नेपालले अंग्रेजलाई हराएको सम्झनामा यसरी मनाइयाे २०३ औं भगवतीजात्रा (फोटोभिडियाे)

नेपालले अंग्रेजलाई हराएको सम्झनामा यसरी मनाइयाे  २०३ औं भगवतीजात्रा (फोटोभिडियाे)

मुक्ति न्यौपाने
पाल्पा, भदौ १५
नेपाल अंग्रेज युद्धमा नेपाली फैजले विजयी प्राप्त गरेको खुसियालीमा पाल्पाको तानसेनमा भगवती जात्रा गरिएको छ । कोरोना महामारीका कारण भगवतीको प्रतिमा मूर्तीलाई तीन पटक मन्दिर परिक्रमा गराई सिन्दूरजात्रा गरिएको हो ।

वि.सं. १८७१ मा अंग्रेजलाई हराएको थियो । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा भगवतीको रथको प्रतिमूर्ती निकालि सिन्दूरजात्रा गरिएको हो । श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेनमा सिन्दूरजात्रा निकाल्ने परम्परा रहि आएको छ । कोरोना महामारीका कारण २ सय ३ औं भगवती रथयात्रा मन्दिर परिसरमा भगवतीको मूर्ती घुमाएर सकिएको छ ।

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले अंग्रेजफौजसँग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानु अघि थापाले बिजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजय पश्चात जात्रा मनाउन सुरु भएको ईतिहासमा उल्लेख छ । पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो । भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराईन्छ ।

जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आईएको छ । तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गरिएको हो । शक्तिशाली अंग्रेज सेनालाई युद्धमा जितेको सम्झनामा वि.सं. १८७६ देखि भगवति जात्रा मनाउन सुरु गरिएको भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले बताए । युद्धमा जानुभन्दा अगाडी तत्कालिन कर्णल उजील सिंह थापाले युद्धमा विजय भएपश्चात सिन्दूर जात्रा सञ्चालन गर्नेछु, आफू बराबरको अग्लो स्तम्भ निर्माण गर्नेछु भनि भाकल गरेका कारण आजसम्म जात्रालाई निरन्तरता दिएको अध्यक्ष उदयले बताए ।

२ सय ३ औं भगवतीजात्रा मंगलबार दिउँसो १२ः४५ बजेको साइतमा भगवतीको रथ उठाई नेपाली सेनाले सलामी दिएर निकालिएको हो । रथयात्रा तानसेनका सबै चोकहरुमा पु¥याईने परम्परा भए पनि यसवर्ष निशान भगवतीको मन्दिरमा पुराएर भगवतीको मूर्ती मन्दिरमै फर्काइएको हो ।

रथयात्रा अन्य जिल्लाका मठमन्दिरमा पनि हुने तर यो वियजउत्सव भएको संस्कृतीविद् निर्मल श्रेष्ठले बताए । उनी भन्छन्, त्यस समय अंग्रेजलाई हराउनु चानेचुने कुरा थिएन । अंग्रेजहरुसँग आधुनिक हातहतियार थिए । हामीसँग खासै हातहतियार थिएनन् । खुँडा र तरवारको भरमा युद्ध भयो तर एक पटक होइन पटकपटक खेदेको हो ।

भगवतीको मन्दिर परिसरमा राति १२ बजे बली दिएर भगवतीको रथ उचालेर पुजापाठ समेत गरियो । जिल्ला सदरमुकाम तानसेनको मध्य भागमा रहेको रणउजिरेश्वरी भगवतीको जात्रा जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको महत्वपूर्ण र सबैभन्दा ठूलो जात्रा हो । तर यस पटक भने सर्वसाधारणहरुलाई जात्रा अवधिभर मन्दिर प्रवेशमा रोक लगाईएको थियो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गर्ने परम्परा रहि आएको थियो ।


नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको श्री रणउजिरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने स्थानीयको माग पनि छ । यसै अवसरमा लुम्बिनी प्रदेश सरकारले गत वर्षदेखी पाल्पामा सार्वजनिक विदा दिने प्रचलन रहि आएको छ ।
कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाई भएको थियो । ती मध्ये जीतगढीमा मात्र नेपाली फौजले विजयी हाँसिल गरेको खुशीयालीमा कर्णेल उजिरसिंहले भगवतीको मन्दिर बनाएर भगवती रथयात्रा (सिन्दूर जात्रा) सुरू गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस