एक घण्टाको बादलमाथिको घुमाईपछि अन्ततः सबै जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सकुशल जहाजबाट बाहिरिए । यसरी विराटनगर पुगेको जहाज काठमाडौं फर्किएर फोर्स ल्याण्डिङ गरेपछि बुद्ध एयरका संचार प्रवन्धक दिपेन्द्र कुमार कर्णले ल्याण्डिङ गेयर झरेको सूचना दिने इण्डिकेटरले काम नगरेपछि उक्त समस्या आएको हो। उनले भने, ‘हामीले अहिले सम्पूर्ण यात्रुहरुलाई सेफ गरेको छौं। लामो समय आकासमा रहनु परे पनि सकुशल ल्याण्डिङ गर्न सकिएकोमा सबै खुसि छौं।’

उक्त विमानमा यात्रुकाे रूपमा रहेका काठमाडौं निवासी हरि मानन्धरकाे अनुभव उनकै शब्दमा :

बिहान ८:०५ मा जहाज काठमाडौंबाट उडेको थियो। करीब ९ बजेतिर विराटनगर पुग्न लाग्दा जहाज ल्यान्ड हुन नसकेको कुरा थाहा पायौं ।जहाजले विराटनगरको आकाशमा ३/४ फन्को मारिसकेको थियो । त्यसपछि हामीलाई चिन्ता हुन थाल्यो ।  कहिलेकाहीँ हावामा पनि जहाज होल्ड हुने गर्छ, केही समस्या भयो होला भनेर मैले सोचेको थिएँ। विराटनगरमा ल्यान्ड नगरे भोजपुरतिर लग्ला कि भन्ने पनि सोचें । तर केही समयपछि एयर होस्टेसले विमानमा केही प्राविधिक समस्या भएको छ, त्यसकारण हामी विराटनगरमा ल्यान्ड गर्दैनौं, काठमाडौं फर्किन्छौँ भनेर अनाउन्स गरिन् ।

ठिकै छ, त्यहाँ अवतरण गरेर फेरि हामीलाई विराटनगर ल्याउलान् भनेर हामी ढुक्क भएर बसेका थियौं। तर जब विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक आएर काठमाडौंमा पनि अवतरण नगरी आकाशमा घुम्न थाल्यो, तब हामीलाई चिन्ता लाग्न थाल्यो । कहिले कोटेश्वरतर्फ लागिएको थियो भने कहिल्यै बौद्धतर्फ । कहिले तलतिर, कहिले एकदमै हाइटमा जहाज उडाइएको थियो । त्यसपछि जहाजमा यात्रारत सबै यात्रु डराउन थाले ।

तल जहाज जब विमानस्थल नजिक आयो तब झ्यालबाट हेर्दा त्यहाँ ८ सयदेखि हजार जनाको संख्यामा सुरक्षाकर्मी, सेनासहित मानिसहरू देख्यौँ । त्यसपछि हामी अब मर्ने भयौं भन्ने कुरा सबैको मनमा लाग्यो । अब बाँचिँदैन भनेर सबै आत्तिएका थिए । एयर होस्टेसलाई सोध्दा केही भएको छैन, सामान्य प्राविधिक समस्या हो भनेर मात्र भनिरहे । तर, उनीहरूको अनुहारमा डरको भाव प्रस्टै देखिएको थियो । उनीहरूले पनि बेलाबेला झ्यालबाट तल हेरिरहेका थिए । अब हामी सबै मर्ने भयौं भनेर रुवाबासी भयो ।

२ घण्टादेखि जहाज आकाशमा थियो, ल्याण्ड हुन सकिरहेको थिएन । त्यसपछि त यात्रुहरूले अब हामी मर्ने भयौं भनेर आफन्तलाई फोन गर्न थाले । केहीले म्यासेज गरे । बाँच्छौं भन्ने कसैले पनि सोचेका थिएन । सबैको होश उडेको थियो। अब के गर्ने भनेर सबै डराएका थिए ।

पछि विमानस्थलको रनवेको आधा मार्गमा पुगेर जहाजको सफल अवतरण गराइएको थियो। जहाज सफल तरिकाले अवतरण भएपछि बल्ल हामी बाँच्यौं भन्ने लागेको थियो। सबैले भगवानलाई सम्झिएर पुनर्जन्म भयो भन्दै लामो श्वास लिए ।

जहाजबाट ओर्लिएका सबै यात्रुलाई त्यहाँ विमानस्थलमै मेडिकल चेक जाँच गराइयो। सबै जना नर्मल अवस्थामा थिए।

विराटनगर जाने यात्रुलाई अर्को जहाजबाट फर्काइयो। म भने अब जान्नँ भन्दै काठमाडौं फर्किएँ । मसहित ८ जना जाति टिकट क्यान्सिल गराएर काठमाडौंमा नै बसेका छौं । फर्किने बेला गेटमा एक जना प्रहरीलाई मैले सोधें, के भएको थियो ? त्यसपछि ती प्रहरीले भने, ‘तपाईंहरूको दोस्रो जन्म भएको छ, चक्का नै खुलेको थिएन भन्ने कुरा आइरहेको छ ।’ जहाजमा के टेक्निकल खराबी भएको थियो त्यो हामीले थाहा पाएनौं, तर हाम्रो पुनर्जन्म नै भएको छ। सौभाग्यवश हामी सकुशल छौं ।

एयर होस्टेसको आँखामा आँसु थियो
प्रताप लिम्बु

बिहान ८ः०५ बजे विराटनगरर्फ उडेका थियौं, तर अवतरण हुन सकेन । किन भएन भनेर प्रश्न गर्दा अलिकति समस्या छ भनियो ।

त्यहाँ क्याप्टेन साहेबले अवतरण गराउन ६/७ पटक नै प्रयास गर्नुभयो, त्यसपछि काठमाडौं फिर्ता गर्नुभयो । काठमाडौं आउन्जेल त मलाई केही जस्तो लागेको थिएन, ढुक्क नै थिएँ । राम्रै हुन्छ होला भन्ने भयो, काठमाडौं आएपछि पनि ८/९ पटकसम्म आकाशमा घुमाएको घुमायै गर्दा भने मनमा चिसो पस्यो ।

त्यसपछि विमानबाट जमिनमा हेर्दा नेपाली सेना, सुरक्षाकर्मी तयारी अवस्थामा देख्यौं । अब जिन्दगी यति नै रहने भयो, अब दुर्घटना हुन्छ भन्ने नै भयो । हामीले ढोका खोल्दिनुस, हामी हाम फाल्छौं पनि भन्यौं ।

एयर होस्टेसहरुले केही हुँदैन भनेर ढाडस दिइरहनुभयो । हामी तपाईंहरुलाई बचाउन सक्दो कोशिस गर्छौं भन्नुभयो । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो । त्यसपछि अब अन्तिम पटक प्रयास गर्छौं भन्नुभयो । नभन्दै सुरक्षित अवतरण भयो । जहाजमा मानिसहरु रोइकराई गरिरहेका थिए । कतिपय त बेहोस नै भए होलान् । जति दह्रो मन भएपनि यस्तो हुन्छ । एयर होस्टेसको आँखामा आँसु थियो । तर, उहाँहरु हामीलाई केही हुँदैन भनेर सम्झाउँदै हुनुहुन्थ्यो ।

आश मारिसकेका थियौं
अनमोल प्रधान, यात्रु

जहाजभित्र रुवाबासी हुन थाल्यो । जति कन्ट्रोल गरे पनि त्यो रुवाबासीले गर्दा आँशु रोक्न सकिएन । हामीले आस मारिसकेका थियौं ।

आकाशमा घुमिरहेको विमानबाट रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए । हामीलाई त भगवानले मात्रै बचाएको जस्तो लाग्छ । भगवान पशुपतिनाथको कृपाले बाँच्यौं । सबैजना भित्र हात जोडेर बसिरहेका थियौं ।

प्रतिक्रिया दिनुहोस